रौतहट, २३ पुस । बढ्दो चिसोले रौतहटका पालिकाहरूले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। शितलहरका कारण चिसो अत्यधिक बढेकाले रौतहटका विभिन्न पालिकाहरूले आगामी ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शितलहरका कारण जाडो बढेपछि पठनपाठनमा समस्या आएपछि विद्यालयमा जाडो बिदा दिइएको हो।
जिल्लाका विभिन्न पालिकाहरूले मंगलवार सूचना जारी गर्दै पौष २४ गते देखी २६ गते सम्मका लागि ३ दिन पालिका अन्तर्गत रहेका सबै सरकारी र निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छन। जिल्लाको सबैभन्दा पुरानो पालिका गौर नगरपालिका, ईशनाथ नगरपालिका, बौधिमाई नगरपालिका तथा फतुवा विजयपुर नगरपालिकाले मंगलबार एकै साथ सूचना जारी गर्दै बढ्दो जाडोको कारणबाट विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै उक्त तीन दिनको बिदा वर्षे बिदाबाट कट्टा हुने गरी सम्बन्धित पालिका अर्हन्तगतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय सबैको पठनपाठन बन्द गर्न गराउनु सबै सरोकारवालालाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ।
जाडोले गर्दा प्राविमा पढ्ने स–साना विद्यार्थीहरू बढी प्रभावित बनेका थिए। जाडोले गर्दा विद्यार्थीहरूको न्यून उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको विद्यालयका शिक्षकहरूले बताउँछन्। ‘स–साना विद्यार्थी लुगलुग काम्ने, रुघाखोकी र ज्वरोले प्रभावित हुन सक्ने सम्भावनालाई निर्मूल पार्न तथा बालबालिकाहरूको स्वास्थ्य अवस्थाको ख्याल गरी उक्त जाडो बिदा नगरपालिका भित्र रहेका सबै विद्यालय बन्द गरिएको बौधिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तारकेश्वर प्रसाद पटेलले बताए। पौषको अन्तिम हप्ता रौतहटमा पश्चिमेली हावासँगै बाक्लो हुस्सु र शितलहरले जनजीवन प्रभावित हुँदै आएको छ।