बिहीबार १० माघ, २०८१

नेपाली समय

सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी, २२ पुस । पारदर्शिता र जवाफदेहिताका लागि सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

राष्ट्रिय सूचना आयोगको आयोजना एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको सहकार्यमा आज पोखरामा आयोजित प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार ः कार्यान्वयनको चुनौती” विषयक अन्तरक्रियाका सहभागीले सूचना दिने र लिनेबीचमा आपसी विश्वास कायम हुनुपर्ने बताएका हुन् ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यको सूचनामा नागरिकको पहुँच अपरिहार्य भएको बताउनुभयो । हाल कतिपय स्थानमा सूचना लुकाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै उहाँले सूचनालाई सहीरुपमा लिने र दिने क्रमले पारदर्शिता र जबाफदेहिता बढ्ने धारणा राख्नुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेश आचार्यले नागरिकले सूचना पाउने अधिकारलाई प्रत्याभूत हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । सूचना लुकाउन नहुने बताउँदै उहाँले सूचनाको हकसम्बन्धी कानुनले व्यवस्था गरेअनुसार नागरिकलाई सहजरुपमा सूचना दिनु सूचना अधिकारीको दायित्व हुने धारणा राख्नुभयो । उहाँले सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी भिन्न व्यक्ति हुनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टले सूचना दिने र लिने बीच सहज पहुँच आवश्यक हुने बताउनुभयो । गण्डकी प्रदेशका प्रदेश सचिव केशबराज ढकालले प्रदेशमा सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका सन्दर्भमा भएका प्रयास बारे जानकारी गराउनुभयो ।

राष्ट्रिय सूचना आयोगका सचिव कमलप्रसाद भट्टराईले सार्वजनिक सेवा प्रवाहको कामलाई पारदर्शी एवम् प्रभावकारी बनाउन सूचनाको हकको उपयोग हुनुपर्नेमा जोड दिनुभयो ।