बिहीबार १० माघ, २०८१

नेपाली समय

शिक्षाप्रेमी खड्काको नाममा तीनवटा अक्षयकोष स्थापना

शिक्षाप्रेमी खड्काको नाममा तीनवटा अक्षयकोष स्थापना

भोजपुर, २२ पुस । भोजपुर जिल्लाको दुर्गम मानिने षडानन्द न.पा.वडा नं. १ नेपाले डाँडा, खेवाछास्थित जनता आधारभूत विद्यालयका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिमा रहेर लामो समय शिक्षा क्षेत्रमा योगदान गर्नुहुने स्व. ज्ञानबहादुर खड्काको स्मृतिमा अक्षयकोष स्थापना भएको छ। खड्काको परिवारले तीनवटा विद्यालयहरूमा अलग-अलग रुपमा स्व. खड्का स्मृति छात्रवृत्ति अक्षयकोष–२०८१ स्थापना गरिदिएको हो ।

गत पौष १८ गते स्व. खड्काको वार्षिक पुन्य तिथिको अवसर पारेर निजको परिवारका सदस्यहरूले सो अक्षयकोषहरूको स्थापना गरेका हुन् । जनता आधारभूत विद्यालयमा राखिएको अक्षयकोषको राशि १ लाख ५० हजार ६ सय १९ रुपैयाँ रहेको छ । यसैगरी सन्त माध्यमिक विद्यालयमा राखिएको अक्षयकोषको राशि १ लाख २५ हजार ६ सय १९ रुपैयाँ रहेको छ भने सावित्रा माध्यमिक विद्यालयमा राखिएको अक्षयकोषको राशि १ लाख ५ हजार ६ सय १९ रुपैयाँ रहेको छ । 

स्वर्गीय ज्ञान बहादुर खड्काको धर्मपत्नी सावित्रा खड्का, छोरा बुहारीहरू क्रमशः टोपेन्द्र–तुलसा खड्का, ऋद्धिकुमार–सन्तोषी कोईराला खड्का, ठमराज–सरस्वती थापा खड्का र छोरी/ज्वाँई लक्ष्मी खड्का (भट्टराई)–शम्भु भट्टराईले स्वर्गीय पती/पिता ज्ञान बहादुर खड्काको नाममा सो अक्षयकोषको स्थापना गरेका हुन् । उक्त अक्षयकोषहरू स्थापना र परिचालन सम्बन्धी विधान बनाई दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

जनता प्राथमिक विद्यालय (हाल, आधारभूत) मा अध्ययनरत विद्यार्थीहरू मध्ये हरेक शैक्षिक सत्रमा कक्षा १ देखि कक्षा ५ सम्म कक्षागत प्रथम, द्वितीय र तृतीय हुने जम्मा १५ जना विद्यार्थीहरूलाई उक्त रकमको व्याजको ७५% रकम छात्रवृत्ति स्वरूप वितरण गर्ने र बाँकी २५% व्याज रकम विद्यालयको कोषमा जम्मा गर्दै लैजाने तर छात्रवृत्ति वितरण गर्दा दाताको कुनै पनि सन्ततीलाई वितरण गर्न नहुने साथै दाताको पछिल्लो हकवाला संरक्षक हुँदै जाने र दाताहरूको राय सुझावअनुसार विद्यालयको हरेक वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यले यो अक्षयकोष स्थापना गरिएको खड्का परिवारले जनाएको छ । 

यसैगरी दोस्रो अक्षय कोष षडानन्द नगरपालिका वडा नं. १, नेपाले डाँडास्थित सन्त माध्यमिक विद्यालयमा १ लाख२५ हजार ६ सय १९ रुपैयाँ बराबरको ज्ञान बहादुर खड्का स्मृति छात्रवृत्ति अक्षयकोष २०८१ नाममा स्थापना गरिएको छ । सो अक्षयकोषबाट सन्त माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत उत्कृष्ट एक छात्र र एक छात्रा गरी दुई जनालाई उक्त रकमको सम्पूर्ण व्याज रकम छात्रवृत्ति समान रूपले विद्यालयको हरेक जन्मोत्सव समारोहमा वितरण गर्ने उद्देश्यले कोषको स्थापना गरेको परिवारले जनाएको छ । सो कुरा अक्षय कोष परिचालनका लागि विधान बनाई दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेर राखिएको छ । सो अक्षय कोष स्थापनासम्बन्धी सम्झौता पत्रमा षडानन्द नगरपालिका वडा नं. १, नेपालेडाँडास्थित सन्त माध्यमिक विद्यालयका तर्फबाट प्रधानाध्यापक मोहनचन्द्र न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र कुमार राईले स्थानीय समाजसेवी कुवेर राईको रोहवरमा हस्ताक्षर गर्नुभएको छ भने अक्षय कोषको संरक्षकको रूपमा स्व. खड्काका छोरा ठमराज खड्का रहनुभएको छ । 

यसैगरी तेस्रो अक्षय कोष षडानन्द नगरपालिका वडा नं. २, कुदाकाउले स्थित सावित्रा माध्यमिक विद्यालयमा १ लाख ५ हजार ६ सय १९ रुपैयाँ बराबरको ज्ञान बहादुर खड्का स्मृति छात्रवृत्ति अक्षयकोष २०८१ नाममा नै स्थापना गरिएको छ । उक्त अक्षयकोषबाट सावित्री माध्यमिक विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्ममा अध्ययनरत गरिब तथा जेहेन्दार छात्राछात्रहरु मध्ये ४ जनालाई उक्त रकमको व्याजको ८५% रकम छात्रवृत्ति समान रूपले वितरण गर्ने र १५% व्याजको रकम विद्यालयको कोषमा जम्मा गर्दै लैजाने उद्देश्यले कोषको स्थापना गरेको परिवारले जनाएको छ । अक्षय कोष परिचालनका लागि विधान बनाई दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेर राखिएको छ । अक्षय कोष स्थापनासम्बन्धी सम्झौता पत्रमा षडानन्द नगरपालिका वडा नं. २, कुदाकाउले स्थित सावित्रा माध्यमिक विद्यालयका तर्फबाट प्रधानाध्यापक प्रमोद बराल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कार्कीले स्थानीय समाजसेवी कुवेर राई र राजेश कुमार खड्काको रोहवरमा हस्ताक्षर गर्नुभएको छ भने अक्षय कोषको संरक्षकको रूपमा छोरा ठमराज खड्का रहनुभएको छ । साथै तीसहजार मूल्य बराबरको धातुबाट निर्मित आरामी बेन्च समेत विद्यालयलाई निर्माण गरी हस्तान्तरण गर्नु भएको छ ।

अक्षयकोष स्थापनाको घोषणा कार्यक्रममा भोजपुर जिल्ला षडानन्द न.पा.वडा नं. १ का वडा अध्यक्ष ढाकमान राई र वडा नं.२ का वडा अध्यक्ष विष्णु प्रसाद घिमिरेको समेत उपस्थिति रहेको थियो । स्व. ज्ञानबहादुर खड्काको गत वर्ष पौष २८ गते ८३ वर्षको उमेरमा निधन भएको थियो ।