बिहीबार १० माघ, २०८१

नेपाली समय

पक्राउ परेका अवैध मदिरा ७ सय लिटर नष्ट

पक्राउ परेका अवैध मदिरा ७ सय लिटर नष्ट

रौतहट, २० पुस । जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरी शनिबार नष्ट गरेको छ । सदरमुकाम गौर नगरपालिका वडा नम्बर ५ स्थित विभिन्न स्थानमा लुकाई छिपाई सञ्चालन गरेको ३ ओटा अवैध दारु भट्टीहरुमा प्रहरी टोलीले विशेष सूचनाको आधारमा  छापा हानी ठुलो परिणाममा घरेलु मदिरा, कच्चा पदार्थ र विभिन्न सामाग्री नियन्त्रणमा लिएर पत्रकारहरूको रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक उमाशङ्कर गुप्ताले जनाए ।

जसअन्तर्गत बेच्न तथा तयारी अवस्थामा रहेको ७ सय लिटर घरेलु रक्सी र २८ सय लिटर कच्चा पदार्थ , रक्सी बनाउन प्रयोग गरिएको भाँडा हण्डा ४ थान,डेक्चि ८ थान, स्टिल बाल्टिन ३ थान ,ग्यास सिलिन्डर ४ थान, ग्यास चुल्हो ४ थान, प्लास्टिक ग्यालन १४०, प्लास्टिक बाल्टिन १० थान सामान सहित बरामद सबै समान नष्ट गरिएको निरीक्षक गुप्ताले प्रष्ट पारेका हुन् । भट्टी सञ्चालकहरू भागिगएको हुँदा निजहरूको खोजतलास भइरहेको निरीक्षक गुप्ताले बताए ।

उनले भने “बिना ईजाजत मदिरा बिक्रीबितरण गर्ने, मदिरा सेवन गरेर होहल्ला गर्ने जोकोही भए पनि कारबाहीको भागेदारी हुने छन् यस्तो कार्य रोक्नु हामी सबैको दायित्व हो । मदिरा बिक्री वितरणका साथै ओसार पसारमा समेत रौतहट प्रहरीले कडाईका साथ चेकजाँज गरिरहेको बताए ।