जनकपुर, २ पुस । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषा तथा सिरहालाई जोड्ने कमला नदी उकास जग्गाको उपयोग गर्न सकेको खण्डमा त्यसबाट कृषि, पर्यटन तथा पर्यावरण संरक्षणमा ठुलो मद्दत पुग्ने बताउनुभएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कमला नदी उकास क्षेत्रको व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा उहाँले कमला नदी उकास जग्गामा ठुलो झिलको रूपमा विकास गर्न सकेको खण्डमा त्यसको पानीको प्रयोग गरेर सिँचाइका साथै मत्स्यपालनसहितका नदी उकास क्षेत्रमा उत्पादन हुने बाली नाली लगाएर मनग्य आम्दानी गर्न सकिने धारणा राख्नुभयो ।
मुख्यमन्त्री सिंहले कमला नदी उकास जग्गाको उपयोगका लागि तयार हुने प्रस्तावमा विभिन्न दातृ निकायले लगानी गर्नका लागि इच्छुक भएको बताउँदै यस जग्गामा प्रदेशको गौरवको योजना बनाउने गरी कार्य योजना बनाउनका लागि विज्ञहरूसँग आग्रह गर्नुभयो ।
मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले कमलासहित मधेस प्रदेशका अन्य नदी उकास जग्गाको उपयोग गर्नका लागि प्रदेश सरकारले एकीकृत रूपमा ठोस नीति बनाएको खण्डमा मन्त्रालयले आर्थिक स्रोतको व्यवस्थापन गर्नका लागि तयार भएको बताउनुभयो ।
मधेस प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरू, नीति तथा योजना आयोगका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेताले कमला नदी उकास जग्गाको उपयोग गरेर प्रदेशको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभयो ।
मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव विनयकुमार कर्ण, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय निर्देशक जागेश्वर यादव कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कमला नदी जग्गा उकासअन्तर्गत सरकारी तथा निजी गरेर सात हजार हेक्टरभन्दा बढी जग्गा उपयोगविहीन अवस्थामा रहेको छ ।