रौतहट, २० मङ्सिर । जिल्लाको उतरी भेगमा रहेका चन्द्रपुर नगरपालिकामा मधेस प्रदेशकै ठूलो विद्युतीय सवारी चार्जिङ स्टेसन औपचारिक रूपमा सुरु भएको छ । बिहीबार मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकाश मन्त्री तथा नेपाली काङ्ग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले उद्घाटन गर्दै औपचारिक सुरुवात भएको हो ।
मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरशिप फण्ड’ र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा करिब साढे पाँच कट्ठा सरकारी जमिनमा निर्माण भएको उक्त चार्जिङ सेन्टरबाट एक पटकमा ४ वटा चारपाङ्ग्रे गाडी, तीन पाङ्ग्रे ११ वटा गरेर १५ वटा चार्जिङ प्वाइन्ट रहेको उक्त चार्जिङ स्टेशन ‘एनके थापा कन्स्ट्रक्सन’ काठमाडौँका प्रबन्ध निर्देशक देवराज अधिकारीले चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरे सङै विधिवत् रूपमा सुरुवात भएको हो ।
चार्जिङ स्टेसनको उद्घाटन गर्दै पूर्व मन्त्री यादवले विद्युतीय सवारीले कम खर्चमा यात्रा गर्न सकिने हुँदा देशैभरि विद्युतीय चार्जिङ स्टेसन थप्नुपर्ने धारणा राखे ।
चन्द्रपुर नगरपालिकामा मेयर संन्जय काफ्लेले मधेस प्रदेशको चन्द्रपुरमा सुविधा सम्पन्न चार्जिङ स्टेसन बन्नु नगरको गौरवको कुरा भएको बताउँदै सुविधा सहित पालिकालाई आर्थिक आर्जन हुने बताए । दुई करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो चार्जिङ सेन्टरमा यात्रुहरुका लागी पार्क सहित रिफ्रेसमेन्ट सेन्टर समेत निर्माण भएको हो ।