आइतबार २३ मंसिर, २०८१

नेपाली समय

गुजरामा उपभोक्ता समिति बिना नै गरियो ढलान

गुजरामा उपभोक्ता समिति बिना नै गरियो ढलान

रौतहट,  १४  मङ्सिर । रौतहटको गुजरा नगरपालिकामा उपभोक्ता समिति बिना नै ढलान गरिएको पाइएको छ । सो नगरपालिकाको वडा नम्बर ४ जंगलसैयामा उपमेयर रत्ना लामाको बजेटबाट उपभोक्ता समिति नबन्दै विकास निर्माणको काम सम्पन्न भएपछि स्थानीयहरूले त्यसको विरोध गरेका छन् । 

आर्थिक वर्ष २०८१/०८२ मा कालाेपत्र हुँदै चमार टाेल सम्म बाटो ढलान कार्य अन्दाजी करिब १ सय ७५ मिटर गरिएको छ । सो वडाका कार्यवाहक वडा अध्यक्ष शेख जफिरका अनुसार आफूले गत मङ्सिर ६ गते उपभोक्ता समिति गठनका लागि सूचना निकालेको बताए ।

कार्यवाहक वडा अध्यक्ष जफिरले सूचनामा मङ्सिर १३ गते उपभोक्ता समिति गठनका लागि उल्लेख भएपनि गुजरा नगरपालिकाकी उपमेयर लामाका श्रीमानले मनलाग्दी तरिकाले ढलान कार्य सम्पन्न गराएको आरोप लगाएका छन् । यता स्थानीय चुनचुन जयसवालले नगरपालिकाको न्यायिक समितिका संयोजक भएर नियम सङ्गत काम नगरी कानुनको धज्जी उडाउनु लज्जास्पद रहेको बताएका छन् । 

यस्तो कार्य उपमेयर जस्तो व्यक्तिबाट हुनु नपर्ने भएपनि वहाँबाट यस्तो कार्य हुनु गलत रहेको जयसवालको भनाई रहेको छ । यस विषयमा उपमेयर रत्ना लामाले वडा अध्यक्ष समयमा उपभोक्ता समिति गठन गरेर नदिएको कारण यस्तो हुन गएको बताएकी छिन् । 

बिहीबार उपभोक्ता समिति गठन गर्न बैठक बसेपनि सहमति हुन नसकेको स्रोतले जनाएको छ ।