रौतहट, १२ मङ्सिर । रौतहटको पूर्वभेग दुर्गा भगवती गाउँपालिका स्थित एकैपटक आमा छोराको हत्या गरी शव जलाई फरार भएकालाई ४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुर्गाभगवती ४ छतौना बस्ने दोष महम्दको ४८ वर्षीय छोरा महमद जनिफ रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले बताए ।
दुर्गाभगवती गाउँपालिका पिपरा बजारबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी अपराध गर्ने माथि कर्तव्य ज्यान कसूर मुद्दा दायर गरी सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रायले बताए। दुर्गाभगवती ४ का लम्बु भन्ने समरुदिन मियाँ कवारीको श्रीमती वर्ष २२ की हुस्नेयारा खातुन र निजको २ वर्षीय छोरा रेहानको २०७७ बैशाख ११ गते राती ८ बजे हत्या गरी जनिफले मसुरोको भुसमा बलि रहेको आगोमा शव फाली फरार भएका थिए।
सोही स्थानबाट ३०० मिटरको दुरीमा छोरा रेहानको टाउको कङ्काल फेला परेको तथा घटनामा संलग्नलाई खोज तलास गर्ने क्रममा वारदात पश्चात् फरार रहेका मियाँ पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।