आइतबार २३ मंसिर, २०८१

नेपाली समय

आसन्न उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रभावशाली स्वतन्त्र उम्मेदवारहरू एक हुँदै; घोषणा सभामा हर्क साम्पाङ प्रमुख अतिथिको रुपमा  उपस्थित हुने

स्वतन्त्र उम्मेदवार मिले दलीय उम्मेदवारलाई जितिन्छ:  सनोज महत

आसन्न उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रभावशाली स्वतन्त्र उम्मेदवारहरू एक हुँदै;  घोषणा सभामा हर्क साम्पाङ प्रमुख अतिथिको रुपमा  उपस्थित हुने

कीर्तिपुर, ८  मङ्सिर । आसन्न स्थानीय उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रभावशाली स्वतन्त्र उम्मेदवारहरू एक भएका छन् । स्वतन्त्र उम्मेदवारहरू भेला भएर संयुक्त हस्ताक्षर गर्दै आज घोषणा एक हुने प्रतिबद्दता गरेका हुन् । 

स्थानीय तह उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू अधिवक्ता नरेश श्रेष्ठ र सफाइ अभियन्ता राजमान महर्जन (मानव) बीच सहमती भई एकल उम्मेदवारी दिने दिने निर्णय गरेका हुन् । मङ्सिर १० गते ललितपुरको पाँगा लाछिमा घोषणा सभा गर्ने र उक्त सभामा प्रमुख अतिथिको रुपमा धारण उप-महानगरपालिकाका मेयर हर्क साम्पाङ उपस्थित हुने जनाइएको छ। त्यसैगरी सभालाई नागरिक पहिलो अभियान लगायत आधा दर्जन " स्थानीय तह गैर दलीय र स्वतन्त्र हुनुपर्छ " भन्ने मान्यता राख्ने अभियान र समूहले सम्बोधन गर्ने छन्। 

उम्मेदवार अधिबक्ता नरेश श्रेष्ठ भाषा आन्दोलनका पर्याय हुन् । पहिचानवादी छवि बनाएका नरेश सरस्वती प्रधानलाई न्याय दिलाउने वकिलको रूपमा चर्चित छन् । नेपाल भाषा मंक खल: लगायतका विभिन्न सङ्घ संस्थासँगको आबद्धता र सक्रियताले उनलाई चुनावी प्रचार तथा माहौल बनाउन सहज देखिन्छ ।

उपचुनावको घोषण हुनदेखि अघीनै चर्चामा रहेका नरेशले असी प्रतिशत घरदैलो सकिसकेका छन् । आफ्ना एजेण्डालई घोषणापत्र मार्फत घर–घर पुर्‍याएका उनी नगर प्रमुख हुन आफू उपयुक्त पात्र रहेको र कानुन बुझेका व्यक्ति मेयर हुँदा न्याय सम्पादनका साथै नगरको समग्र विकासको खाका बनाउन सहज हुने विश्वास राख्दछन् । 

आफूलाई सफाइ अभियन्ताको रूपमा चिनाउने अर्का उम्मेदवार राजमान मानव थरले महर्जन हुन् । मान्छे–मान्छेमा विभेद हुनुहुँदैन भन्ने मान्यताले नामको पछाडी थर नराखी मानव राखेको बताउँछन् । सोह्र वर्षदेखि सडक बढार्दै आएका मानव बढार्ने अभियानमै विश्वको धेरै सहरहरू डुलेको बताउँछन् । कीर्तिपुरका चर्चित लहना नेवारी भोजनालय उनैले सञ्चालनमा ल्याएको बताइन्छ, जहाँ टोलभरिका फूर्सदिला महिला पुरुष नेवारी परिकार बनाउँछन् र पाहुनालाई नेवारी खाना खाजाका साथ नेवारी परम्परा र संस्कृतिको जीवन्त उदाहरण दिन्छन् । आफू मेयर भए नगरपालिकामा लाखौँ पर्यटक भित्र्याउने, समग्र नगरलाई फूलबारी सहितको सांस्कृतिक सहर बनाउने र विश्वका अन्य चर्चित सहरहरूका हैसियतमा कीर्तिपुरलाई पुर्‍याउने प्रतिबद्धता गरेका छन् ।

स्वतन्त्रको माहौल रहेको कीर्तिपुरमा यी हेभी वेइट गैर दलीय स्वतन्त्र प्रतिष्प्रर्धी उम्मेदवारलाई मिलाउने कार्यमा लागिपरेका छन्, नागरिक: सनोज महत । उनी नागरिक पहिलो अभियानका अभियन्ता हुन् । 'निर्वाचन कानुनमा संशोधन गरी स्थानीय तहमा दलहरूले उम्मेदवारी दिन नपाउने व्यवस्था गरिनु पर्छ' भन्दै अभियान नै चलाएका उनी यो निर्वाचनलाई एउटा आन्दोलनको रूपमा लिइएको बताउँछन् ।

बहुदलीय प्रतिष्पर्धा हुने प्रायः धेरै मुलुकमा सो ब्यवस्था रहेको र यो उपनिर्वाचनमा गैर दलीय स्वतन्त्र उम्मेदवारलाई जिताई नेपाल सरकारलाई सशक्त दबाब सिर्जना गर्न स्वतन्त्र–स्वतन्त्रबिचको प्रतिष्पर्धाबाट दलीय उम्मेदवार नजितुन् भन्ने रहेको महतको भनाई छ । त्यसैले महत स्वतन्त्र उम्मेदवारहरूलाई मिलाउन लागी परेको बताउँछन् ।