आइतबार २३ मंसिर, २०८१

नेपाली समय

‘भुस पोल्ने पर्वले श्रम संस्कृतिलाई प्रोत्साहित गर्छ’

‘भुस पोल्ने पर्वले श्रम संस्कृतिलाई प्रोत्साहित गर्छ’

(राम थापा)

गण्डकी, २७ कात्तिक । पन्ध्रौं शताब्दीतिर सुरु भएको मानिने बागलुङ, ताराखोलाको ‘भुस पोल्ने पर्व’लाई स्थानीय मगर समुदायले धुमधामसँग मनाएका छन् । बर्सेनि कात्तिक २४ गतेदेखि सुरु हुने यो पर्व सोमबार ‘छापे’ खनेसँगै सकिएको हो । 

सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी ताराखोला गाउँपालिका–२ अर्गलमा आएका मगर जातिले उक्त ऐतिहासिक पर्वको चलन बसालेका इतिहास छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र कृषि कर्म सुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिएको मगर भाषा तथा संस्कृति सम्वर्द्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले बताउनुभयो । 

उहाँका अनुसार व्यवस्थित खेती प्रणाली सुरु भएसँगै उक्त पर्वको थिति चलेको हो । परम्परागत मूल्य, मान्यता र विधिका आधारमा भुस पोल्ने पर्व श्रम र उत्पादनसँग जोडिएको सचिव घर्तीमगरले बताउनुभयो । “यो पर्व एक किसिमले प्रकृति पूजा पनि हो”, उहाँले भन्नुभयो, “यसले श्रम संस्कृतिलाई प्रोत्साहित गर्छ ।”

गाउँका बुढापाकाले सुनाएअनुसार पर्वको पहिलो दिन कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने गरिन्छ । मकैबाली भित्र्याएपछि बारीमा रहेका घाँस, डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई स्थानीय जनबोलीमा भुस पोल्ने भनिन्छ । शङ्खुघरका मुल भाञ्जाले भुस पोल्ने चलन रहेको सचिव घर्तीमगरले बताउनुभयो । उक्त दिनमा शङ्खुबारीमा विशेष पूजाआजा पनि हुन्छ । शङ्खुबारीमा उब्जेको जौ बाली शुङ्खु (मुल) घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । 

केही वर्षअघिसम्म गाउँका सबैभन्दा ज्येष्ठ सदस्यको घरलाई शङ्खुघर मान्दै आए पनि अहिले छुट्टै समाजघर निर्माण गरेर उक्त कार्य सञ्चालन गरिँदै आइएको सचिव घर्तीमगरले बताउनुभयो । “कुनैताका गाउँको मुुखियाको घरलाई शङ्खुघर मान्ने गरिन्थ्यो । पर्वको दोस्रो दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारका रुपमा बरखी (दुःख) उम्काउने चलन छ”, उहाँले भन्नुभयो । 

मगर भाषा तथा संस्कृति सम्वर्द्धन समितिका सचिव घर्तीमगरले २४ गते अघि जहिले मृत्यु भएको भए पनि २५ गते मृत्यु संस्कार पूरा गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२४ गते मृत्यु भएमा भने वर्षभरि नै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाइ दान दक्षिणा दिइ मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् ।”

मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल, सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन रहेको सचिव घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार मृतकको परिवारबाट पनि सोहीअनुसार मावली र माइतीघरमा पठाउने गरिन्छ । त्यसरी पठाएको कोसेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा दिने चलन छ । 

भुस पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको छ । पर्वको मुख्य दिन २६ गते छापे खनेपछि २७ गतेदेखि यो वर्ष छोरा जन्मिएका घरमा पुत्र बढाइँ सुरु हुने सचिव घर्तीमगरले जानकारी दिनुभयो । कात्तिक नसकिएसम्म पुत्र बढाइँ निरन्तर गरिन्छ ।   

उक्त कार्यमा गोपिचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन रहेको छ । जङ्गली युगबाट कृषि युगमा प्रवेश गरेको दिनलाई मगरका पुर्खाहरुले भुस पोल्ने पर्वका रूपमा मनाउँदै आएका स्थानीय बताउँछन् । ताराखोला गाउँपालिका–२ का वडाध्यक्ष भद्र घर्तीमगरले यो अर्गलवासीको सबैभन्दा ठूलो पर्व रहेको बताउनुभयो । श्रम संस्कृतिको सम्मानसँगै एकआपसमा भाइचारा र सद्भावको पर्वका रूपमा यसलाई लिने गरिएको उहाँले उल्लेख गर्नुभयो । 

“पर्वको मुख्य दिनमा शङ्खु (मुल) घरलाई फेरो मार्दै गाउँलेहरुले गीत–गाथा हाल्ने गर्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै नजिकैको शङ्खुबारी पुग्छन् । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पूज्छन् । गुरुबा र गाउँका अगुवाले ढुङ्गाछेउँ लिङ्गो ठड्याउँछन्, धुपबत्ती गर्छन् र जाँड चढाउँछन् । प्रकृतिका देउता ‘शङ्खु’ को प्रतिकस्वरुप मुल घर र बारीलाई शङ्खु भनेर चिनिन्छ । यो विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन्, युवतीलाई डाक्छन् । युवती पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बीउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् । जसलाई परम्परागत रुपमा ‘छापे खन्ने’ भनिन्छ । मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन्, खेती लगाएको सन्देश दिन्छन्”, वडाध्यक्ष घर्तीमगरले भन्नुभयो । 

कात्तिक २४ गते अर्गलको शङ्खुबारीमा भुस पोलेपछि ताराखोलाको हिलमा सोही दिन राति र तारागाउँमा अर्को दिन बिहान भुस पोल्न चलन रहेको वडाध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो । पहिलेपहिले अर्गललमा भुस पोलेको धुँवा देखेपछि गाउँभरिका किसानले खेती सुरु गर्ने चलन रहेको बुढापाका बताउँछन् । 

पछिल्लो समय भुस पोल्ने पर्वको प्रवर्द्धन गरिरहेको अर्गल खेलकुद विकास मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले यस पर्वले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभयो । केही वर्षयता पर्वको अवसरमा मञ्चले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । 

मगर समुदायको मौलिक पर्वमा विविधता थप्ने प्रयास गरिएको अध्यक्ष क्षेत्रीको भनाइ छ । पन्धौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट आएका मगरहरु अर्गलमा र डोल्पाको भोटबाट आएका मगरका पुर्खा तारागाउँमा बसोबास गरेका पाइन्छन् ।

बाह्र मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पाल्ने पर्व पनि लिएर आएको गाउँका अगुवा बताउँछन् । बास र खेती लगाउने ठाउँको खोजीमा आएका उनीहरु अर्गलमा आइ खोरिया खनेर थातथलो बसाएका थिए । त्यसरी नयाँ ठाउँमा आउँदा बाटोमा कुनै दुःख, कष्ट नहोस्, कसैले केही नगरोस् भनेर ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती’ भन्दै गीत गाउँदै आएको कथन छ । 

अर्गलमा पुन, पुलिसा, ओसासा र नाउसा थरका घर्तीमगर बस्छन् । उनीहरुले सदियौँ पुराना संस्कार र संस्कृतिलाई जोगाएका छन् । ताराखोला क्षेत्रमा ऐतिहासिक भुस पोल्ने पर्वसँगै सिस्नो खोस्ने, असारे, भदोरैजस्ता मेला, पर्व प्रचलित छन् ।