आइतबार २३ मंसिर, २०८१

नेपाली समय

मधेशी जनताले अझै धेरै अधिकार पाउन बाँकी छन् : उपेन्द्र यादव

मधेशी जनताले अझै धेरै अधिकार पाउन बाँकी छन् : उपेन्द्र यादव

रौतहट, २६ कात्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनता अझै धेरै हक र अधिकार पाउन बाँकी रहेको बताएका छन् । मधेशीले जनसङ्ख्याको आधारमा विकास बजेट, राज्यको सबै निकायमा सम्मानजनक भागीदार, प्रतिनिधित्व, अवसर, आफ्ना शासन, प्रशासन, नीति, कानुन बनाउने अधिकार नपाएसम्म आफूहरूको सङ्घर्ष जारी नै रहने अध्यक्ष यादवले बताए।

जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कमिटीले आज सोमबार गढीमाई नगरपालिका -८ विराटनगर आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।राज्यले सधैँ मधेश र मधेशी जनतालाई अपेक्षा गर्दै आएको कारण मधेशमा सोचे जस्तो विकास हुन् नसकेको तथा मधेशी जनता अझै अधिकार सम्पन्न हुन् नसकेको उनले बताए । देशको आधीभन्दा बढी जनसङ्ख्या मधेश प्रदेशमा भएपनि सरकारले जनसङ्ख्याको आधारमा विकास बजेट नदिँदा विकासमा मधेश पछाडि परेको उनले बताए।

मधेशमा लगभग ५४ प्रतिशत जनसङ्ख्या भएपनि शासक वर्गले  १२ प्रतिशत मात्र रकम विकासका लागि छुट्याउने गरेका कारण मधेशमा सोचे जस्तो विकास हुन् नसकेको उनको भनाई रहेको थियो। १२ प्रतिशत मात्र बजेटले ५४ प्रतिशत जनसङ्ख्या भएको मधेश प्रदेशको कसरी विकास हुन्छ भन्दै उनले प्रश्न गरे ।

मधेश र मधेशी जनता सधैँ शासक वर्गको गुलाम बनिरहोस्, मधेशमा विकास नहोस् भन्ने उद्देश्यले नै राज्यले मधेशमा लगानी गर्न नचाहेको उनले टिप्पणी गरे । मधेशी जनताले मधेशबाट काँग्रेस र कम्युनिष्टलाई परास्त नगरेसम्म मधेशीले पूर्ण अधिकार पाउन नसक्ने उनले धारणा राखे ।

काँग्रेस, एमाले र माओवादीका कारण देश अहिले चरम गरिबिको चपेटामा परेको उनले आरोप लगाए।लोकतन्त्र स्थापना भएको ३५ वर्षदेखि सरकारको नेतृत्व गर्दै आएपनि काँग्रेस र कम्युनिष्टले देश बनाउन नसकेको उनले बताए ।

काँग्रेस र कम्युनिष्टले देशमा विकास गर्नुको सट्टा लूटतन्त्रमा लागेका कारण देश आज चरम गरिबिको भुमरीमा फसेको उनले टिप्पणी गरे । जनतालाई मालिक बनाउन लोकतन्त्र आएको भएपनि यी काँग्रेस र कम्युनिष्टले मिलेर देश र जनतालाई कङ्गाल बनाइदिएको उनले बताए ।

उनले भने, यही हालत रह्यो भने नेपाल विश्वकै कङ्गाल देश बन्ने छन ।, लूटतन्त्रलाई रोक्न र देशलाई अझै कङ्गाल हुन् नदिन सङ्घर्षको आवश्यकता रहेको उनले औँल्याए। रौतहट देशमै सबभन्दा पछाडि पर्नुको जिम्मा काँग्रेस र कम्युनिष्टले लिनुपर्ने समेत उनले बताए। रौतहट बासीको राज्यको हरेक अङ्ग र निकायमा कम अवसर प्राप्त भएको तथा विकाशमा सबभन्दा कम लगानी गरेको कारण रौतहट आज देशमै सबभन्दा पछाडि पर्नु चिन्ताको विषय भएको उनको ठम्याइ थियो ।

देशमा सङ्घीयता आएको भएपनि सङ्घीयता पूर्ण रूपमा लागू हुन् नसक्दा मधेशी जनता अझै धेरै अधिकार पाउनबाट वञ्चित रहेको उनले बताए । लामोसमय देखि सत्ताको बागडोर सम्हाल्दै आएका काँग्रेस र कम्युनिष्टले देशमा लुटतन्त्र मच्चाउनु बाहेक अरू केही गर्न नसकेको उनले बताए। काँग्रेस र कम्युनिष्टले देशको नेतृत्व गरेदेखि नै देशमा भएका सबै उद्योग, कलकारखाना बन्द भएर देश चरम गरिबी र बेरोजगारीको चपेटामा परेका कारण देश चलाउन अब काँग्रेस एवं कम्युनिष्टले पूर्ण रूपमा असफल भइसकेको उनले बताए।

अब जनता समाजवादी पार्टी नेपालले मात्र देश बनाउन सक्ने र मधेशी जनताको बाँकी हक अधिकार दिलाउन सक्ने भएको हुँदा अबको निर्वाचनमा जसपा नेपाललाई बहुमत दिएर निर्वाचित गराउन उनले सबैलाई आग्रह गरे ।

जिल्ला अध्यक्ष श्याम विहारी यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जसपा नेपालका महासचिव एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, अर्का पूर्व मुख्यमन्त्री सरोज कुमार यादव, पार्टीका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, प्रदेशका पूर्व राज्य मन्त्री शेख फूलबाबु, प्रदेश सांसद शोभा देवी, किरण ठाकुर, युवा नेता राजकुमार दास लगायतका वक्ताहरूले आआफ्ना मन्तव्य राखेका थिए।