आइतबार २३ मंसिर, २०८१

नेपाली समय

राप्रपाको यात्रा अभियान: कर्णाली पछि सुदूरपश्चिमको यात्रा सुरु गर्दै

राप्रपाको यात्रा अभियान: कर्णाली पछि सुदूरपश्चिमको यात्रा सुरु गर्दै

काठमाडौँ, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली पछि सुदूरपश्चिममा अभियान सुरु गर्ने भएको छ । सल्यानको सल्लिबजारदेखि मुगुको गमगढीसम्म कार्तिक ६ देखी ११ गतेसम्म कर्णाली अभियान चलाएको थियो ।

कर्णाली अभियानबाट उत्साहित भएको राप्रपाको तुलनात्मक रूपमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा  जनमत कमजोर छ । त्यसलाई मध्यनजर गर्दै राप्रपा नेतृत्व पश्चिमी भेगमा केन्द्रित भएको पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले जानकारी दिए ।

राप्रपाको देशभर लहर आइरहेको छ, हमालले भने ‘काँग्रेस, एमाले र माओवादीबाट देश अगाडि नबढ्ने मनस्थितिमा हामी पहिल्यै पुगिसकेका हौँ ! अहिले जनस्तरमा सो कुरा स्थापित हुँदैछ । त्यसलाई अझ मजबुत र राजनीतिक तवरले स्थापित गर्न काठमाडौँ बसेर हुँदैन तल्लो तहमा गएर जनताको समर्थन लिएर मात्र सकिन्छ हाम्रो बुझाइ हो ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सुदूरपश्चिम यात्रामा मंसिर ३ गते बाजुराको कोल्टीबाट सुरुवात हुँदैछ । उक्त अभियान ४ गते अछामको मंगलसेन, ५ गते डोटी ,६ गते कञ्चनपुर ,७ गते कैलाली, साडेपानिमा गएर समापन हुने जनाएको छ ।

राप्रपाले उठाइएका एजेन्डाप्रति राजनीतिक वृत्तमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । एसिया महादीपमा विश्व शक्ति केन्द्रित हुदैछ, नेपाल भूराजनीतिक तवरले अत्यन्तै संवेदनशील बन्दै छ जसका कारण देशको राजनीति आन्तरिक र बाहिरी दुवै तिर सङ्कटतर्फ उन्मुख भएको बेला राप्रपाको नेतृत्व र विचारमार्फत सही निकास दिन सकिने राप्रपाले जनाएको छ ।

प्रजातान्त्रिक र देशभक्त पार्टी राप्रपाले जनताको विश्वास र समर्थन प्राप्त गर्न अभियान चलाइरहेको हो ।