सुर्खेत, १४ कत्तिक । कर्णाली प्रदेश अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट बन्ने विषय निकै पेचिलो बनेको छ । दुई दशक भन्दा बढी लगातार मेडिकल सुपरिटेन्डेन्ट भएका डा.डम्बर खड्का निवृत्त भएदेखि नयाँ मेसुको दौड सुरु भएको छ । अस्पतालको मेसुमा डा. रबिन खड्का, डा. केशर ढकाल, डा. गणेश थापा र डा. बिकास केसी दौडधुप गरिरहेका छन् ।
राजनीतिक पहुँच र शक्तिको आडमा लामो समयमा अस्पतालमा साम्राज्य नै खडा गरेका डा.डम्बर खड्काले निवृत्त हुनु भन्दा पहिल्यै अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर उपकुलपति भएरै छाड्ने लक्ष्य राखेपनि सफल हुन सकेन । पहिलो योजना विफल भएपनि ऊनी निवृत्त भएपनि अस्पताललाई बाहिरै रहेर पनि नियन्त्रणमा राख्न चाहन्छन् । नेपाली काङ्ग्रेसका उपसभापति पूर्ण बहादुर खड्काको शक्ति सामु प्रदेश सरकारका मुख्यमन्त्री यामलाई कँडेल निरीह भए मेसुमा डा.थापा वा डा.केसी नियुक्त हुनसक्ने काङ्ग्रेसकै स्थानीय नेताहरू बताउने गर्छन् । मेहेलकुना अस्पतालको मेसु सरुवा प्रकरणमा मुख्यमन्त्री कँडेल निरीह भएका थिए ।
त्यस्तै कर्णाली प्रदेशमा समायोजन भएका मध्य सिनियरलाई जिम्मेवारी दिनु परे डा.केशर ढकाललाई अगाडि सार्नुपर्ने दबाब प्रदेश सरकारलाई छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव र प्रदेश अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट सहजै गर्ने नियतका साथ कानुन विपरीत गएर सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज पोखरेललाई गृहमन्त्रालमा सरुवा गरिएको थियो । निमित्तको भरमा मन्त्रालय चलाएर आफू अनुकूलको निर्णय गर्ने कुरा अवरोध भएको छ । सचिव पोखरेलको सरुवा तत्कालको लागी टरेको छ । प्रदेश अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. रबिन खड्काको सम्भावना बलियो देखिँदै गएको छ । ऊनी स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक हुन् । रबिन खड्का कुशल प्रशासकको रूपमा स्थापित पात्र हुन् ।
प्रदेश अस्पतालको नेतृत्व गर्न सरल र साझा पात्रको खोजी भइरहेको बेला उपयुक्त पात्र रबिन खड्का हुनसक्ने आकलन गरिएको छ किनकि उनले स्वास्थ्य सेवा निर्देशनालयको निर्देशक लामैसमय विवादरहित भएर सञ्चालन गरिरहेका छन् । पूर्व मेसु डम्बर खड्काको माया मेडिकलले ५० शय्या अस्पतालको लागि अनुमति मागेको छ । जुन कुरा पनि महत्त्वपूर्ण छ ।
अस्पतालको अनुमतिसँग सौदाबाजी हुन्छ या खेलकुद परिषद्को सदस्य सचिव एमालेलाई दिनेगरी सत्तासीन दल बिच भागबन्डा हुन्छ त्यो हेर्न बाकी छ । डम्बर खड्काले लामो समयसम्म नेतृत्व गरेको अस्पताललाई चलाउन निकै कठिन जिम्मेवारी रहेको अस्पतालका डाक्टर बताउने गर्छन् । उनले स्थापित गरेका स्वास्थ्यकर्मी र कर्मचारीले नयाँ आउने मेसुलाई सहयोग गरेभने सबै ठिकठाक चल्ला नत्र गाह्रो रहेको कुरा सामाजिक विकास मन्त्रालयकै उच्च अधिकारी दाबी गर्छन् ।