बिहीबार ०५ असार, २०८२

नेपाली समय

महामारी नियन्त्रणका लागि र्यापिड रेस्पोन्स टिमको घर-घरमा सेवा

महामारी नियन्त्रणका लागि र्यापिड रेस्पोन्स टिमको घर-घरमा सेवा

रौतहट, २१ असोज । जिल्लाको राजदेवी नगरपालिकामा बाढीपछिको महामारी जोखिमलाई न्यून गर्न र जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न र्यापिड रेस्पोन्स टिम (आर.आर.टी.) दिनरात खटेर कार्यरत छ। टिमले बाढी प्रभावित क्षेत्रका घर-घरमा पुगेर जनताको स्वास्थ्य स्थिति बुझ्ने, स्वास्थ्य परामर्श दिने, प्राथमिक उपचार उपलब्ध गराउने र स्वास्थ्य शिक्षा प्रदान गर्ने कामलाई तीव्र रूपमा अघि बढाइरहेको हो ।

यसको पहलले महामारी नियन्त्रणमा मात्र होइन, तत्काल प्राथमिक उपचारको आवश्यकतालाई पनि पूरा गर्दै नगरपालिकाका नागरिकहरूलाई ठूलो राहत प्रदान गरेको हो । रमाकान्त यादव, छोटेलाल पासवान, राकेश यादव, सन्तोषी दास, हेम कला पोखरेल, रुबिना खातुन, संजु दास, निलम दास, अनित यादव र जीतेन्द्र पटेल लगायतका स्वास्थ्यकर्मीहरूको समर्पित टोलीले घर-घरमा पुगेर सर्वसाधारणलाई स्वास्थ्य परीक्षण गर्नुका साथै विभिन्न सामान्य रोग र चोटपटकको प्राथमिक उपचार समेत प्रदान गरिरहेका छन्। यसले स्वास्थ्य जोखिमलाई तुरुन्तै सम्बोधन गर्दै, जनतालाई आकस्मिक अवस्थामा पनि आवश्यक उपचार सेवा पुर्‍याएको छ। टिमले सरसफाईका उपाय, रोग रोकथाम, र बाढीपछिका स्वास्थ्य समस्याहरूको रोकथाम सम्बन्धी जानकारीसमेत दिएर महामारीको सम्भावनालाई कम गरेको हो ।

र्यापिड रेस्पोन्स टिमले महामारी नियन्त्रणका लागि मात्र नभएर प्राथमिक स्वास्थ्य सेवामा पनि ठोस कदम उठाएर जनताको विश्वास जित्न सफल भएको हो । स्वास्थ्यकर्मीहरूको यो निरन्तर प्रयासले पालिकाका नागरिकहरूलाई सुरक्षित राख्न र महामारीको सम्भावित खतरालाई रोक्न महत्त्वपूर्ण भूमिका खेलेको हो । प्राथमिक उपचारको उपलब्धताले जनताको स्वास्थ्यमा थप सुरक्षाको भावना बढाएको छ, जसले पालिकाभर सकारात्मक प्रभाव पारेको छ।

यस प्रयासले स्थानीय सरकार र स्वास्थ्यकर्मीहरूको सहकार्यमा सामुदायिक स्वास्थ्य व्यवस्थापनमा आएको सुधारलाई स्पष्ट रूपमा झल्काउँछ। महामारी नियन्त्रण र प्राथमिक उपचारमा राजदेवी नगरपालिकाको यो कार्य दिशा अन्य स्थानहरूका लागि प्रेरणादायक बन्न सक्छ।