रौतहट, १७ असोज । जिल्लाको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । बाढीबाट प्रभावितहरूको उद्धार, क्षति तथा राहतबारे तथा बाँधलाई मर्मत तथा ठोस रूपमा निर्माण र स्तरोन्नति गर्ने लगायतका विषयहरूमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षता बैठक बसेको थियो ।
जिल्ला प्रशासन कार्यालयको सभाहल गौरमा साे बैठक बसेको थियो । बैठकबाट बागमती बकैया नदी नियन्त्रण आयोजनाको कार्यालय परवानिपुरमा रहेकोले तत्काल यी दुवै नदी दुख दिइरहेको जिल्ला रौतहटको गौरमा सार्न पहल गर्ने,
बागमती बकैया दुवै नदीको रेड लेबल माथि आएकोले गहिरो गर्न र दुवै तिर बाधको हाइट बढाई स्थायी समाधान गर्न जिल्लाको ४ वटै सङ्घीय सांसद ८ वटै प्रदेश सांसद १८ वटै मेयरहरू राजनीतिक दल नागरिक समाज पत्रकार समेतको उपस्थितिमा छलफल गरी कार्य अघि बढाउने, भत्केको बागमती बकैयाका बाधहरूको अस्थायी मरम्मत तत्काल शुरू गर्ने,किसानहरूको बाली नाली,माछा पोखरी, व्यापार व्यवसाय को क्षति विवरण ३ दिन भित्र तयार गरी पेस गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरिएको जनाइएको हो ।
बैठकमा जिल्लाको तीनवटा सुरक्षा निकायका प्रमुख,१८ वटा पालिकाका नगरप्रमुख, प्रशासकीय अधिकृत लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।