वीरगंज, १० असोज । राजस्व अनुसन्धान कार्यालय पथलैयाका कर्मचारी राजस्व छलेर अवैध कारोबार गर्ने व्यापारीहरुसंग असुली गर्ने कार्यमा लागेका छन् । राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका अनुसन्धान अधिकृत देवी थापा र विकास रिजाल सहितका कर्मचारीहरु राजस्व छलेर कारोबार गर्ने वीरगंजका दर्जनौं व्यापारीहरुसंग महिनावारी असुल्दै अवैध कारोबारलाई प्रोत्साहन गरेका छन् ।
राजस्व चुहावट नियन्त्रण र रोकथाम कार्यलाई प्रभावकारी बनाउन राजस्व चुहावट सम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन लगायत कार्यको जिम्मेवारी पाएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका जिम्मेवार कर्मचारी अनुसन्धान अधिकृतद्वय देवी थापा र विकास रिजाल सहितका कर्मचारीहरु तस्करी गरि राजस्व छल्ने वीरगंजका दर्जनौं ट्रान्सपोर्ट व्यापारीहरुसंग आर्थिक साँटघाँट मिलाई अवैध कारोबारलाई प्रोत्साहन गरेको बताईन्छ ।
राजस्व अनुसन्धान कार्यालय संग–संगै राजस्व सङ्कलनमा योगदान दिने विभिन्न निकाय मध्यको एक प्रहरी संगठन पनि हो । जसले शान्ति सुरक्षा कायम गर्नुको साथै अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने गर्दछ । अर्थात सीमानाका लगायतका ठाउँबाट हुने राजस्व छल्ने अवैध कारोबारलाई नियन्त्रण गरि राज्यको राजस्व सङ्कलनमा प्रहरीले पनि टेवा पु¥याउँदै आएको छ । त्यही जिम्मेवारी अन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पर्साले नियमित रुपमा बिल बिजकभन्दा बढिको मालसामान, भन्सार प्रज्ञापनपत्रमा घोषणा गरेको भन्दा फरक र तस्करी गरि भित्र्याइएका लत्ता कपडा, हार्डवेयर, काजु, औषधी, खुद्रा तथा किराना विभिन्न सामान बोकेको ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आएको छ ।
चालु आर्थिक वर्षमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पर्साले करोडौंको अवैध मालसामान लोड रहेको ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । तर वीरगंजका अवैध कारोबारीहरुसंग बलियो सम्पर्क बनाएका अनुसन्धान अधिकृत देवी थापासहितको मिलेमतोमा प्रायः गाडीलाई आर्थिक चलखेलमा क्लिन चिट दिएर छोड्ने गरिएको स्रोतले जनाएको छ ।
स्थानीय प्रहरी प्रशासनले नियन्त्रणमा लिएर तस्करीको शंकामा बुझाएका मालसमेतका गाडीहरु थापा र रिजाल लगायतलाई आय आर्जनको माध्यम बनेको स्रोतको दाबी छ ।
जुन चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुझाएको विद्युतीय चुरोटको भेपो सम्बन्धी एउटा मात्र मुद्दा दर्ता भएको तथ्यले समेत पुष्टि गरेका देखिन्छ ।
राजस्व अनुसन्धान कार्यालयका सूचना अधिकारी पुष्पराज कोईरालले जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुझाएको विद्युतीय चुरोटको भेपो सम्बन्धी एउटा मात्र मुद्दा दर्ता भएको बताए । जकबी चालु आर्थिक वर्षको भदौं महिनासम्मको अवधीमा प्रहरीले करोडौं मूल्य बराबरको अवैध मालसामानलाई कारबाहीको लागि त्यस कार्यालयमा पठाएको छ ।
वीरगंज भन्सार, सुख्खा बन्दरगाह कार्यालय लगायत सीमानाकाबाट राजस्व छलेर तस्करीको कारोबार गर्ने ट्रान्सपोर्ट लगायत दर्जनौं अवैध कारोबारीसंग सम्पर्कमा रही अधिकृतद्वय थापा र रिजाल असुली धन्दामा लागेको व्यापारी स्रोतले जनाएको छ ।
राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा भर्खरै आएका प्रमुख अनुसन्धान अधिकृत हरि शर्माले थापा र रिजालमाथि कतिको लगाम लगाउँछन् ? त्यो पर्ख र हेरको स्थिति बनेको छ ।