शनिबार १९ असोज, २०८१

नेपाली समय

बर्दघाट नगरपालिकाले सुत्केरी बिदामा सट्टा शिक्षक राखेर पठनपाठन नियमित गराइने

बर्दघाट नगरपालिकाले सुत्केरी बिदामा सट्टा शिक्षक राखेर पठनपाठन नियमित गराइने

परासी, ९ असोज । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयहरूमा शिक्षिका सुत्केरी बिदा बसेको अवस्थामा सट्टामा नयाँ शिक्षिका भर्ना गर्ने नीति ल्याएको  छ । विद्यालयमा शिक्षिका सुत्केरी बिदा बसेको अवस्थामा सो अवधि सम्मका लागि नयाँ शिक्षक नियुक्तगरी सट्टा भर्ना गर्ने नीति ल्याएको हो  ।

शिक्षक नियुक्तिका गर्न नीति तथा कार्यक्रम मार्फत पारिश्रमिकका लागि आर्थिक वर्ष ०८१/८२ को बजेटमै सुनिश्चितता गरिएको नगरपालिकाले जनाएको छ । सरकारले महिला कर्मचारीहरूका लागि ९८ दिन सुत्केरी बिदा दिने गरेको छ ।

कतिपय विद्यालयहरूमा महिला शिक्षक सुत्केरी हुँदा नियमित अध्यापन रोकिने र कतिपय अवस्थामा विषयगत शिक्षक नहुने अवस्था समेत रहने हुनाले पठनपाठनमा असहज हुने र अन्य शिक्षकहरूलाई भार पर्ने भएकाले यो कार्यक्रमलाई समेटिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

"झन्डै तीन महिनाका लागि विद्यालयले शिक्षक नियुक्ति गर्न सक्नेछ । अध्यापन नियमित हुँदा पठनपाठनमा समस्या नहुने र केही समयका लागि भएपनि शैक्षिक बेरोजगारहरू समेत आबद्ध हुन सक्ने हुँदा यसले दोहोरो फाइदा पुग्ने बिश्वास लिएका छौँ," नगरप्रमुख श्रेष्ठले भने ।

सम्बन्धित तहको सट्टा शिक्षक राख्दा विद्यालयहरूले दैनिक ज्यालादारीमा शिक्षक नियुक्त गर्नसक्ने शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए । सुत्केरी बिदामा बसेका शिक्षिका र कर्मचारीको सट्टामा काम गर्ने सट्टा शिक्षकलाई नगरपालिकाको  कोषबाट तलब व्यवस्था गरिएको छ।

बर्दघाट नगरपालिकाले चालू आर्थिक वर्षमा सबै भन्दा बढी बजेट शिक्षामा विनियोजन गरेको छ । चालू शैक्षिक सत्रलाई शैक्षिक सुधार वर्षको रूपमा अघि बढाइने नगरपालिकाले जनाएको छ ।