शुक्रबार १८ असोज, २०८१

नेपाली समय

संविधानको मर्मलाई राजनीतिक दलले आत्मसात गरेर अघि बढ्नुपर्छः प्रदेश प्रमुख देवकोटा

संविधानको मर्मलाई राजनीतिक दलले आत्मसात गरेर अघि बढ्नुपर्छः प्रदेश प्रमुख देवकोटा
फाइल फोटो

मकवानपुर, ३ असोज  । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले गणतान्त्रिक संसदीय व्यवस्थालाई दिगो एवम् जनतालाई आर्थिक र विकासको पूर्वाधारमा जोड्न सके मात्र प्रजातन्त्रणको भविष्यमाथि प्रश्न नउठ्ने बताउनुभयो ।

बागमती प्रदेश, संविधान दिवस मूल समारोह समितिद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा  उहाँले संविधानको मर्म र भावनालाई सबै राजनीतिक दलले आत्मसात गरेर अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो । 

प्रदेश प्रमुख देवकोटाले प्रमुख राजनीतिक दलले आ–आफ्नो स्वार्थलाई त्यागेर देश र जनताप्रति जवाफदेही बन्नुपर्ने जनाउनुहुँदै प्रदेश सरकारले पनि सुशासनको प्रत्याभूमि गर्नुका साथै भ्रष्टाचार नियन्त्रणको लागि एकजुट हुनुपर्ने सुझाव दिनुभयो ।

उहाँले अहिले जनता राजनीतिक परिवर्तनको खोजीमा नरहेको स्पष्ट पार्नुहुँदै सङ्घीय सरकार र प्रदेश सरकारले आपसमा सहकार्य गरेर प्रजातन्त्रलाई संस्थागत सुदृढीकरणको लागि काम गर्नुपर्ने औँल्याउनुभयो ।

उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मुलुकलाई आर्थिक समृद्धि, विकासको पूर्वाधार र पर्यटन क्षेत्रको स्तोरोन्नतीको लागि सङ्घीय सरकारले प्रदेश सरकारलाई सहयोग पुर्याउनुपर्छ भन्नुभयो । 

उहाँले प्रदेशको १३ वटै जिल्लाका जनतालाई भौतिक पूर्वाधारको विकाससँगै स्वास्थ्य उपचारको साथै कृषि उत्पादनका लागि पनि सरकारले निष्पक्ष ढङ्गबाट बजेट विनियोजित गरिएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री लामाले प्रदेशमा पटक–पटक सरकारको नेतृत्व परिवर्तन भइरहने प्रक्रियाले पनि जनतामा निराशा छाएको उल्लेख गर्नुभयो । उहाँले अब प्रदेश सरकारले यसै चालु आर्थिक वर्षको असोज महिनाको दोस्रो हप्तादेखि राष्ट्रिय गौरबको आयोजना, विकासको पूर्वाधार कार्यान्वयन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो ।

उहाँले राजनीतिक दलले आफ्नो स्वार्थको लागि सरकार परिवर्तन गर्ने खेलतर्फ आकर्षित नभई गणतान्त्रिक व्यवस्थालाई सुदृढिकरण गर्नेतर्फ एक ढिक्का भई अघि बढ्न सकिएमा प्रजातन्त्रको भविष्य उज्वल हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संविधानको संरचनाअनुसार प्रदेशको संरचनामा शुन्यबाट सुरु हुँदाको अवस्था र अहिले निकै परिवर्तन ल्याइसकेको छ भन्नुभयो । उहाँले अहिले प्रजातन्त्रको विकल्प खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न दलले आपसमा मनमुटाब होइन, आपसमा समन्वय र सहकार्यको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले संविधानको मर्मअनुसार संसदीय व्यवस्थालाई अझ गतिशील तुल्याउन प्रदेश सरकारले आफ्नो कार्यसम्पादनलाई इमान्दरीपूर्वक कार्य गर्दै आएका छ भन्नुभयो ।  उहाँले जनतालाई मानवअधिकारी शान्तिसुरक्षा एवम् विकासको पूर्वाधारलाई जोड्ने कार्यमा सरकार र प्रदेश सभाबीच सन्तुलन हुनुपर्ने उल्लेख गर्नुभयो ।

संविधान दिवस समारोह मनाउन आज हेटौँडास्थित भुटनदेवी माविको प्राङ्गनबाट निस्किएको ¥यालीले हेटौँडा नगरको परिक्रममा गरी मुख्यमन्त्री कार्यालयको परिसरमा पुगेपछि समारोहमा परिणत भएको थियो ।

उक्त पैदल ¥यालीका प्रदेशका मुख्यमन्त्री लामा, मन्त्री विभिन्न मन्त्रालयका सचिव, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, विभिन्न कार्यालय प्रमुख, सेना, प्रहरीका उच्च अधिकृतको साथै नेपाली सेना र प्रहरीको न्यौली बाँजा र झाँकी सहभागी थिए । 

सो अवसरमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राष्ट्रिय झण्डोतोलन गर्नुभएको थियो । यस अवसरमा नेवारी, तामाङ र पञ्चेबाजासमूह सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय झण्डा फह¥याइयो 

संविधान दिवसको उपलक्ष्यमा गठित बागमती प्रदेश संविधान दिवस मूल समारोह समितिद्वारा हेटौँडास्थित बुद्धचोक र हटौँडा–११ थानाभर्याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा बागमती प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले राष्ट्रिय झण्डा फह¥याउने कार्यक्रमको आज शुभारम्भ गर्नुभयो ।

मन्त्री लामिछानेले संविधान दिवसको उपलक्ष्यमा नारायणी यातायात व्यवसायी सङ्घद्वारा सञ्चालित विभिन्न प्रकारका सवारीसाधनमा आज यहाँ राष्ट्रिय झण्डा फह¥याउनु भएको थियो ।

उहाँले मुलुकमा संविधानको मर्मअनुसार सबै राजनीतिक दलले जनताप्रति केन्द्रित रहेर विकासको लागि राजनीतिक गरिँदा संसदीय प्रजातन्त्रको भविष्य उज्वल हुने बताउनुभयो ।

उहाँले गणतान्त्रिक संसदीय प्रजातन्त्रको विकल्प आम जनताले नचाहेको जनाउनुहुँदै ती समूहले जनमतको इच्छालाई बुझ्ने प्रयास गर्नुपर्छ भन्नुभयो ।

नारायणी व्यवसाय सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले प्रदेशको १३ वटै जिल्लामा सञ्चालित बस, मिनी, ट्याक्टर, ट्रक र बाईकमा राष्ट्रिय झण्डा सजावट गरी यातायात सञ्चालन गरिरहेको बताउनुभयो ।