शुक्रबार १८ असोज, २०८१

नेपाली समय

निजी विद्यालय जस्तै पढाई र अन्य सुविधा दिन्छिन् प्रअ यादव

निजी विद्यालय जस्तै पढाई र अन्य सुविधा दिन्छिन् प्रअ यादव

रौतहट, ३० भदौ । भनिन्छ गर्दा के हुँदैन ? मधेश प्रदेशको धेरै जसो विद्यालयहरूमा अर्काले सहयोग गरे विद्यालय सुधारछु भन्ने पर्खाइमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिहरू हुन्छन् । तर आफैँले गर्दा सुधार हुँदो रहेछ भन्ने जल्दाबल्दा उदाहरण हो श्री प्राथमिक विद्यालय भिमडाबर ।   

रौतहटको गरुडा नगरपालिका ७ भिमडाबरमा रहेको  प्राथमिक विद्यालयका प्रधान शिक्षक रिंकु यादव आफ्नो  लगन र मेहनतले विद्यालयलाई सुन्दर बनाएकी छिन् । करिब २०० विद्यार्थी नियमित रूपमा पढ्न आउने विद्यालयको विद्यार्थीलाई आफ्नो निजी लगानीमा टाई बेल्ट प्रदान गरी बोर्डिङ जस्तो अनुभूति गराएकी छिन् । 

अभिभावकसँग नियमित रूपमा भेटघाट गर्दै आफ्नो कमी कमजोरीको बारेमा सल्लाह गरी सुधार गर्दै आइरहनु भएकी प्रधान शिक्षक यादव विद्यालयको भौतिक विकासको क्षेत्रमा पनि प्रगति गराएकी छिन् । एउटा एनजिओ सँग समन्वय गरी  विद्यालयलाई मर्मत गराउनुका साथै नगरपालिकाको सहयोगले विद्यालयको भौतिक संरचना परिवर्तन गरी धेरै राम्रो बनाउन सफल भएकी छिन्  । 

विद्यालयमा अभिभावकहरू नियमित रूपमा आउने गरेको र पढाइका साथै भौतिक र अतिरिक्त क्रियाकलाप समेतले अभिभावक सन्तुष्ट रहेको प्रधान शिक्षक यादवको भनाइ छ । आवश्यकताअनुसार विद्यालयमा स्वास्थ्य शिविर राखी विद्यार्थीको स्वास्थ्य परीक्षण गराई नियमित रूपमा विद्यालय खाजाकाे गुणस्तरीय बनाएका कारण अभिभावक र विद्यार्थीको आकर्षण विद्यालयप्रति बढेको छ ।

विद्यालयमा सबै घण्टी र सबै विषय पढाइ भइरहेको प्रधान शिक्षक यादवको भनाइ छ । निजी विद्यालयको सरह पढाइ र अन्य सुविधा विद्यालयमा प्राप्त भइरहेकोले अभिभावक पनि  धेरै सन्तुष्ट रहेको यादवको दाबी रहेको छ । विद्यार्थी, अभिभावक र शिक्षक सबै सन्तुष्ट रहेकाले आफ्नो मिहिनेत   सफल भएको प्रधान शिक्षक यादवको भनाइ रहेको छ  ।