काठमाडौँ, २९ भदौ । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा धवलशमशेर जबराले सबै मिलेर भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्ने बताउनुभएको छ ।
बागेश्वरी असल शासन क्लब बास नेपालले आज यहाँ आयोजना गरेको ‘बास नेपाल पब्लिक स्पिच’ कार्यक्रममा उहाँले भन्नुभयो, “देशका जिल्लादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ । यसविरुद्ध अभियान नै चलाउनुपर्ने आवश्यकता छ ।”
नेता डा जबराले भ्रष्ट्राचारजन्य क्रियाकलापमा लाग्ने नेता तथा जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने र यसविरुद्ध जनताहरू पनि सचेत रहनुपर्ने धारणा राख्नुभयो । क्लब (बास नेपाल) की केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले आफूहरूले विभिन्न निकायको सहयोगमा भ्रष्टाचार मुक्त अभियान सञ्चालन गरिरहेको र यसमा सबैको सहयोग रहे भ्रष्टाचार मुक्त राष्ट्र बनाउने अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
पब्लिक स्पिच कार्यक्रममा भाग लिएर उत्कृष्ट भएका सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतिस्पर्धी १५ जनामध्ये प्रथम भएका दिलबहादुर भण्डारीलाई रु ५० हजार, द्वितीय सुशीला धमलालाई रु ३० हजार, तृतीय गङ्गा घिमिरेलाई रु २० हजारसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो ।
कार्यक्रममा करुणा खनाल तथा जेपी बुढाथोकीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।