शनिबार १९ असोज, २०८१

नेपाली समय

बाराको सीमावर्ती क्षेत्रबाट खुलेआम तस्करी, एसपी खड्का भन्छन्: 'मेरो संलग्नता छैन'

बाराको सीमावर्ती क्षेत्रबाट खुलेआम तस्करी, एसपी खड्का भन्छन्: 'मेरो संलग्नता छैन'

बारा, २९ भदौ । बाराको सीमावर्ती क्षेत्रबाट खुलेआम तस्करी भइरहेको छ । अवैध कारोबार चोरी तस्करी नियन्त्रण गर्ने प्रहरी अधिकारीहरूकै संरक्षणमा खुलेआम तस्करी भइरहेको हो । 

खुल्ला सिमानाकाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करहरूको रजगज कुनै नौलो विषय होइन । सीमानाकाबाट हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले ठाउँ–ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । तर भारतसँग जोडिएको बाराको सीमानाकाहरुबाट प्रहरीकै संरक्षणमा तस्करी धन्दा मौलाएको छ । 

भारतसँग सीमा जोडिएको बाराको मटिअर्वा,छतवा बरैनिया, गोपालगंज, सिम्रौनगढ लगायतका नाकाहरूबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संरक्षणमा तस्करी धन्दा मौलाएको हो । यी नाकाहरूको प्रयोग गरी लत्ता कपडा, हार्डवेयर, काजु, राँगा भैँसी, मोबाइल र मोबाइल पार्टस्, इलेक्ट्रिक सामान, कबाडको आडमा मदिरा, औषधी, तथा दैनिक उपभोग्य विभिन्न किराना सामग्री लगायतको सामानको तस्करी भइरहेको पाइएको छ । यी नाकाहरूबाट हुने तस्करी बापतको असुलीमा जिल्ला प्रहरी कार्यालय बाराको क्राईमका सई बिनोद काफ्ले र रोशन अधिकारी परिचालन रहेको बताइन्छ । उनीहरू बाराको ती विभिन्न नाकाहरूबाट तस्करीको कारोबार गर्ने सयौँ तस्करहरूसँग आर्थिक साँटगाँठमा तस्करीको लाईन चलाउँदै असुली गर्दै आएको बताइन्छ । 

यस्तै, बारा जिल्लाको ग्रामीण भेगमा सञ्चालित अवैध घरेलु मदिराभठ्ठीबाट समेत क्राईमका सईले जिल्लाको नाममा महिनावारी बुझ्दै आएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका एसपी मेहन्द्र खड्काले तस्करीमा मेरो कुनै संलग्नता नरहेको बताएका छन् । क्रामईमका सई रोशन अधिकारी र बिनोद काफ्ले सहितको टोलीले जिल्लाको नाममा असुली गर्दै आएको प्रश्नमा रोशन अधिकारी १६ दिनदेखि काठमाडौं गएको बताउँदै तस्करीमा संलग्नता देखिए आफूले कारबाही गर्ने प्रतिक्रिया दिए । एसपी खड्काले तस्करी कहीँ कतैबाट पनि नभएको दाबी गरे । 

सशस्त्र प्रहरी बल बाराका एसपी सन्तोष सिंहले पनि तस्करी नभएको दाबी गरे। तर बाराको छतवा बरैनिया, मटिअर्वा, गोपालगंज, सिम्रौनगढ नाकाबाट भने दिउँसो र रातीको समयमा खुलेआम तस्करी भइरहेको पाइएको छ ।