ललितपुर, २२ भदौ । नागरिक पहिलो अभियानका अभियन्ता सनोज महतले नागरिक जागरण सुरु गरेका छन् । ललितपुरको लेलेबाट नागरिक जागरण अभियान सुरु गरेका उनले देशैभरका स्थानीय तहमा यो अभियानमार्फत नागरिक जागरण पुर्याउने उनको दाबी छ ।
नेपालमा लामो समयबाट सार्वभौम नेपाली नागरिकहरूलाई पञ्चायतले रैती, राजाले प्रजा र अहिलेका राजनीतिक पार्टीहरूले भोटर मात्र बनाएका कारण अब नागरिक पहिलो र सार्वभौम हुनुपर्ने उनको धारणा छ । यसै अभियानका माध्यमबाट नागरिकलाई पहिलो र सार्वभौम बनाउन आफूले अभियान सञ्चालन गरेको बताए ।
स्थानीय नागरिकहरुसंगको अन्तर्क्रियामा आफ्नो धारण राख्दै उनले भने, "देशमा सामाजिक व्यवस्था परिवर्तन, सामाजिक सुरक्षा, हरेक नागरिकलाई आवासको ग्यारेण्टी गर्न म र नागरिक अभियानको मुख्य लक्ष्य छ । हालका मौजुदा राजनीतिक दलहरूले सत्ता लिप्सा र भागबण्डाको राजनीति गरेको कारण जनताको पक्षमा बहस, छलफल र काम गर्न नसकेकोले हामी बाध्य भएर यो अभियानमा लाग्नु परेको हो । नागरिकका अन्य आधारभूत आवश्यताहरुसंगैः शिक्षा, स्वास्थ्यमा धनी, गरिब, हुने र नहुने बिचको खाडल पुर्न म र नागरिक अभियान अगाडी बढेका छौँ।"
खुला आकाशमूनी कोही नागरिक बस्न नपरोस् र यो सम्भव छ भन्ने खाकाका साथ नागरिकमा जागरण ल्याउने उनले विश्वास व्यक्त गरे । काँग्रेस, कम्युनिष्टहरुले प्रजातन्त्र आएपछि र माओवादीले गणतन्त्रआएपछि नागरिकको समस्याहरूको समाधान गर्ने आश्वासन दिलाएको भएता पनि झन् नागरिक प्रताडीत हुनु पर्ने अवस्था भएको, नागरिकको समस्या ज्यूँका त्यूँ रहनुले एक भोटको महत्त्व बुझाउन र नागरिक पहिलो हुने खाका सहित आम नागरिकमा जागरण ल्याउन आफू नागरिककैबिचमा जाने प्रतिबद्धता व्यक्त गरे । नयाँ भनिएका दलहरूबाट मात्र नागरिकको समस्या हल नहुने भन्दै समयअनुकूल अर्को पुस्ता डटेर लाग्नु पर्ने उनको तर्क थियो ।
प्राकृतिकरुपमा धनी देश नेपालले यिनै स्रोतसाधनको उचित उपयोग गरेर नागरिकलाई आर्थिक रुपमा धनी बनाउन सकिने र त्यसको समेत खाका कोरेर नागरिकलाई जागृत गराउने उनको भनाई छ । भारतसँगको स्थिर मुद्रा सटहीको व्यवस्थामा समसामयिक सुधार, भारत–नेपालबिच विकास साझेदारी बनेर नेपाललाई समृद्धिको दिशामा लैजान राष्ट्रिय बहसको आवश्यकता भएको बताए । नेपालमा उत्पादित कृषिजन्य बस्तुहरू र नेपालमा उत्पादित सामानहरूको बजार भारत हुन सक्ने भन्दै यसको सम्भाव्यता अध्ययन सुरु गर्नुपर्ने उनको भनाई छ ।
राजनीतिक दलहरुले नागरिकको पक्षमा केही गर्न नसकेको, राज्य ढुकुटीमा ब्रम्हलूट मच्चाएको, आफ्ना सन्तान दरसन्ताको लागि मात्र सम्पत्ति जोड्ने काम गरेको हुँदा उनीहरूबाट देशमा व्याप्त सङ्कटको हल नहुने भन्दै राजनीतिक व्यवस्थामै परिमार्जन गर्नुपर्ने र सुदृढ अर्थतन्त्रको लागि नागरिकमा बहस चलाउने बताए ।
स्थानीय तह स्थानीय नागरिककै घरदैलोको सरकार भएकोले राजनीतिक दलको टिकटबाट निर्वाचित नभएर स्थानीय व्यक्तिहरूबाटै निर्वाचित भएर स्थानीय सरकार सञ्चालन गर्नुपर्ने उनको तर्क छ । त्यसैगरी प्रदेश सरकारलाई काँग्रेस, कम्युनिष्टहरुले पङ्गु बानाएकोले स्थानीय पालिकाबाट निर्वाचित सरकार प्रमुख, उप–प्रमुखहरू मध्यबाट प्रदेश सरकार सञ्चालन हुनुपर्ने उनको भनाई छ । अहिलेको संसद संख्या धेरै भएको, राज्यलाई नै बोझ हुनेगरी अनावश्यक झुण्ड भएको हुँदा संसदलाई एक सयको संख्यामा झार्ने आफ्नो मुद्दा रहने महतले बताए ।
स्थानीय नागरिकहरूलाई सम्बोधन गर्दै उनले भने, "यही असफल राजनीति प्रणालीको कारण प्रचण्ड निर्वाचन क्षेत्र छोड्दै भाग्नु पर्ने, देउवालाई बाहिरबाट गएका उम्मेदवारले आच्छु-आच्छु पारेको र ओली बुर्जखालिफा निर्माणमै मस्त रहेकोले उनीहरूबाट नागरिकको समस्याका हल हुने अपेक्षा नगरौँ ।"
अन्त्यमा उनले भने, "म र नागरिक अभियान पार्टीतन्त्रको अन्त्य गर्दै नागरिकलाई पहिलो बनाउन र लोकतन्त्रलाई अझ बलियो बनाउन अगाडी बढ्ने छु ।"
सबै नयाँ पार्टी, पुराना नेता र दलहरूले भागबण्डा, सत्ता लिप्सा र गैर राजनीतिक गफमा समय गुजारिरहेको छ: प्रशान्त सिंह
त्यसैगरी नागरिक अभियानका अभियन्ता प्रशान्त सिंहले राजनीतिक दलहरूलाई गाली गरेर नेपालको समस्या समाधान नहुने बताएका छन् ।
स्थानीय नागरिकहरूलाई सम्बोधन गर्दे उनले भने, "राजनीति दललाई गाली गर्ने र दोषारोपण गर्ने कामलाई छोडौँ । उनीहरू जुन परिवर्तनका लागि भूमिका खेले त्यसको लागि धन्यवाद् दिएर बिदा गरौँ । अहिलेका पुस्ताका समस्याको सम्बोधन उनिहरुबाट हुन्न, त्यसकारण अहिलेको पुस्ता नै आफ्नो समस्याहरूको समाधान गर्न नयाँ ढङ्गले अगाडी बढ्नु पर्छ । पुरानो नेताहरू र दलहरूलाई गाली गर्नको सट्टा आफ्नो समस्या समाधानका लागि आफै अगाडी बढ्नु शिवाय अर्को विकल्प छैन ।"
शासना सत्ता हाँकीरहेका सबै नयाँ पार्टी, पुराना नेता र दलहरू भागबण्डा, सत्ता लिप्सा र गैर राजनीतिक गफमा समय गुजारिरहेको भन्दै नागरिक अभियानले देश, राष्ट्र निर्माण र जनताको पक्षमा हित हुने उपायहरूको बारेमा जागरण ल्याउनु पर्ने बताए । आम भुइँमान्छे नागरिकहरूको पक्षमा अहिलेका नेताहरूले एक मिनेट समय समेत नखर्चेको गुनासो व्यक्त गरे ।
उनले भने, "पालैपालो देशको शासन सत्ता हाँकीरहेका राजनीतिक दल र नेताहरूले भूगोललाई मात्र राज्य माने । नागरिकहरू नै राष्ट्र हुन् । बलियो र आत्मनिर्भर राष्ट्र बिनाको राज्य कल्पना गर्न समेत सकिन्न । उनीहरूले राष्ट्र र राज्यमा भेद सम्म छुट्टाउन सकेको छैन । त्यसकारण राष्ट्र बलियो भए राज्य बलियो हुन्छ । पुराना नेता र दलले राष्ट्रलाई बलियो बनाउनको सट्टा आफ्नो स्वार्थमा लागिरहेका कारण हामी र नयाँ पुस्ता नै विद्यामान नेपालको समस्या समाधान गर्न जुट्नु पर्छ ।"
दलाल नेताकै कारण विदेशिएका युवा/युवतीहरूले पठाएको रेमिट्यान्समा समेत नेताहरु लडाइँ गरिरहेका छन्: सुरेन्द्र चौधरी
अर्का अभियन्ता सुरेन्द्र चौधरीले विगतका कमजोरीलाई सच्याउँदै अगाडी बढ्नु पर्ने बताएका छन् । हजुरबा पुस्ताले र दलतन्त्रले नै देश बरवाद पारेको कारण आफू पार्टी त्यागेर नागरिक बनेको बताए ।
उनले भने, "हजुरबा पुस्ताले राज्य दोहन र राज्यको ढुकुटीमा लूट मच्चाए । अब नागरिक तहमा काम गर्न म पार्टी त्यागेर अगाडी बढेको छु । यी नै दल र नेताको कारण देशमा बस्न नसक्ने वातावरण बनेको छ । नेपालको हरेक परिवारमा पीडा र दूरदशाको अवस्था जसले बनायो उनैलाई अझ देशको शासन सत्ता सुम्पेका छौँ । यसैलाई बुझाउन पनि नागरिक अभियानले नागरिक जागरण सबै स्थानीय तहसम्म पुर्याउन यो जागरणले महत्त्वपूर्ण भूमिका हुने छ । स्थानीय, प्रदेश र केन्द्रको शासन प्रणालीमा सुधार नल्याई सुखी र समृद्ध नेपालको कल्पना गर्न सकिन्न । र यी नै नेता र दलबाट सुधारको अपेक्षा छैन ।"
दलालले घेरिएका र दलाल नेताहरूले देश र जनताको चिन्ता नगरेकै कारण आज हजारौँ युवा/युवतीहरू देश छाड्न बाध्य भएको उनको आरोप छ । उनै नेताका कारण विदेशिनु परेका युवा युवतीहरूले पठाएको रेमिट्यान्स समेत उनै नेताहरू लडाइँ गरिरहेको उनको भनाई छ ।
त्यसैगरि स्थानीय समाजसेवी नबराज खड्काले तमाम नागरिकले भोगिरहेको समस्या समाधानमा नागरिक अभियान सक्षम रहने विश्वास व्यक्त गरे । पुरानै पार्टी र प्रणालीको कारण नागरिक तहमा वितृष्णा बढेको भन्दै नागरिक अभियान चाँडै संस्थागत हुँदै देशमा व्याप्त समस्याको हल गर्नुपर्ने भनाई थियो । राजधानीका आसपासका नागरिकहरू समेत देशको नाजुक अवस्थाले प्रताडित रहेको भन्दै देशको अन्य दूरदराजको भागहरूको कल्पना समेत गर्न नसक्ने अवस्था भोग्नु परेको खड्काको ठम्याई थियो ।