रौतहट, १३ भदौ । जिल्लाको मध्यभागमा रहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रामेश्वर त्वातीको कार्यकाल पूरा नहुँदै सरुवा भएको छ । इलाका प्रहरी कार्यालय गरुडाको डिएसपीको रूपमा कार्यभार सम्हालेको तीन महिना समेत नबित्दै त्वातीको इटहरी सरुवा भएको हो
गत जेष्ठ मसान्तमा गरुडामा हाजिर भएका डिएसपी त्वातिको एक वर्षको कार्यकाल पूरा नहुँदै सरुवा भएको हो । एक प्रहरी अधिकृतले यदि कुनै वादविवादमा नपरेको खण्डमा कुनै ठाउँमा जाँदा कम्तीमा एक वर्ष बसेर काम गर्नुपर्ने प्रावधान अनुसार डिएसपी त्वातीले आगामी २०८२ साल जेष्ठसम्म गरुडामा बस्नुपर्ने थियो तर उनको कार्यकाल पुरा हुन अझै ९ महिना भन्दा बढी दिन बाकी छ्दै उनको सरुवा गरिएको हो ।
गरुडामा अब अर्को नयाँ डिएसपी राजन कार्की आउन लागेका छन् । आउँदो शनिबार त्वातीको बिदाइ हुँदैन भने नयाँ डिएसपी कार्कीको सोहीदिन आगमन हुनेछन् । डिएसपी त्वातीले अधिकांश घटनाको दोषीमाथि कानुन बमोजिम मुद्दा दर्ता गरी कार्यवाही प्रक्रिया अगाडि बढाउन थालेका कारण त्रसित भएका केही राजनीतिक दलका नेताले पावरको बलमा सत्ताको दुरुपयोग गरी बिना कुनै कारण डिएसपी त्वातीको सरुवा गराएको बाहिर हल्ला छ ।
डिएसपी त्वातीले कसैको दबाब प्रभाव वा कुनै प्रकारको प्रलोभनमा नपरी एकदम निष्पक्ष रूपमा काम गर्दै दोषीलाई सजाय दिलाउने र पीडितलाई न्याय दिलाउने कामलाई प्रभावकारी ढङ्गले अगाडी बढाउन थालेको कुरा केही नेतालाई मन परेको थिएन ।
उनले बहुविवाह, बलात्कार, चोरी, डकैती , बैङ्किङ कसुर, अभद्र व्यवहार लगायत घटनाको दोषीमाथि मुद्दा दर्ता गरी सिधै कार्यवाही प्रक्रिया अगाडी बढाउने गरेका थिए जस कारण राजनीतिक दलका केही नेताहरू निकै त्रसित भएका थिए । डिएसपी त्वातीको तीन महिनाको कार्यकालमा गरुडा प्रहरीमा मिलापत्र भन्दा बढी मुद्दा दर्ता भएको छ भने मेलमिलापको माध्यमले निकै कम मुद्दाको किनारा लागेको छ ।
एक श्रोतका अनुसार मिलापत्र गर्न नहुने अर्थात् गम्भीर प्रकृतिका घटनालाई समेत केही राजनीतिक दलले मेलमिलापको माध्यमले टुङ्ग्याउन डिएसपी त्वातिलाई अनावश्यक दबाब दिने गरेका थिए ।तर त्वातीले गम्भीर प्रकृतिका घटनाका दोषी अर्थात् अपराधीलाई सजाय दिलाउन कसैको कुरा नसुनी कानुनले दिएको अधिकार भित्र रहेर मिलापत्र नगराई दोषीमाथि मुद्दा नै दर्ता गर्ने गरेका थिए ।
डिएसपी त्वातीले अधिकांश घटनाको दोषीमाथि मुद्दा दर्ता गरी कार्यवाही गर्न थालेपछि पछिल्लो समय गरुडा आसपासमा आपराधिक क्रियाकलापमा कमी आएको छ । डिएसपी त्वातिले अधिकांश घटनाको दोषीमाथि मुद्दा चलाउन थालेपछि जुन सुकै मुद्दाको पनि मेलमिलापको माध्यमले मिलापात्र गराइ पिडक र पीडित दुवै पक्षसँग मोटो रकम असुली गरी दलाली गर्नेहरूको दलाली बन्द भएपछि तिनीहरू डिएसपी त्वातीको कार्यशैली प्रति असन्तुष्ट रहँदै आएका थिए । त्वातीको यस्ता कार्यशैली र काम कार्यवाहीबाट आत्तिएका केही जनप्रतिनिधि र दलका नेताहरूले उनको सरुवा गराउने चलखेलमा केही दिनदेखि लागि परेका थिए ।
डिएसपी त्वातीको कडा एक्सनले दलाली गर्न नपाएका केही राजनीतिक दलका नेताले बिना कुनै कारण पावर र शक्तिको आँडमा सर्वसाधारण नागरिकको पक्षमा काम गर्ने डिएसपी त्वातीको सरुवा गराएको स्रोतको दाबी छ ।
त्वातीले कुनै गल्ती नगरेपनी उनलाई कुन कारण वा आधारमा कार्यकाल पूरा नहुँदै सरुवा गरियो भनी आम नागरिकले चासो व्यक्त गर्न थालेका छन । बिना कुनै कारण र आधारको त्वातीलाई सरुवा गर्ने प्रहरी प्रधान कार्यालयमाथि पनि प्रश्न चिन्ह खडा भएको छ ।