शनिबार २६ असोज, २०८१

नेपाली समय

स्वास्थ्य बीमालाई एकीकृत गर्दै निःशुल्क स्वास्थ्य सेवाको पहुँच नागरिकमा पुर्‍याउँछौँ : मन्त्री पौडेल

स्वास्थ्य बीमालाई एकीकृत गर्दै निःशुल्क स्वास्थ्य सेवाको पहुँच नागरिकमा पुर्‍याउँछौँ : मन्त्री पौडेल

भक्तपुर, १२ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्न र विशिष्टिकृत सेवालाई सरलीकृत गर्न स्वास्थ्य बीमा एक मात्र उपाय भएको बताउनुभएको छ ।

भक्तपुर क्यान्सर अस्पतालले आयोजना गरेको कार्यक्रममा रेडियोथेरापी, मोडुलर ओटी र दुई सय ५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनको शुभारम्भ गर्दै त्यस्तो धारणा राख्नुभएको हो । स्वास्थ्य बीमालाई मजबुत बनाउन सकेमा जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिन सकिने उल्लेख गर्दै उहाँले स्वास्थ्य बीमालाई एक लाखबाट बढाएर पाँच लाख पुर्‍याउने बताउनुभयो । 

यसका लागि स्रोत सुनिश्चित गर्न आवश्यक पहल भइरहेको बताउँदै मन्त्री पौडेलले भन्नुभयो, “अहिलेको अवस्थामा बीमा व्यवस्थित छैन, स्रोत सुनिश्चित नहुँदा समस्या छ, यसका लागि बीमा बोर्डमार्फत एकीकृत माध्यमबाट एकद्वार प्रणाली अँगाल्दै सेवालाई लैजानुपर्छ ।”

जनताको सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्था तत्पर रहनुपर्ने बताउँदै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताउनुभयो । 

“स्वास्थ्यका नाममा सङ्कलित करको ५० प्रतिशत हिस्सा बीमालाई दिनुपर्छ, आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुमा चिनी करको व्यवस्था गरी त्यसबाट प्राप्त हुने रकम बीमामा जम्मा गर्नुपर्छ, निजामती कर्मचारी, सुरक्षा अङ्ग, सामाजिक सुरक्षा कोषको बीमासम्बन्धी रकम बीमा बोर्डमा जम्मा गर्नुपर्छ”, मन्त्री पौडेलले भन्नुभयो, “सरकारी बेतन खाने सबैले दुई प्रतिशत रकम बीमामा जम्मा गर्ने व्यवस्था गर्नुपर्छ, १६ लाख घरपरिवार नेपाल सरकारको स्वास्थ्य बीमामा आबद्ध छन् । त्यसलाई बढाएर ६० लाख घर परिवारमा पु¥याएर त्यसबाट जम्मा हुने प्रिमियमलाई बीमा कोषमा जम्मा गर्न सके स्वास्थ्य सेवालाई निःशुल्क, व्यवस्थित र सर्वसुलभ ढङ्गले सेवा प्रदान गर्न सक्छौँ ।”

स्वास्थ्य उपचारकै कारण लाखौँ जनता गरिबीको रेखामुखी पुगेको हुँदा नसर्ने रोगबारे नागरिकलाई रोग नलाग्ने उपाय र चेतना जगाउन आवश्यक भएको कार्यक्रममा उहाँले औँल्याउनुभयो। उहाँले ४० वर्षमाथि उमेरकाको मिर्गौला र क्यान्सर रोगको स्क्रिनिङ गर्ने र १० देखि १४ वर्ष उमेका बालिकालाई पाठेघरको क्यान्सर विरुद्धको भ्याक्सिन निःशुल्क प्रदान गर्ने व्यवस्था गर्न लागेको बताउनुभयो ।

पालिका, प्रदेश र सङ्घीय मातहतका स्वास्थ्य संस्थाको वर्गीकरणको आवश्यक रहेको बताउँदै उहाँले वर्गीकरणका आधारमा स्वास्थ्य सेवाको सुनिश्चिचतता र विशेषज्ञ सेवा दिन सके सबैको पहुँचमा स्वास्थ्य सेवा पुग्ने चर्चा गर्नुभयो । मन्त्री पौडेलले कोशी, नारायणी अस्पताललगायत अन्य प्रदेशका अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गर्न लागेको बताउँदै अस्पतालमा रात्रीकालीन स्वास्थ्य सेवा विस्तार गरी तीन सिफ्टमा सेवा दिने तयारीका लागि छलफल भइरहेको बताउनुभयो । 

कार्यक्रममा भक्तपुर क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको व्यवस्थापनमा सल्लाघारीको नेपाल ट्रष्टको जग्गा र जगातीमा रहेको इँटा तथा टायल कारखाना रहेको जग्गामा ख्वप विश्वविद्यालय स्थापना गरी मेडिकल कलेज सञ्चालनका लागि अनुमति दिन सरकारसँग माग गर्नुभयो ।

भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित सांसद दूर्लभ थापाले भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई एउटै बनाएर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको  रुपमा विकासगरी दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मी उत्पादनमा लाग्नु पर्ने बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले २०७२ सालको महाभूकम्प, कोरोना भाइरस सङ्क्रमणको महामारदेखि अहिलेसम्म भारतले नेपाललाई सहयोग गर्दै आएको बताउँदै युगौँदेखि भारतले नेपालको स्वास्थ्य क्षेत्रमा दिँदै आएको अनुदान र सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले अस्पतालमा आएका बिरामीलाई चिकित्सक एवं स्वास्थ्यकर्मीले गर्ने बोली र व्यवहारमा सुरधार ल्याउनुपर्ने बताउनुभयो । भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक उज्ज्वल चालिसेले अस्पतालले पुर्‍याउँदै आएको सेवाका बारेमा जानकारी गराउनुभयो । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले क्यानसरको उपचाका लागि घरखेत जाने अवस्थाको अन्त्य गर्न सरकारले क्यान्सरका बिरामीको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।