काठमाडौँ, १४ साउन । नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको अप्राकृतिक गठबन्धन र ओली-देउवाले समानुनिपातिक प्रणाली हटाउने बहस चलाइरहेको बेला सरोकारवालाहरूले पूर्णसमानुपातिकको लागि अर्को आन्दोलनको आवश्यकता रहेको धारणा राखेका छन् ।
सोमबार संवाद डबलीमा संयुक्त नागरिक पार्टीले आयोजना गरेको प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरूले काँग्रेस एमाले प्रतिगमन तिर उन्मुख रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै संयुक्त नागरिक पार्टी अध्यक्ष दलमर्दन कामीले देशमा ठूलो सङ्घर्षमार्फत ल्याइएको वर्तमान परिवर्तनका विरुद्धमा पुरातनवादी पार्टीहरू लागिरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले संविधानमा धर्मनिरपेक्ष, समावेशी र समानतामा आधारित राज्य व्यवस्था भनिए पनि त्यो व्यवहारमा लागु नभएको बताए । व्यवस्था परिवर्तनका लागि लडेका अल्पसङ्ख्यक र शिल्पी/दलितहरूको कुनै योगदान नै नभएजस्तै र आफ्नै बाबुको बिर्ताजस्तै ठानेर यो व्यवस्था उल्ट्याउन केपी ओलीसम्म लागेका छन् । उनले समानुपातिक प्रणालीको अपव्याख्या गरेर त्यसको दुरुपयोग गरेका छन् । ओली–देउवाहरूले समानुपातिकको नाममा आफन्त मात्रै नभएर गर्लफ्रेण्ड र ब्वाईफ्रेण्ड समेतलाई भर्ती गरी समानुपातिक प्रणालीलाई पहुँचवालाको मात्र भर्तीकेन्द्र बनाइरहेको पनि अध्यक्ष कामीले दाबी गरे ।
कार्यक्रममा प्रशिक्षकका रूपमा उपस्थित दक्षिण अफ्रिकाका लागि पूर्वराजदूत डा.निर्मल विश्वकर्माले काँग्रेस र एमालेले ७ बुँदे सहमति गरेर समानुपातिक–समावेशिता हटाउने सहमति गर्नु दुर्भाग्य भएको बताएका छन् । समानुपातिक प्रणालीलाई हटाउने मुख्य उद्देश्य भनेको काँग्रेस-एमालेले आ-आफ्नो कुकर्म ढाकछोप गर्नलाई भएको बताए । यिनीहरूले लुटबाट कमाएको अकुत सम्पत्ति बचाउन प्रतिगमन तर्फ उन्मुख भएको डा. विश्वकर्माले बताए ।
त्यसैगरी कार्यक्रमका अर्का वक्ता तथा प्रशिक्षक प्रा.डा.महेन्द्र लावतीले संविधानमा समावेशी, समानुपातिक भनिए पनि अहिलेको राज्य व्यवस्था एकल जातीय रूपले सञ्चालित भइरहेको बताएका छन् । पछिल्लो समयमा पहिचानवादीहरुले त्यसलाई व्यवहारिक रूपमा लागु गर्न दबाब दिएपछि समानुपातिक प्रणाली हटाउने षड्यन्त्र भएको आरोप लगाए ।काँग्रेस–एमाले सुरुमा समानुपातिक र बिस्तारै सङ्घीयता, धर्मनिरपेक्षता हुँदै पुनः २०४७ तिर फर्कदैछन् । त्यसैले पहिचानवादीहरू एकढिक्का भएर सङ्घर्ष गर्नुको विकल्प नरहेको पनि प्रा.डा. लावतीले बताएका छन् ।
सोही कार्यक्रममा बोल्दै संयुक्त नागरिक पार्टीकी वरिष्ठ नेता तथा प्रशिक्षक कमला हेमचुरीले विभिन्न समयमा लगातार आन्दोलन र सङ्घर्ष गरेर देशलाई विश्वका समृद्ध देशको स्तरमा पुर्याउने व्यवस्था ल्याईएपनि अहिले सीमित मान्छेहरूका लागि मात्रै भएको आरोप लगाइन् । नेपालमा वास्तविक कम्युनिष्टहरु भएको भए देशमा तत्काल समाजवाद आइसक्ने बताउँदै हेमचुरीले भनिन्, ‘कम्युनिष्टहरु जनताको पक्षमा भन्दा मौका पायो भने जनतालाईलुट्ने,ठग्ने र पेल्नेतिर लाग्छन् भन्ने कुराको केपी ओली ज्वलन्त उदाहरण हुन् ’। देशका उत्पीडित जनताको पक्षमा आएको वर्तमान परिवर्तनलाई उल्ट्याउनतिर केपीओली उद्यत रहेको बताउँदै हेमचुरले प्रधानमन्त्री केपी शर्मा ओली समानुपातिक र समावेशितालाई उल्ट्याउनेतिर लागेको र त्यसविरुद्ध आन्दोलन आवश्यक रहेको बताइन् । उनले यो मुलुकमा १४२ भन्दा धेरै जाति/समुदायहरू रहेकाले त्यी सबै जाति/समुदायको प्रतिनिधित्व हुने अबको एकमात्र व्यवस्था भनेको नेपाली विशेषतामा आधारित सर्वजातीय सामाजिक लोकतान्त्रिक व्यवस्था हो उनले भनिन् ।
त्यस्तै मानव अधिकारवादी डा.तेज रोक्काले हरेक तीन–तीन महिनामा देशको घटनाक्रम बदलिने गरेकोले देश अस्थिर बनेको बताए । भारतमा जस्तै नेपालमा पनि अल्पसङ्ख्यकलाई असर पार्ने कार्य सुरु भएको बताए ।
पूर्व राजपरिषद् सदस्य उत्तमकुमार परियारले प्रशिक्षण कार्यक्रमको सफलताको शुभकामना दिँदै देशमा राजनीतिक अस्थिरता समाप्त गर्न धार्मिक क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए । त्यसैगरि आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरीले संयुक्त नागरिक पार्टी आशाको किरणका रूपमा उदाएको बताए । पार्टीका सल्लाहकार डा.ऋषि रिमालले देश निकै नै सङ्कटमा रहेको बताउँदै यस पार्टीले देशलाई सङ्कटबाट मुक्त गर्ने अपेक्षा व्यक्त गरे त्यस्तै अर्का सल्लाहकार जेबी खातिले नेपाली शासकहरू देशको परिवर्तन भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ र लाभका लागि केन्द्रित भएको आरोप लगाए
कार्यक्रममा सी.डब्लु.एनका अध्यक्ष डा.मित्र परियारले नेपालका नेताहरू राजाशाही प्रवृत्तिबाट गुज्रिनुको परिणाम उनीहरूका विरुद्धमा जनताको वितृष्णा जागेको बताउँदै, एकल धार्मिक,एकल जातीय संस्कृतिको अन्त्य गर्दै समतामूलक समाज निर्माणका लागि आयोजक पार्टीले भूमिका खेल्नु पर्ने बताए ।
पार्टीका अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासचिव प्रेमबहादुर कार्कीले अतिथि तथा प्रशिक्षार्थीहरूलाई आफ्नो भनाईसहित स्वागत गरेका थिए भने उप–महासचिव विदुर अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।