रौतहट, ४ साउन । जिल्लाको फतुवा विजयपुर नगर पालिका स्थित दुई विद्यालयको प्रधानाध्यापकको जिम्मा एक जनालाई दिएपछि नगरपालिका आलोचित भएका छन् । आर्थिक चलखेलको आधारमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले स्थायी शिक्षक हुँदाहुँदै राहत शिक्षक सुबोध यादवलाई दुईवटा विद्यालयको प्रधानाध्यापक बनाएको स्थानीयले आरोप लगाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले सरस्वती प्राथमिक विद्यालय विजयपुरका प्रधानाध्यापक राहत शिक्षक सुवोध यादवलाई २०८० साल माघ २९ गते देखि प्राथमिक विद्यालय सन्तपुर दोस्तियाका पनि आर्थिक प्रशासनिक समेत हेर्ने गरि जिम्मेवारी दिइएपछि नगर पालिका आलोचित भएका हुन । नगरपालिकाको चलानी नम्बर ८८८को पत्रानुसार उक्त दुवै विद्यालयका प्रधानाध्यापक रहेका यादवसँग सोध्दा आफूले पाएको जिम्मेवारी अनुसार दुवै विद्यालयलाई मिलाएर समय दिँदै आएको बताए ।
सो नगर पालिकाका शिक्षा संयोजक मुकेश साहले प्राथमिक विद्यालय सन्तपुर दोस्तियामा स्थायी शिक्षक हुदाँहुदै राहतको शिक्षकलाई कसरी प्रधानाध्यापक बनाइयो आफूलाई जानकारी नरहेको बताए । सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानसँग यस बारे जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।
शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख राम विनय कुमार सिंहले फतुवा विजयपुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधानले आफै जस्तै जिल्लालाई बनाउन खोजेको आरोप लगाए ।
कटहरीया र फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधान भए जस्तै यादव पनि दुईवटा विद्यालयको प्रधानाध्यापक हुन पाएको इकाई प्रमुख सिंहले बताए ।