रौतहट, १ साउन । असार मसान्त हुँदा पनि मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ । अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको हो । धान उत्पादनको मुख्य केन्द्र नै रहेको मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ हुनु चिन्ताको विषय रहेको कृषिविदहरु बताउँछन् ।
कृषि ज्ञान केन्द्र रौतहटका कृषि अर्थविद् विप्लवकुमार गुप्ताले जति ढिलो रोपाइँ गर्यो, त्यसरी नै उत्पादन कम हुने तथा रोग कीराको प्रकोप बढ्ने बताउँछन् । गत वर्ष पनि असार मसान्तसम्म रौतहटमा ४० प्रतिशत रोपाइँ भएको थियो । यस पटक समयमा वर्षा भएकोले असार मसान्तसम्म करिब ६० प्रतिशत धानको रोपाइँ भएको अनुमान गरिएको छ । गत वर्ष रौतहटमा ३५ हजार ५३० हेक्टर जमिनमा धानको रोपाइँ भएको थियो । यस वर्ष करिब ३८,०० हेक्टरमा धानखेती हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा रौतहटमा चैते धानखेतीमा पनि वृद्धि भएको छ । गत वर्षको तुलनामा रौतहटमा यस वर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको कृषि अर्थविद् गुप्ताको भनाइ छ । रौतहटमा यस वर्ष करिब ७५,००० हेक्टरमा चैते धानको रोपाइँ गरिएको अनुमान छ ।
अर्थविद् गुप्ताले अत्यधिक मात्रामा रासायनिक मलको प्रयोग नगर्न किसानहरूलाई सुझाव दिएका छन् । उनी भन्छन् – अत्यधिक रासायनिक मलको प्रयोगले बाली, माटो र वातावरण सबैलाई नोक्सान पुर्याउँछ, कृषि लागत बढ्छ ।
रोपाइँ सकिएपछि खेतमा सधैँ पानी भरिराख्नेभन्दा पानी तर्काउनुपर्छ जसले गाज वृद्धिमा मदत गर्दछ र उत्पादन बढ्छ – अर्थविद् गुप्ताको भनाइ छ । सिँचाइको सुविधा भएको ठाउँमा पनि रोपाइँ सकिएको छैन । पानीको सुविधा भएको ठाउँमा किसानहरूले धमाधम खेती गरिरहेका छन् । रोपाइँ गर्न पनि समस्या भएकोले केही ढिलो हुन गएको हो ।
खेतमा बेर्ना तयार छ तर रोपाहार पाउन कठिन छ । कतै कतै महिलाहरूले नै ब्याडमा बिउ काढ्ने र रोपाइँ गर्ने गर्ने काम पनि गरिरहेका छन् । धमाधम रोपाइँ भइरहेकोले साउन महिनाको पहिलो हप्तासम्म मुख्य रोपाइँ सकिने विश्वास रहेको छ । कटहरियाका एक कृषक भुनेश्वर यादव भन्छन् – अबको एक हप्तामा रोपाइँ सकिन्छ होला ।
वर्षा रोकिने हो भने धानको रोपाइँमा पनि केही ढिलो हुने सम्भावना रहन्छ । पानी नपर्ने हो भने रोपाइँमा एक हप्ता ढिलो हुन सक्ने उनी बताउँछन् । सबै किसानको पहुँचमा सिँचाइ सुविधा नपुगेकोले विद्युतीय सिँचाइको व्यवस्था गर्न किसानहरूले माग गर्दै आएका छन् ।