शुक्रबार ०४ साउन, २०८१

नेपाली समय

नेपाली काँग्रेस र नेकपा (एमाले) बीच मध्यरात भएको सहमतिलाई प्रतिगामी दुष्प्रयास भन्दै नागरिक पहिलो अभियानको चेतावनी

नेपाली काँग्रेस र नेकपा (एमाले) बीच मध्यरात भएको सहमतिलाई प्रतिगामी दुष्प्रयास भन्दै नागरिक पहिलो अभियानको चेतावनी

काठमाडौँ, २२ असार । नेपाली काँग्रेस र नेकपा (एमाले) बिच मध्यरात भएको सहमतिलाई नागरिक पहिलो अभियानले प्रतिगामी दुष्प्रयास भन्दै चेतावनी दिएका छ । अभियानका प्रवक्ता प्रशान्त सिंहद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस र नेकपा (एमाले) को पछिल्लो गतिविधिलाई चेतावनी दिएको हो  । 

नेपाली काँग्रेस र नेकपा (एमाले) ले सङ्घीयता, समावेशिता, समानुपातिकता, धार्मिक स्वतन्त्रता, सीमान्तकृत समुदायले प्राप्त गरिरहेको सीमित आरक्षण र  सामाजिक न्यायलाई कमजोर पार्ने गरी संविधान संशोधन गर्न खोजिएको आशङ्का गर्दै त्यसो नगर्न चेतावनी दिएका छ । राज्य शक्तिको कार्टेलिङ, भ्रष्टाचार, कुशासन, कमिसन तन्त्रको ढाकछोप र सेटिङले राज्यमा जोखिम बढाएको भन्दै दुई ठूला दलले नै आपसमा मिलेर गठबन्धन सरकार बनाउनु संसदीय लोकतन्त्रको अन्तर्राष्ट्रिय प्रचलन, मूल्य प्रणाली, संविधानको मर्म र गत आम निर्वाचनमा अभिव्यक्त भएको जनादेश विपरीत भएको ठहर गरेको छ। दुईमध्ये एकले आफ्ना सहयोगी दलसहित सरकार चलाउने र अर्कोले प्रतिपक्षको भूमिका गर्नु पर्ने मान्यता विपरीत प्रमुख प्रतिपक्ष नै नरहने गरी हुने गठबन्धन अप्राकृतिक र अशोभनीय भएको अभियानको तर्क छ । 

काँग्रेस र नेकपा (एमाले) बिच भएको सहमति ‘राष्ट्रिय सहमतिको सरकार’ को बर्को ओढाउनु भ्रामक र आपत्तिजनक रहेको अभियानको आरोप छ। राष्ट्रिय सहमतिको आफ्नै वृहत् आयाम र परिवेश हुने भन्दै, दुई दलको सहमति र सरकारलाई राष्ट्रिय सहमति दाबी गर्नु सरासर अनूचित भएको विज्ञप्तिमा उल्लेख छ । काँग्रेस र नेकपा (एमाले)को सहमतिमा संविधान संशोधनको विषयले प्रवेश पाएको भए पनि संविधान संशोधनको अभिमुखीकरण, दिशा र एजेण्डा के हो प्रष्ट नभएको भन्दै प्रश्न गरेको छ । 

यद्यपि काँग्रेस र नेकपा (एमाले) बिच भएको सहमति-पत्र अहिलेसम्म सार्वजनिक गरिएको छैन। विगतका ऐतिहासिक जनआन्दोलन, विद्रोह र क्रान्तिका उपलब्धिलाई सङ्कुचन गर्ने, राष्ट्र र समाजलाई पछाडि फर्काउने गरी संविधान संशोधनको प्रयास भए त्यो प्रतिउत्पादक हुने विज्ञप्तिमा उल्लेख छ ।