भोजपुर, १५ असार । आज दुनियाँ विकास, प्रविधि, चेतना, समृद्धि र सम्पन्नताको निकै उचाईंमा पुगेर शान्ति, आनन्दको खोजीसंगै संस्कार, सस्कृति, पहिचान तथा 'म को हुँ ?' भन्ने आफ्नै परिचयको खोज सुरु भएको छ। इन्टरनेटको दुनियाँले सिंगो विश्वलाई एउटा गाउँमा रुपान्तरित गरिदिएको छ। विश्वका करिब आठ अर्ब मानिसको भींडमा सम्पदा, संस्कृती, परम्परा र आफ्नो परिचय खोजिनु स्वाभाविक पनि हो। तर, गरिबीको चपेटामा चेपिएको हाम्रो जस्तो मुलुक अझै साँझ-बिहानको छाक टार्नमा प्राय: नागरिकहरुको बलबुत्ता र क्षमता यसैमा खर्चिनु परेको तीतो यथार्थ हामीबीच छिपेको छैन। परिणाम स्वरुप नेपालीहरुले विश्वसँग आफ्नो यी र यस्ता विषयहरुमा खोज, अनुसन्धान गर्ने चरणको धेरै तल रहेको अवस्था छ। अवस्था जे-जस्तो रहेपनि ओझेलमा परेको हाम्रो संस्कार, सस्कृति, परम्परा, सम्पदा र परिचयको उजागर गर्नु सचेत जो-कोहीको कर्तव्य हुन आउँछ। यसै शिलशिलालाई निरन्तरता दिने क्रममा आज 'भोजपुर सुन्तलेमा हाम्रो सांस्कृतिक सम्पदा धर्मशाला संरक्षणको पर्खाइमा' शीर्षकमा केहि आफ्नो भनाई राख्ने जमर्को गरेको छु।
भोजपुर जिल्लाको पर्यटकीय क्षेत्र भोजपुर नगरपालिका वडा नं. ९ स्थित सुन्तलेमा पैयाँपाने लामा कार्कीले तत्क्षण बटुवा, ढाक्रे र जोगी सन्यासीलाई आश्रय लिन सहयोग पुगोस् भनी धर्मका लागि धर्मशाला बनाएको थिए । पाटीको पाँच मिनेट हिँडेर पुग्ने ठाउँमा पानी कुवा रहेको त्यसबखत भनाइ थियो । कोशी प्रदेशको मुन्दुम पद यात्रा मार्ग र अहिले भोजपुर दिङला जाने मोटर सडकको पश्चिम साइडमा पर्दछ यो धर्मशाला । यस क्षेत्रमा कार्कीको पाटीको नामले प्रसिद्ध छ ।
सूर्यमान सिंहकार्कीको वस्तु पाल्ने खर्क सुन्तले, धाप खर्क, हित्री क्षेत्रमा पर्दथ्यो। सूर्यमान सिंह कार्कीका जेठा छोरा भीमसेन र उनका छोरा वीरबहादुर कार्कीले खर्कमा पशुपालन गरे बसेका थिए। वीरबहादुर कार्कीले आफ्नो घरबास हालको भोजपुर नगरपालिका वडा नं ९ हात्तीगौँडामा थियो। वीरबहादुर कार्कीकी कान्छी श्रीमती सुन्तलेकै शेर्पाकी छोरी थिइन् । उनी पट्टिका सन्तानहरू हात्तीगौँडामा बसोबास गरिरहेका छन्।
यस पाटी (धर्मशाला) विषयमा पैयाँपाने भीमसेन कार्कीका पनाति हात्ती गौँडा बस्ने वीरबहादुरका नाति, धन्नरजंग कार्कीका छोरा हात्तीगौँडाका बस्ने ८८ वर्षीय रामकृष्ण कार्कीको भनाइ यस्तो पाइन्छ - रामकृष्ण कार्की भोजपुर बोखिम गाउँ पञ्चायतको मुडेको प्राथमिक विद्यालयका शिक्षक हुँदा वि.सं २०२० सालमा विद्यार्थीलाई शैक्षिक भ्रमणमा लिएर भोजपुर सुन्तले जाँदा उक्त धर्मशालामा राखेको ताम्र पत्र पढ्नु भएको थियो। उक्त ताम्र पत्रमा सूर्य भिमसेनको नाम र मिति १९९४ मंसिर १० गते लेखिएको थियो । तामाको निकै मोटाई भएको बाक्लो पाता खम्बामा काटी ठोकेर राखेको थियो । त्यसबेला धर्मशालाको छानो रातो कलर टीनको पाताले छाएको हुनाले अहिले पनि टीनको छानो सुरक्षित रहको देखिन्छ। पछि उक्त ताम्र पत्र उक्काएर निकालेको काटीको डोब देखिन्थ्यो।
रामकृष्णको भनाइ बमोजिम धर्मशाला पैयाँपाने भीमसेन कार्कीले बनाएका थिए । किनकि ताम्र पत्रमा सूर्य भीमसेन लेखिएका थियो । रामकृष्ण कार्कीको भनाइअनुसार सोही अनुरूपको अर्को पौवा पैयाँपाने कार्कीले मँयू लेकमा बनाएको थिए । त्यसबेला भारी बोक्ने भरिया, बटुवा र जोगी सन्यासी आदिलाई बास बस्न सुविधा होस भनी धार्मिक उद्देश्यले धर्मशाला बनाएका थिए । सम्भवतः उक्त धर्मशाला पनि अस्तित्व रहेको हुनुपर्छ । ती धर्मशालाको काठका थाम ढाक्रेले काटेर आगो बाल्ने गर्थे, त्यसैले कामहरू छिया छिया बनाएको देखिन्थ्यो भन्ने रामकृष्ण भनाई छ ।
रामकृष्ण कार्कीको छोरा केदार कार्कीले दिएको जानकारी अनुसार २०४०/२०४१ तिर भोजपुर सुन्तलेको धर्मशालालाई बारिपरी बारवेरा गराई स्थानीय जनताले आफ्नो छोरा छोरी साउँअक्षर पढाउन शिशु कक्षा र प्रौढ कक्षा स्थानीय स्तरमा स्वयं सेवा गर्ने युवा द्वारा पढाउने गरेको थिए । पछि आएर वन उपभोक्ता समिति र स्थानीय बासीले पौवाको संरक्षण गरी सामुदायिक उपभोक्ता समिति मिटिङ गर्ने देखेका थिए । उनकै भनाई अनुसार २०३५/ २०३६ सालमा जमिनको सर्पट नापी हुँदा उक्त धर्मशाल र त्यसको कम्पाउन्ड गरिएको क्षेत्रफल लगभग दुई तीन रोपनी थियो होला। नापीका बखतमा कसले बनाएको कसको पाटी हो भन्ने चर्चा चल्दा स्थानीय अग्रज बूढापाकाले र हेलौछाका पैयाँपाने कार्कीसँग पारिवारिक सम्बन्ध भएका रायमाझीले पैयाँपाने लामाकार्कीले उस बखत धर्म कार्यको लागि बनाएकोले पाटी कै अस्तित्व कायम राख्नु पर्छ भन्ने भनाइ आएपछि सोही अनुसार नापी नक्सामा पाटी नाममा ब्लक कायम रहेको पाइन्छ। त्यसैले स्थानीय समाजका मान्छेले सामाजिक प्रयोजनमा ल्याएको देखिन्छ भन्ने भनाई केदार कार्कीको छ। पार्टी वारिपरीको जग्गामा स्थानीयले आलु रोप्ने गर्दथे ।
सबै जातजातिको धार्मिक मठ मन्दिरहरू र पाटी पौवाको संरक्षण गर्ने जिम्मेवारी संविधानतः स्थानीय तहको हो । त्यसैले भोजपुर नगरपालिकाले आफ्नो संरक्षणमा लिई पुनर्निर्माण गरी स्थानीयस्तरमा जनसहभागितामा पर्यटनकी उपयोगमा उचित हुने देखिन्छ । जसले नगरपालिकाको आयकर श्रोत थप्न हुने धर्मशाला सञ्चालन र संरक्षण गरे आय आर्जन गर्न सकिनेछ ।
स्थानीय तहको २०७९ को निर्वाचनमा भोजपुर नगरपालिका कार्य समितिमा वडा नं. ८ वडाध्यक्षमा शैलेन्द्र कार्की दोश्रो र वडा नं १२ वडाध्यक्षमा देवीप्रसाद कार्की र वडा नं. ६ का निर्वाचन सदस्यमा सीताराम कार्की निर्वाचित हुनुभएका पनि लामाकार्की नै भएकोले समयमा आफ्नो पूर्खा लामाकार्कीहरू जसले बनाएका भएपनि चौतर्फ स्थानमा सबै जातजातिका पूर्खाले खडा गरेका सम्पदाहरूको संरक्षण गर्न पहल गर्नुपर्ने हुन्छ। उहाँहरू पदाधिकार रहँदाको अवस्थामा राष्ट्रिय सम्पदाको संरक्षण गर्न दायित्व लिई सहयोगीको भूमिका खेली काम गर्नु हुनेछ भन्ने अपेक्षा गरौँ। .
यस्ता धर्मिखर सांस्कृतिक सम्पदाहरू भोजपुर जिल्लाको विभिन्न ठाउँहरूमा रहेका जसले स्थानीय पर्यटनको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका रहने छ । यस्ता सम्पदाको संरक्षण संवर्द्धन गर्ने प्रमुख कर्तव्य हाम्रै हो । जुनसुकै समुदायले सामाजिक र धार्मिक सत्कार्यका बनाएका मठ, मन्दिरहरू, गुम्बा,पाटी, पौवा, धर्मशाला सत्तलहरू र ऐतिहासिक धारा, कुवाको संरक्षण स्थानीय जनता र उनका प्रतिनिधिले संरक्षण गर्न योगदान दिनु पर्ने प्रथम दायित्व हो । संवैधानिक रूपमै स्थानीय तह सार्वभौम अधिकार सम्पन्न जनप्रतिनिधि भएको अवस्थामा सबै तह र तप्काले आ-आफ्नो जिम्मेवारी कर्तव्य निष्ठ रहेर काम गर्नु पर्ने हुन्छ।
भोजपुरको मुन्दुम पद यात्रा मार्गमा जाने पद यात्रीले तथा अन्य स्थानहरूमा पद यात्रा गर्ने वा आफ्नै गाउँ घर वरपर रहेका यस्ता मठमन्दिर गुम्बा चौतारी र पाटी पौवा धर्मशाला देख्नु भेट्नु भएको खण्डमा त्यहाँ विश्राम लिँदा त्यहाँ लेखिएको शिला पत्र, ताम्र पत्र लेखिएको पढेर बुझेर हेरी हामीलाई यस मिडियामार्फत जानकारी दिनु भएमा प्रस्तुत अभिलेखमा यहाँहरूलाई श्रोत व्यक्तिको रुपमा प्रस्तुत गरिनेछ / गर्ने छौँ।
अन्त्यमा,
नेपाली समाज पञ्चशीलका जगमा स्थापित भएकाले परापूर्व कालदेखि नै हामी सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको भावले ओतप्रोत भएको हाम्रो सहिष्णु समाज हो । हाम्रो गाउँघरमा रहेका सम्पदाको संरक्षण आफैले गरौँ। आज हामीले नगरे भोलि अरू कसले गर्छ । आफूलाई आफ्नो समाज देशको सोझो नचिताए कस्तो भलो चिताउला । त्यसैले अरू व्यक्तिको मुख नताकी आफ्नै पौरखले हाम्रा पूर्खाहरुले जस्तै सम्पदा बनाउन र भएको संरक्षण गरौँ। स्वदेशी पर्यटकको विकास गरौँ र आन्तरिक भ्रमणको संस्कार संस्कृतिको विकासमा आफैँले गरौँ । सामुदायिक भावनाको विकासले हाम्रो सबै जातजातिका धर्म संस्कृति संस्कारको जगेर्णा हुनुहुन्छ भन्ने पुर्खौली मान्यतालाई शिरोधार्य गरौँ।
हाम्रा धर्म संस्कृति संस्कारको जय होस्।
- चण्डी कार्की
भोजपुर, गुप्तेश्वर दावाँ (चालिसे)
(हाल वानेश्वर काठमाडौं)