आइतबार ०३ चैत, २०८१

नेपाली समय

जसको जीवन बित्यो ज्ञान बाँड्दै

को हुन् माैलाना अब्दुल अजीज ?

जसको जीवन बित्यो ज्ञान बाँड्दै

(मोहम्मद जाकिर हुसैन)

जसको जीवन बित्यो बाँड्दै ज्ञान रहेनन् उनी

कति सादा थियो त्यो लाेकमै छैनन् अरू कोही

 

तिमीले छरेका शैक्षिक सदबीऊ सबै उम्रियोस्

दुआ गर्दछन् जगत् नै तिम्रो परलोक सप्रियोस्

 

यस लोकमा लिएनौ क्यै बरु दियाै मात्र थरिथरि

अलबिदा छ अल्लमा अब्दुल अजीज सिद्दिकी

मैले  चिनेका नेपालका ठूला ओलमा (इस्लामका ज्ञाता, विज्ञ) हरूमध्ये पर्छन् ऊनी । गए बिहीबार साँझ ९५ वर्षको उमेरमा यिनको देहावशान भएको छ । ​​​​​​​हजरत माैलाना अब्दुल अजीज सिद्दिकी विश्वका धेरै देशमा सञ्जाल बिस्तार गर्न सफल जमिअत ओलमाकाे नेपाल च्याप्टरका संस्थापक अध्यक्ष हुन् । केही वर्षयता ऊनी अस्वस्थ्य रहँदै आएका थिए । 

हिजो साँझ यिनका साखै नाति, रौतहटका स्थापित पत्रकार इस्तियाक अहमद र म जनकपुरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई भेटेर जनकपुरका पूर्व उपमेयर असगर अली अङ्कलकाे घरमा केही महत्त्वपूर्ण विषयहरूमा छलफल गरिरहेका थियौँ । अचानक इस्तियाककाे फोनमा दुखद खबर आइपुग्यो । खबर थियो- हजरत रहेनन् । ​​​​​​असगर काका भनिरहनुभएको थियो-  'बहुत बडे माैलाना थे ओैर वह बहुत बडे सुफी भी थे ।'

तुरुन्त मसाला कटेज पुग्याैँ । मित्र अनिलकुमार कर्णले सवारी साधनको व्यवस्था गरेर इस्तियाकलाई ढल्केवर पु-याइयाे ।​​​​​​​

इस्तियाक दुई दिनअघि राजपुरकाे मद्रसा महमुदियामा आफ्ना नाना (हजुरबुवा) लाई मिठाई खुवाएर जनकपुर आएका रहेछन् । श्वास रहँदामा यही उनको अन्तिम भेट रहेछ आफ्ना नानासँग । भारी मनले सुनाउँदै हिँडेका थिए इस्तियाक ।​​​​​​​

शाेकमग्न छ राजपुर, शाेकमग्न छ रौतहटका मुस्लिम र उनलाई चिन्ने देश-विदेशका लाखौँ मुसलमान । 

मुस्लिम बालबालिकाको शिक्षा विकासमै जीवन समर्पण गरेका थिए माैलाना अब्दुल अजीजले । लामो समयदेखि उनी नीजि घरमा होइन, राजपुर नगरपालिकास्थित मद्रसा महमुदियामै बस्थे । अति सादा जीवन बिताइरहेका थिए । हिजै जुमापछि अपराह्न राजपुर फरहदवामै उनको जनाजा (अन्त्येष्टि) पचीस-तीस हजार बढी जनताको सहभागितामा सम्पन्न भएको छ । 

को हुन् माैलाना अब्दुल अजीज ?

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

रौतहट सदरमुकाम गौरदेखि पश्चिम दिशामा रहेको घना मुस्लिम आवादी राजपुर फरहदवामा मौलाना अब्दुल अजीज सिद्दिकीको जन्म एउटा जमिन्दार परिवारमा भएको थियो, झण्डै एक शताब्दीअघि ।

उनको परिवार एक जमिन्दार खलक  थियो । उनका बाजे शेख फोदार मियाँको छोरा शेख गुल्जार मियाँ समाजमा सम्मानित  बुजुर्ग थिए । शेख गुल्जार मियाँका तीन छोरा र दुई छाेरीमध्ये जेठा थिए अब्दुल अजीज सिद्दिकी । 

अब्दुल अजीजले आफ्नै गाउँको मद्रसा महमुदियाबाट प्रारम्भिक शिक्षा हासिल गरे । यसपछि फाैकानिया र ओस्तानिया (माध्यमिक तह) को शिक्षा हासिल गर्न उनी बिहार राज्यकाे मोतिहारीमा जामिया  इस्लामिया पुगे । त्यसपछि उनी दरभंगाको मद्रसा इम्दादियामा आलिम तथा फाजिल (स्नातक) पूरा गरे । दरभंगामा फजिलत गरेपछि उनी आफ्नै गाउँ राजपुर फरहदवा फर्के । उनले पढाइ सम्पन्न गरी फर्कँदा फरहदवामा अरू कस‌ैले इस्लामी शिक्षा हासिल गरेका थिएनन् ।

पढाइ सकेर फर्केपछि उनले राजपुर फरहदवाकाे मद्रसा महमुदियामा शिक्षक भई सेवा शुरु गरे । उनले मद्रसामा सेवा दिन शुरु गर्दा त्यहाँ व्यस्थापन समितिको अध्यक्ष हाफिज शेख अब्दुल गफुर गनी थिए । त्यस्तै उपाध्यक्ष शेख हाजी वाजुल हक र कोषाध्यक्ष शेख हाजी ईश्हाक थिए । मद्रसा महमुदियामा उनले सन् १९६२  तिर नियुक्ति पाएका थिए ।

अब्दुल अजीजकाे रौतहट र देशभर न‌ै प्रसिद्धि थियो । खास गरी जमिअत ओलमा हिन्दका ठूला ठूला ओलमासँग उनको सम्बन्ध थियो । ​​​​​​​

राैतहटमा राजपुर फरहदवा त्यो बस्ती हो जहाँ वि.सं. २००९ मा राजा त्रिभुवनको सल्लाहकार सभा (संसद) का सदस्य लियाकत अली, २०१५ मा प्रतिनिधि सभा सदस्य जितेका प्रजापरिषदका नेता शेख इद्रीस जन्मेका थिए । शेख इद्रीस पछि नेपाली काँग्रेसका वरिष्ठतम् नेता थिए । उनी २०४८ मा पनि प्रतिनिधि सभा सदस्यमा जितेर दुईपटक मन्त्री भएका थिए । नेपाली काँग्रेसका नेता तथा पटक पटक मन्त्री भएका अर्का ठूला व्यक्तित्व मोहम्मद आफताब आलम पनि राजपुर फरहदवाका हुन् । यसपछि यहीँका मुस्ताक आलम पनि केन्द्रीय मन्त्री भए । 

मुस्लिम समाजका स्थापित राजनीतिकर्मीहरूकाे विचरण स्थलमा अब्दुल अजीजकाे जनतामा प्रभाव देखेर उनलाई पनि सांसद बन्ने प्रस्तावहरू आए । तर, उनले मद्रसा शिक्षा र सामाजसेवाकाे क्षेत्रलाई नै राेजे । उनले मद्रसा महमुदियाकाे भाैतिक पूर्वाधार विकासदेखि शैक्षिक विकासमा आफूलाई केन्द्रीकृत गरे । मद्रसाका सम्पूर्ण बागडाेर उनको हातमा आयो । उनको शैक्षिक योगदानले त्यस भेगमा सयौँको संख्यामा माेलवी उत्पादन भयो जो त्यहाँ र वरपरका बस्ती तथा जिल्लाहरूमा शैक्षिक, सामाजिक तथा धार्मिक कार्यहरूमा खपत भएका छन् । ​​​​​​​

माैलाना अब्दुल अजीज सिद्दिकीकै नेतृत्वमा जमिअत ओलमा नेपालको स्थापना भयो । उनी यसको संस्थापक अध्यक्ष भएपछि १२ वर्षसम्म अध्यक्षकै हैसियतमा सक्रिय रहे । यसको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ भने देशका विभिन्न जिल्लाहरूमा यसका शाखाहरू बिस्तार भएका छन् । यो संस्था मुस्लिम समुदायका ठूला केही मात्र संस्थाहरूमध्ये एक हो । अब्दुल अजीज अस्वस्थ्य रहन थालेपछि माैलाना खालिद सिद्दिकी यसका अध्यक्ष छन् ।​​​​​​​

माैलाना अब्दुल अजीज इस्लामी शिक्षाप्रति समर्पित व्यक्तित्व हुन् । उनलाई बुद्धिजीविहरूले नेपालमा उच्च काेटिकाे ओलमा र सुफीकाे रूपमा समेत बुझ्दछन् । अब्दुल अजीजले आफ्ना सम्पत्तिहरूसमेत बेचेर मद्रसा महमुदियाकाे विकासमा लगाए । उनले सधैँ इस्लामी शिक्षाले असल समाजको निर्माण हुन्छ भन्ने बुझे र त्यहीअनुसार काम गरे । टाेल टाेलमा पुगेर कृषकहरूसँग चन्दा, जकात, उसरा सङ्कलन गरे । त्यसबाट मद्रसा चलाए । मद्रसामा हजारौँ विद्यार्थीलाई आवासीय र भाेजन समेतकाे छात्रवृत्ति प्रदान गरेर  जीवनभर शिक्षा दिईरहे । उनका कार्यहरूको लामो समीक्षा हुँदै जानेछ । उनले खास गरी मुस्लिम समाजलाई चाहिने जनशक्ति निर्माण गरे । इस्लामी ज्ञानकाे केन्द्र मद्रसा शिक्षालाई एउटा उचाइमा पुर्‍याउन खोजे । सामाजिक विकृतिहरू निर्मूल पार्न खट्टिए । असहाय, गरीब, पीडितहरूको राहत केन्द्र पनि बने । ज्ञान बाँड्नु उनको जीवनको आदर्श थियो । उनी वास्तवमा त्यस समाजमा एउटा रिफर्मर थिए । पछिल्लो समय उनले आफ्नो मद्रसालाई आधुनिकीकरणमा ढाल्दै लगेका थिए  । मद्रसाकाे आफ्नो सनाख्त कायम राख्दै आधुनिक पाठ्यक्रमको पक्षमा उभिएका थिए उनी ।

प्राय: सेतो कुर्था पाइजामा र मद्रसामा हुँदा लुङ्गी कुर्था लगाउने माैलाना अब्दुल अजीजकाे जीवनशैली अति सरल थियो । उनमा तडकभडक र सम्पत्ति आर्जन गर्ने शाैक कहिल्यै भएन । उनको खानपीन, लवाइखवाइ, रहनसहन सबै निकै पारदर्शी र सरल रह्यो । प्राय: नीजि भाैतिक सम्पत्ति बेच्दै मद्रसाकै विकास र उन्नतिमा लगाए । कुनै सांसारिक लालसाबाट अभिप्रेरित थिएनन् उनी । न उनले आफ्नो प्रचारबाजी नै चाहे । जीवनभर उनी लाे प्राेफाइलमै बस्न रुचाए ।​​​​​​​

टमाैलाना नेपालमा मुस्लिम समुदायको सामुदायिक एकताको पक्षधर थिए । २०६९ सालमा देशभरका सर्वपक्षीय मुस्लिम समुदायको साझा प्लेटफर्म राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनको स्थापनाको राष्ट्रिय भेलाकाे अध्यक्षता गर्ने शाैभाग्य उनैले पाएका थिए । किनकि उनी निर्विवादित र सर्वमान्य व्यक्तित्व थिए । उनको यो पहिचान जीवनभर कायम रह्यो । राैतहटमा उनलाई आफ्नो समुदायमा बच्चा बच्चाले चिन्छन् र सम्मान प्रकट गर्छन् । उनको पुकारमा पुरै रौतहट झुम्मिएकाे हेर्न सकिन्छ ।​​​​​​​

झन्नै एक शताब्दी संसार देखेका माैलाना अब्दुल अजीज सिद्दिकीकाे देहावशानले काैमलाई सर्वत्र स्तब्ध बनाएको छ । एउटा युगपुरुषकाे अवशान भएको छ । अपुरणीय सामुदायिक क्षति भएको छ ।

लेखक: पूर्व मन्त्री मोहम्मद जाकिर हुसैन