मंगलबार ०१ माघ, २०८१

नेपाली समय

राष्ट्रियसभा बैठक: मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा सांसदको जोड

राष्ट्रियसभा बैठक: मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा सांसदको जोड

काठमाडौँ, २९ जेठ । राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरुले कृषिप्रधान मुलुकले खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने र यसकार्यमा राज्यले विशेष ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभाको आजको विशेष समयमा नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटाले कृषिप्रधान मुलुक भनिए पनि खाद्यान्नमा परनिर्भर हुनु परेको उल्लेख गर्दै आत्मनिर्भर बन्ने गरी सरकारले विशेष कार्यक्रम अगाडि सार्नुपर्ने बताउनुभयो । “कृषिप्रधान देश हो तर हामी आफैँले खान पुग्नेगरी खाद्यान्न तरकारी फलफूल पनि उत्पादन गर्न सकिरहेका छैनौँ, परनिर्भर हुनुपरेको छ”, सांसद सापकोटाले भन्नुभयो, “प्राकृतिक स्रोतहरु परिचालन गर्न जानेका छैनौँ, प्लाष्टिकजन्य सामग्रीलाई बढी कर लगाउनुपर्छ, नेपालकै दुनाटपरी प्रयोग गर्नुपर्छ, जसलेगर्दा मुलुक आत्मनिर्भर हुन्छ । यस विषयमा सरकारको ध्यान जाओस् ।” जलवायु परिवर्तनका कारण हिमाल कालापहाडमा परिणत भएका, धेरै नागरिक पहाडबाट तराई झरेका र तराईमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएका तर्फ पनि सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुमित्रा विसीले मुलुकलाई आत्मनिर्भर बनाउने किसिमका उद्योगधन्दा र कृषिजन्य उत्पादन बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । “मुलुकलाई आत्मनिर्भर बनाउन कृषिमा लगानी गर्नुपर्छ, कृषिमा आधारित उद्योगभन्दा खोल्नुपर्छ”, उहाँले भन्नुभयो, “समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्नका लागि मुलुकलाई विकासको बाटोमा डो¥याउन जरुरी छ ।” उहाँले भूकम्प प्रभावितलाई अझै घर निर्माण नभएका र पहिलो किस्ता पनि ६० प्रतिशतले नपाएको गुनासो आइरहेको उल्लेख गर्दै टिनको टहरामा बस्नुपर्दा गर्मी, सर्पको डर र विभिन्न खालको हिंसा हुने खतरातर्फ पनि सरकार सचेत हुनुपर्ने बताउनुभयो ।

 नेपाली कांग्रेसका नारायणदत्त मिश्रले बजेटमा प्रभावशाली नेताका जिल्लामा धेरै बजेट र अरु नेताहरुको जिल्लामा बजेट नै नभएको गुनासो गर्दै आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।  उहाँले सरकारी विद्यालयमा तालिममा धेरै खर्च गरिए पनि शिक्षण सिकाइमा धेरै सुधार हुन नसकेकोकाले यस विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा राख्नुभयो । साथै, उहाँले सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

एमालेका सोनाम गेल्जेन शेर्पाले जलवायु परिवर्तनले विकराल अवस्था ल्याएको भन्दै सगरमाथाको आधार शिविरमा फोहरमैला व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।  उहाँले जलवायु परिवर्तनका कारण हिमालमा गम्भीर असर परेकाले न्यूनीकरणका लागि प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उर्मिला अर्यालले राज्यको आर्थिक स्रोतको दुरुपयोग गर्दै राजनीतिक पहुँच बढाउनेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले झोलुङ्गे पुलको नियमित मर्मत गर्ने, विकल्पमा पक्की पुल बनाउनुपर्ने र विगतमा लापरबाही गरेका ठेकेदारहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का मदनकुमारी शाह (गरिमा)ले भूकम्प प्रभावित क्षेत्रजस्तै सल्यान, रुकुमपश्चिम र जाजरकोटको पुनःनिर्माणमा तीव्रता दिन माग गर्नुभयो ।

सांसद विष्णुबहादुर विश्वकर्माले कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको बीचमा रहेको झोलुङ्गे पुलको लट्ठा चुडिँदा १४ वटा खच्चड पुलमा परेका र समयमा उद्धार गर्न नसक्दा दुई खच्चडको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभयो । झक्कुप्रसाद सुवेदीले खास परिस्थितिमा देशमा निरासा देखिनु स्वभाविक भएको उल्लेख गर्दै सबैले निरासा बाँड्ने काम गर्न नहुनेमा बताउनुभयो । उहाँले नयाँ पार्टीहरु पुराना पार्टीको वितृत्णाको कारण नभई नेपालको संविधानले गरेको व्यवस्थाअुनसार आएको र अब संविधान रक्षाका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

यस्तै, सांसद विष्णुदेवी पुडासैनीले महँगी बढ्दै गएको तर निरीक्षण तथा अनुगमनको कुनै पनि व्यवस्था नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विकास निर्माण, सडक, पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।