सोमबार ०३ असार, २०८१

नेपाली समय

जलवायु परिवर्तन र आर्थिक अस्थिरताप्रति उपराष्ट्रपतिद्वारा चिन्ता व्यक्त

जलवायु परिवर्तन र आर्थिक अस्थिरताप्रति उपराष्ट्रपतिद्वारा चिन्ता व्यक्त
फाइल फोटो

पाटन (ललितपुर), २९ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरताप्रति चिन्ता व्यक्त गर्नुभएको छ । 

मध्यपश्चिम र नेपाल खुला विश्वविद्यालयको आयोजनामा यही जेठ ३२ गतेसम्म सञ्चालन हुने ३०औँ दिगो विकास अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज ललितपुरमा आयोजित उद्घाटन समारोहमा उहाँले पछिल्लो समय विश्वले सामना गर्दै आएका जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरतालगायत चुनौती विशाल र जटिल बन्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको हो ।

“जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता हाम्रो मुख्य चुनौती हो, यद्यपि, यी चुनौतीभित्र समाज र अर्थतन्त्रलाई समान र दिगो रूपमा रूपान्तरण गर्ने महत्त्वपूर्ण अवसर पनि रहेका छन्”, उहाँले भन्नुभयो, “नवीकरणीय ऊर्जा प्रवर्द्धन, वन संरक्षण, दिगो कृषि र पर्या–पर्यटनमार्फत ग्रामीण समुदायलाई सशक्तीकरण गर्ने नेपालको प्रयास वातावरणसँग सुमधुर सम्बन्ध कायम गर्ने केही महत्त्वपूर्ण उदाहरण हुन् ।”

विश्व नै जलवायु परिवर्तनको चपेटामा परेकाले यसको असर न्यूनीकरणमा एउटा देशको प्रयासले मात्र नपुग्ने उहाँको भनाइ थियो । उहाँले कुनै पनि राष्ट्रले विश्वव्यापी चुनौतीलाई एक्लै सम्बोधन गर्न नसक्न भन्दै यी सबै चुनौतीको विश्वव्यापी समाधान आवश्यक रहेकोमा जोड दिनुभयो । 

उपराष्ट्रपति यादवले सम्मेलनले विश्वव्यापी सहयोगको भावना अभिवृद्धि गर्दै सुनौलो र दिगो भविष्य निर्माणका लागि साझा प्रतिबद्धताका साथ अघि बढ्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । “नेपालको समृद्ध संस्कृति र प्राकृतिक वैभवस्थलमा भइरहेको यो जमघटले मानव सभ्यता र प्रकृतिबीचको दयनीय अवस्थालाई सन्तुलन कायम गर्न सक्नुपर्दछ । दिगो विकासप्रति हाम्रो प्रतिबद्धता छँदैछ, सिङ्गो पृथ्वीको संरक्षण गर्दै भाविपुस्ताको भविष्य सुरक्षित राख्न पनि हामी कटिबद्ध छौँ ।”

उहाँले विभिन्न अनुसन्धान पृष्ठभूमिसहितका विज्ञहरू यो सम्मेलनमा आ–आफ्ना ज्ञान, रणनीति र अनुसन्धान साझा गर्न भेला भएको जानकारी पाएर आफूलाई खुसी लागेको बताउनुभयो । “म तपाईंहरू प्रत्येकलाई सक्रियरूपमा छलफलमा संलग्न हुन, आफ्ना वैज्ञानिक तथ्य साझा गर्न र नवीन समाधान प्रस्तुत गर्न आग्रह गर्दछु, “उहाँले भन्नुभयो, “परम्परागत ज्ञान प्रणालीको महत्व, नवीकरणीय ऊर्जाको भूमिका, संरक्षण प्रयासको आवश्यकता र दिगोपनलाई सम्बोधन गर्न अत्याधुनिक प्रविधिलाई पनि आत्मसात् गर्दै अगाडि बढ्न आवश्यक छ ।” उहाँले नेपाल दिगो विकास क्षेत्रको समस्याको अभिनव समाधान र सहयोगको पक्षमा रहेको बताउनुभयो । सम्मेलनमा ५० देशका तीन सयभन्दा बढी प्राध्यापक वैज्ञानिक, अनुसन्धानकर्ता र नीतिनिर्मातालगायत सहभागिता छ ।