बुधबार ०२ माघ, २०८१

नेपाली समय

निर्माण भइरहेको भवन र नालामा गुणस्तरहीन सामग्री प्रयोग

निर्माण भइरहेको भवन र नालामा गुणस्तरहीन सामग्री प्रयोग

रौतहट, २४ जेठ । जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ टिकुलियामा निर्माण भई रहेको सामुदायिक भवन र नालामा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भई रहेको स्थानीयहरूले बताएका छन्।

चालु आर्थिक वर्षको स्वीकृति कार्यक्रम अन्तर्गत प्रदेश सरकारको भौतिक विकास मन्त्रालयको बजेटबाट निर्माण भईरहेको जयराम सहनीको घरदेखि बच्चा दासको घरसम्म नाला निर्माण तथा सर्वहारा उत्थान युवा समूहको जग्गामा निर्माण भईरहेको सामुदायिक भवनमा उपभोक्ता समितिले कमसल इँट तथा लागत इस्टिमेट विपरीत सिमेन्ट बालुवा प्रयोग गरिरहेको स्थानीयहरूको आरोप रहेको हो।

दिपा सहनी मल्लाह अध्यक्ष, रोशन गिरि सचिव र आशा कुमारी देवी कोषाध्यक्ष रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका पूँजीगत बजेट ३१ लाख २४ हजार ४६२ रुपैयाँको लागतमा नाला निर्माण तथा दिपु कुमार सहनी अध्यक्ष, धर्मेन्द्र सहनी सचिब र रिना देवी कोषाध्यक्ष रहेको उपभोक्ता समितिले १० लाख १० हजार ८४० रुपैयाँको लागतमा निर्माण गराई रहेको सामुदायिक भवनमा कमसल निर्माण सामाग्री प्रयोग गरी रहेको स्थानीय आंशिक सहनीले आरोप लगाएको छ।

प्रदेश सरकारको बजेट दुरुपयोग गर्ने उद्देश्यले दुवै योजनामा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गर्ने गरेकोले सम्बन्धित निकायले समय मै अनुगमन गर्नु पर्ने स्थानीय बच्चा दासले माग गरेका हुन् ।

लागु रहेको योजनामा प्राविधिकको निगरानी हुनु पर्नेमा पूर्वाधार विकास कार्यालय रौतहटले कुनै चासो नदेखाएको आरोप स्थानीय रामाकान्त रायको रहेको हो। दुवै योजनामा प्रयोग भई रहेको कमसल निर्माण सामाग्रीले नाला तथा भवन टिकाउ हुन नसक्ने भनाई स्थानीयहरूको रहेको छ।

नाला निर्माण तथा सामुदायिक भवन निर्माणमा भईरहेको अनियमितता बारेमा छानबिन गरी कार्यवाही गर्नको लागि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरिएको बुझिएको छ।