बुधबार ०२ माघ, २०८१

नेपाली समय

ईशनाथ नगरपालिकामा कमिसन नदिँदा भुक्तानी दिन आलटाल

ईशनाथ नगरपालिकामा कमिसन नदिँदा भुक्तानी दिन आलटाल

रौतहट, २४ जेठ । आर्थिक वर्ष सकिनै लाग्दा रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका लेखापाल मनोज ठाकुर चर्को कमिसन बिना भुक्तानी दिन आलटाल गर्ने गरेको आरोप लागेको छ । तत्कालीन कार्यालय प्रमुख भुवदेव झाको सरुवा भएसँगै ठाकुर कमिसन असुलीको कार्यलाई तीव्रता दिएको उनी माथि आरोप लागेको छ । लेखापाल ठाकुरको कमिसन बारे विभिन्न स्थानीयहरूले समेत सामाजिक सञ्जाल मार्फत विरोध जनाएका छन् ।

करिब ५ वर्ष देखि ईशनाथ नगरपालिका मै रहेर कामकाज गर्दै आएका ठाकुर माथि बेला बखत यस किसिमको गम्भीर आरोप लाग्दै गर्दा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयहरूको आरोप रहेको छ । आर्थिक मसान्त भरी हुने गरेका विकास निर्माण कार्यको भुक्तानी अन्तिममा दिने ठाकुरको पुरानै शैलीका कारण स्थानीयहरू दिन प्रतिदिन पीडित बन्दै गएका छन् । सम्पन्न योजनाहरूको भुक्तानी रोकेर अन्तिममा भुक्तानीको चटारो भएको बेला मोटो कमिसन असुल गर्ने लेखापाल ठाकुरको दाउ रहेको स्थानीयहरूले बताए ।

मनोज ठाकुरले ईशनाथ नगरपालिका अन्तर्गतका योजनामा भुक्तानी गरे बापत ४० प्रतिशत सम्म कमिसन माग्ने गरेको आरोप रहेको छ । ५ वर्ष सम्म निरन्तर एउटै पालिकामा काम गरी ठाकुरले गौरमा मात्रै ४ करोड भन्दा बढीको मूल्याङ्कन रहेको ३ तल्ले आलिसान घर समेत जोडेका छन् जुन उनको आमदानीको श्रोत भन्दा बढीको रहेको जानकारहरू बत्ताउँछन् ।

यस बारे राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागको ध्यानाकर्षण हुनु जरुरी रहेको देखिन्छ ।