रौतहट, २२ जेठ । जिल्लाको राजपुर नगरपालिकामा एक जना पुरुषको घाँटी रेटेर बिभत्स हत्या गरिएको अवस्थामा शव बरामद भएको छ।
राजपुर-१ पिपरा भगवानपुर चोक देखि आधी किलोमिटर पूर्व बहुअर्वा देखि ५०० मिटर उत्तर पिपरा देखि आधी किलोमिटर दक्षिण हुलाकी सडक खण्डमा स्थानीय जितु राय यादवको खेतमा ४५ वर्षीयको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
घटना प्रकृति अनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन्। मृतकको गोजीबाट प्राप्त कागजपत्रमा भारत बिहार मोतीहारीको नाम ठेगाना बताइएको छ।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रवक्ता गिरीले बताइन् । शवको केही अगाडि सिजे ०१ एजे २५६८ नम्बरको बरामद मोटरसाइकल भारतको मोतीहारी जिल्ला मठिया ग्रामका रविन्द्र सिंहको नाममा दर्ता रहेको हुँदा भारतीय नागरिकको हत्या गरिएको अनुमान रहेको हो।
अन्य ठाउँबाट हत्या गरेर त्यहाँ फालेको हो भन्ने खुल्न सकेको छैन। हत्या कसले र किन गरेको हो त्यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव र मोटरसाइकल बेवारिसे अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।