रौतहट, १५ जेठ । जेठ महिनाको प्रचण्ड घामसँगै चिलचिलाउँदो गर्मीको कारण विद्यालयमा अध्ययन गर्ने स साना बालबालिकाहरू मुर्छा पर्न थालेका छन् । वृन्दावन नगरपालिका वडा नम्बर ७ स्थित सखुअवा घमौरा गाउँमा रहेका श्री रुपा नेपाली पाल माध्यमिक विद्यालयमा सोमवार बिहान अत्याधिक गर्मीबाट एक बालिका मुर्छा परेका छन् ।
वृन्दावन नगरपालिकाको नगरप्रमुख विनोद प्रसाद पटेल सँग वास्तविकता बुझ्दा ती बालिकालाई छारे रोगको कारण मुर्छा परेको बताए । अत्यधिक गर्मीमा छारे रोगबाट ग्रसित रहेका बिरामीहरू मुर्छा पर्ने गरेको उनले भने ।
बिहान सूर्योदय हुन साथ झुल्किने प्रचण्ड घाम सँगै चिलचिलउँधो गर्मीको कारण जिल्लाको सामान्य जनजीवन प्रभावित बनेको हो । अत्यधिक गर्मीले गर्दा सर्वसाधारण जनताहरू काम विशेषले घरबाहिर निस्कन छाडेको हो । सरकारी कार्यालयमा काम गराउने सेवाग्राहीहरू निकै पातलिएको छ । बजार क्षेत्रमा सूर्यास्त पछि चहलपहल हुने गरेका छन् ।
विगत तिन चार दिन देखि निरन्तर रूपमा ४०/४१ डिग्री तथा सोको आसपास तापमान रहँदा आम मानिसको जनजीवन नराम्ररी प्रभावित हुँदै गएका हो । आइतबार बौधीमाई नगरपालिका वडा नम्बर ८ सरमुजवाका ५५ बर्षिय जयमंगल यादव गर्मीबाट लतपतिएर देवाही गोनाही मौलापुरलाई जोड्ने लाल बकैया पुलमा एक छिन थकाई मार्दा त्यही ढलेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख रामविनय कुमार सिंहले जिल्लाको १८ वटै पालिकामा रहेका सामुदायिक विद्यालयहरूलाई बर्षे बिदाबाट कट्टा गरेर अहिले बालबालिकालाई सुरक्षित राख्न सर्कुलर जारी गरेका छन् ।
इकाई प्रमुख सिंहद्वारा हस्ताक्षरित परिपत्रमा केही दिन देखि बढेको अत्यधिक गर्मीको कारण विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरू मुर्छा पर्ने तथा अन्य लक्षणहरुले ग्रसित भईरहेको हुँदा बर्षे बिदाबाट कट्टा हुने गरी विद्यालयमा अध्ययन अध्यापनको व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।