काठमाडौँ, १४ जेठ । त्रिवि शिक्षण अस्पताल आर्थिक बेथितिको चाङ्मा डुबेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को हिसाबमा अस्पतालको बैंक खातामा रहेको मौज्दात २ करोड ८५ लाख ९८ हजारले घटी रहेको र बैंक हिसाब मिलान नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
अस्पतालको नेपाल बैंकको खातामा ३३ लाख ३४ हजार र हिमालयन बैंकको खातामा २ करोड ६४ लाख ६९ हजार रकम नपुग देखिएको हो । अस्पतालको खर्चमध्ये ५४ करोड ९५ लाख २३ हजार पेश्की बाँकी रहेको देखिएको छ । अस्पतालको वित्तीय विवरण अनुसार बैंक तथा नगद मौज्दात १ अर्ब १ करोड ४२ लाख ५० हजार हुनुपर्नेमा बैंकमा बाँकी मौज्दात १२ करोड ३९ लाख ५२ हजार घटी रहेको पनि प्रतिवेदनले औँल्याएको छ ।
प्रोत्साहन भत्ताका नाममा ९ करोड
आर्थिक वर्ष २०७७/७८ मा अस्पतालको काममा खटाएको प्रमाण र विद्युतीय हाजिरी अभिलेखबेगर ९ करोड ८२ लाख २७हजार खर्च गरेको र अभिलेख यकिन गरी प्रमाणित नभएमा असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनले औँल्याएको छ । यस्तै सोही वर्ष १२ करोड ३६ लाख रकमान्तर स्वीकृति बेगर भएको पनि प्रतिवेदनमा उल्लेख छ ।
सोझै खरिदमा अनियमितता
निकाय प्रमुखले पाँच लाख सम्मको लागत अनुमान भएको मालसामान वा परामर्श सेवा सोझै खरिद गर्न सक्ने नियममा व्यवस्था भएपनि एक आर्थिक वर्षमा एकै पटक वा पटक पटक गरी सीमाभन्दा बढी रकमको वा एउटै व्यक्ति वा फर्म, कम्पनी वा संस्थाबाट एक पटकभन्दा बढी सोझै खरिद गर्न नसक्ने व्यवस्था रहेकोमा अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा अस्पतालले खरिद कार्य गर्दा नियमको पालना नगरी २३३ पटक विभिन्न औषधिजन्य सामग्री सोझै खरिद गरी ५ करोड ७८ लाख ४५ हजार खर्च गरेको पाइएको छ ।
यसैगरी आ.व. २०७७/७८ मा मात्र ३ करोड ५२ लाख ५९ हजारको विभिन्न औषधी तथा औषधिजन्य सामग्री उपकरण सोझै खरिद गरेको पाइएको पनि प्रतिवेदनले औँल्याएको छ ।
साथै सार्वजनिक निकायले प्रत्येक वर्ष बोलपत्र आव्हान गरी प्रतिष्पर्धात्मक तवरबाट खरिद गर्नुपर्ने व्यवस्था हुँदाहुँदै अस्पतालले विगत वर्षको खरिद सम्झौताको दरलाई आधार मानी १० करोड ६९ लाख ८७ हजारको मालसामान, औषधि तथा सर्जिकल उपकरण सोझै खरिद गरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।
अस्पतालले भुक्तानीमा ५ प्रतिशत अग्रिम आयकर कट्टी गर्नुपर्ने ६१ लाख ८ हजार आयकर कट्टी नगरेकोले सो समेत असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।