रौतहट, ९ जेठ । प्रहरीले चेकजाँच गर्ने क्रममा ईशनाथ नगरपालिकाबाट स्रोत नखुलेको दुई लाख रकम सहित एक जनालाई पक्राउ गरेको छ । ईशनाथ नगरपालिका वडा नं.४ लतमरी स्थित सडक खण्डमा चेकप्वाईन्ट राखेर आवतजावत गर्ने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जानकारी दिएको हो ।
प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी चेकजाँच टोलीले ईशनाथ न.पा.वडा नं. ५ बस्ने ३१ को सन्तोष कुमार साहको साथबाट स्रोत खुलाउन नसकेको नेपाली रुपैया बरामद गरेको जनाए। भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको नं.को मोटरसाइकल रोकी चेकजाँच गर्दा साहको साथबाट २ लाख ९ सय ६० नेपाली र ७६५ भारु फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिए ।
बरामद भएको रकम , मोटसाईकल सहित साहलाई आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले बताए । नेपालमा हुन्डी मार्फत रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो । विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ ।
नेपालमा हुन्डी मार्फत रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य मानिएको छ ।तर नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत पछिल्लो समय यहाँ हुण्डी कारोबार हुने गरेको स्थानीयको भनाई रहेको हो । सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले हुण्डी कारोबारलाई निरुत्साहित गर्न निगरानी बढाउँदै आएको हो । पछिल्लो तथ्याङ्क हेर्दा रौतहटको सीमावर्ती क्षेत्रमा हुण्डी कारोबार मौलाएको देखिन्छ । अवैधानिक मानिएको यस कार्य लुकीछिपी गर्ने समूह नै भएकाले यस तर्फ सरोकारवाला निकायले ध्यान दिनु पर्ने स्थानीयको माग हो ।
हुण्डी कारोबार गर्नेहरूले कुनैपनि देशको कानून अनुसार रेमिट्यान्स कारोबार गर्नका लागि स्वीकृति लिएका हुँदैनन् । त्यसैले रकम हिनामिना भएमा कानुनी उपचार पाउन समेत कठिन छ । जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको रकम बरामद गर्दै आएको हो ।