मंगलबार ०४ असार, २०८१

नेपाली समय

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन, ५ जेठ । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट घडियाल गोहीका दुई सय ४७ अण्डा सङ्कलन गरिएका छन् । गोही प्रजनन केन्द्रमा कोरल्नका लागि जोखिममा परेका गुँडहरूबाट अण्डा सङ्कलन गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

राप्तीमा भेटिएका १९ मध्ये हात्तीलगायत वन्यजन्तु र मानवबाट जोखिम हुनसक्ने उच्च जोखिममा रहेका आठवटा गुँडबाट अण्डा सङ्कलन गरिएको र सुरक्षित रहेका गुँडहरूलाई प्राकृतिकरूपमा चल्ला कोरल्न छाडिएको उहाँले बताउनुभयो । 

तिवारीका अनुसार सङ्कलन गरिएका अण्डालाई निकुञ्जको मुख्यालय कसरामा बच्चा कोरल्नका लागि राखिएका छन् भने २० वटालाई इन्कुभेटरमा ३२ डिग्री तापक्रममा राखिएका छन् । एउटै तापक्रममा राख्दा भाले निस्कन सक्ने भएकाले ती अण्डालाई इन्कुभेटरमा र अन्यलाई प्राकृतिकजस्तै गरी बालुवामा राखिएका हुन् ।

ती अण्डाबाट यसै महिना बच्चा कोरल्ने छन् । निकुञ्जको कसरास्थित प्रजनन केन्द्रमा भाले प्रजननयोग्य नहुँदा त्यहाँ पालिएका अण्डाबाट भने विगत केही वर्षयता चल्ला कोरल्न सकेको छैन । प्रत्येक वर्ष राप्ती र नारायणी नदी किनारका जोखिमा परेका गुँडहरूबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा बच्चा कोरल्ने गरिन्छ । यसरी कोरलिएका बच्चा हुर्काएर विभिन्न नदीहरूमा छोड्ने गरिन्छ ।

यस वर्ष एक सय पाँचवटा गोही राप्ती नदीमा छाडिएका छन् । प्राकृतिक बासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकाले घडियाल गोहीको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिन्छ । विसं २०३५मा स्थापना गरिएको घडियाल गोही प्रजनन केन्द्रबाट हालसम्म एक हजार नौ सय ५७ वटा गोही देशका विभिन्न नदीमा छाडिएका निकुञ्ज कार्यालयले जनाएको छ । 

हालसम्म राप्ती नदीमा एक हजार दुई सय दुई, नारायणी नदीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कालीगण्डकीमा ३५,  कर्णालीमा ४१, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छोडिएका छन् ।

घडियाल प्रजनन केन्द्रमा हाल छ सय २२ गोही छन् । अन्य नदीमा गोही संरक्षण हुन नसकेपछि पछिल्ला वर्ष नारायणी र राप्तीमा मात्र गोही छाड्ने गरिन्छ । अहिले राप्ती र नारायणी नदीमा तीन–तीनवटा भाले गोही छन् । घडीयाल प्रजनन केन्द्रमा हाल दुई भाले गोही छन् । ती बूढा भएर प्रजननयोग्य छैनन् ।

प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिए पनि गोहीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुनसकेको छैन । मानवीय गतिविधि र नदीसँगै बगेर भारत पुगेका गोही नफर्किनुले पनि संरक्षणमा बाधा पुगेको जानकारहरूको बुझाइ छ । नदीबाट जथाभावी ढुङ्गा, गिट्टी निकाल्ने, माछा मार्ने जालको प्रयोगलगायतबाट पनि गोही प्रभावित हुने गरेका छन् ।