रौतहट, १ जेठ । जिल्लाको वनबाट हुने काठ चोरी तस्करीमा भारतीय नम्बर प्लेटका सस्तो र पुराना गाडीको प्रयोग हुने गरेको पाइएको छ। डिभिजन वन कार्यालय रौतहटले भारतीय नम्बर प्लेटको एक स्कार्पियो भित्र तीन थान गोलिया बरामद गरेको थियो।
यसभन्दा अघि पनि भारतीय नम्बर प्लेटकै स्कार्पियो गाडी र काठ बरामद भएको थियो । रौतहटको राष्ट्रिय वन क्षेत्र तथा सामुदायिक र साझेदारी बन भित्र काठ कटान गरेर तस्करी गर्नका लागी भारतीय नम्बर प्लेटका जिप,भ्यान को प्रयोग हुने गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ। गएको १० महिनाको अवधिमा डिभिजन वन कार्यालय रौतहटले वनबाट काठ चोरेर लाँदै गरेको अवस्थामा चारवटा पिकअप भ्यान बरामद गरेको थियो ।
नक्कली नम्बर प्लेट राखेर काठ चोर्न प्रयोग भएका चारवटा पिकअप भ्यान र दुईवटा भारतीय नम्बर प्लेटका स्कर्पियो काठसहित बरामद भएको डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत बिमल ठाकुरले बताए ।
वन कार्यालयले गस्ती तीव्र पारेका कारण काठ चोरी तस्करीमा प्रयोग भएका सवारी साधनहरू बरामद भएको डिभिजन वन कार्यालय रौतहटका डिएफओ शैलेन्द्र कुमार मिश्रको भनाई रहेको छ।
१० महिनाको अवधिमा डिभिजन वन कार्यालय रौतहटले काठ चोरी तस्करीमा प्रयोग भएका चारवटा पिकअप भ्यान दुईवटा स्कारपियो, सातवटा ट्रेक्टर, दुईवटा टायर गाडा र पाँचवटा मोटरसाइकल बरामद गरेको डिएफओ मिश्राले जानकारी दिए ।