बिहीबार ०१ फागुन, २०८१

नेपाली समय

खिम्दुङ राई जातीको परिचय र विवाह संस्कारको एक विवेचना

खिम्दुङ राई जातीको परिचय र विवाह संस्कारको एक विवेचना

पृष्ठभूमि:

वरमेको गुणी पुत्रो न च मूर्खशतान्यपि।

एकश्चन्द्रस्तमो हन्ति न च तारागणोऽपि च॥

अर्थ– शय मूर्ख पुत्र (सन्तान्) भन्दा त एक गुणवान् पुत्र (सन्तान्) राम्रो । एक्लै चन्द्रमा अन्धकारलाई नाश गर्छ, तर ताराहरूको समूहले अन्धकार नाश गर्न सक्दैन ।

साधारण र बोलीचालीको भाषामा भन्ने हो भने नैतिक शिक्षा त्यस्तो शिक्षा हो जसले चन्द्रले जस्तै अन्धकार हटाउँदै शीतला प्रदान गरी प्रकाशित पुञ्जमा हामीलाई एक सूत्रमा आबद्ध गरेको छ । कुशल नेतृत्व जन्माउन हामी प्रेरित हुनुपर्छ । त्यसैका लागि नेपाल र नेपालीहरू जहाँ रहेको भएपनि नेपाली मनले नेपालको सामुदायिक अध्ययन गर्न  गराउन सकिएमा सामाजिक सह अस्तित्वको विकास हुन्छ भने हाम्रा सनातनदेखि चलेका कुनैपनि परम्परा संस्कार हराउन पाउने छैनन् । हामी प्राकृतिक श्रोत साधनले जति धनी छौ त्यति गरिब परनिर्भर सोचले चलेका छौं । हाम्रो सनातन परम्पराले पौरखी र आत्मनिर्भरतामा बाच्न सिकाएको छ । जहाँ बसेपनि प्राकृतिक पूजकलाई नै धरतीका सन्ततिहरू मानिन्छ । यसर्थ आफै गरे जे पनि गर्न सकिन्छ ।

 नेपालको जनगणना अनुसार जम्मा १४२ जात जातिहरू  छन् । जसमध्ये भाषिक रूपमा मातृभाषा बोल्नेको सङ्ख्या १२४ भाषाभाषी रहेका छन् भने कतिपय जाती भाषा लोपोन्मुख भएको देखिन्छ । (वि.सं. २०७८ (२०२१) को राष्ट्रिय जनगणना National Report on Caste/ethnicity, Language & Religion पृष्ठ १) 

किराँत राई जाति भन्नाले "जाती एक भाषा अनेक'' जातीकारुपा चिनिएका छन्। (गणेश राई पदम राई) । यसरी हेर्दा भाषिक आधारमा धेरै थरीका मातृ भाषाभाषी बोल्ने जातिका रूपमा स्थापित भएको किराँत राई जाति हो भन्न सकिन्छ । भाषाभाषीको वैज्ञानिकता अध्ययन गर्ने पाटो भाषाविद्को हो । अहिलेसम्म राष्ट्रिय जनगणना २०६८ र २०७८ जनगणनामा मातृ भाषा समूहको जनसाङ्ख्यिक आधारमा  राष्ट्रिय जनगणना २०६८ र २०७८ जनगणनामा किराँत राई भाषा २८ वटा भाषा बोल्दछन् । (वि.सं. २०७८ (२०२१)को राष्ट्रिय जनगणना National Report on Caste/ethnicity, Language & Religion पृष्ठ १) 

यही प्रा.डा. नोवेल किशोर राईको कार्य पत्रमा राईहरू २८ वटा भाषा बोल्दछन् मत प्रकट गरेको देखिन्छ । (१ (प्रा.डा. विष्णु राईको नेपाल प्रज्ञा प्रतिष्ठानले २०७१ मा प्रकाशित किराँत सभ्यता: उभौली/ उधौली पर्व मानवशास्त्रीय अध्ययन)

"अन्य जति सम्प्रदायको जस्तो सानो ठूलो वर्ग विभेद राई जातिमा पाइँदैन । यदि नेपालमा सानो ठूलो जातको विभेद नभएको किराँत राई जाति मात्र हो । किराँत राई जाति भित्र अनेक प्रकारका पाछा समूहका उप-पाछा भिन्नाभिन्नै प्रकारका हुने गरेको पाइन्छ ।"

नेपालमा किराँत समुदायको प्रागैतिहासिक पृष्ठभूमि रहेको तथ्य कतै लुकेको छैन । प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित "किराँत सभ्यता: उभौली/उधौली पर्व मानव शास्त्रीय अध्ययनमा २०७१ ''मा प्रा.डा विष्णु राईले उल्लेख गर्नु भएको देखिन्छ । किराँत राई जातजातीहरूको धेरै किसिमका थर उप-थर पाछाहरू छन्। "

दश किराँत (राई) "एक चुलो'' भन्ने भनाई प्रसिद्ध छ । किराँत राईका पाछा तथा थरहरूमा धेरै थर र उप-थर पाइन्छ । अन्य जति सम्प्रदायको जस्तो सानो ठूलो वर्ग विभेद राई जातिमा पाइँदैन । यदि नेपालमा सानो ठूलो जातको विभेद नभएको किराँत राई जाति मात्र हो । किराँत राई जाति भित्र अनेक प्रकारका पाछा समूहका उप-पाछा भिन्नाभिन्नै प्रकारका हुने गरेको पाइन्छ । प्रा.डा. विष्णु राईको सङ्कलन अनुसार राई थरका पाछा विवरण यस प्रकार प्रस्तुत गरेको पाइन्छ। जसमा अन्य किराँत राई सहित ४८ थर तीनको पाछा आँकलन गरी विवरण दिइएको छ: 

१. इसाराको  ११ पाछा,  २. किन्दाङको  २ पाछा  ३. हाङखिमको १२ पाछा,  ४. एवैछाको  ६ पाछा, ५. माम्पाहाङको २२ पाछा,  ६. राई पाछको ३ पाछा, ७. छाङछाको  ६ पाछा,  ८. टाङलुवाको ६ पाछा,  .माकाराको ७ पाछा, १०. लुगुनको ७ पाछा ११. साम्सोङको १० पाछा १२. तिलुङ राईको ५ पाछा, १३. जेरोङ(जेरो) राईको ५ पाछा, १४. वाक्खिमको ४ पाछा १५. बुङछेङको ४ पाछा, १६. बाछानाको ३ पाछा, १७.  ६ पाछा, १८.गौराको ४ पाछा , १९. खावाहाङको ४ पाछा, २०. मानेको ३ पाछा, २१. नैकाको ३ पाछा, २२. नामदुङको पाछा ३, २३. पुग्यांवाको २ पाछा, २४. रादुङको पाछा ३, २५. सिवाहाङको पाछा २, २६. ताङलुक्वाको ७ पाछा, २७. तेन्चिपाको २ पाछा, २८. किराँत वानतवा राईको २०५ पाछा, २९. किराँत चामलिङ राईको २०७ पाछा, ३०. अन्य किराँत राईको ७४ पाछा, ३१. आठपहरियाको १७ पाछा, ३२. कोयू (कोयी) राईको १६ पाछा, ३३. बाम्बुलेको ३४. पाछा, पुमा राईको १४, ३५.पाछा. छुलुङ(छिलिङ)को ८ पाछा, ३६. मेवाहाङको १८ पाछा, ३७. बाहिङ(नेचाली) राईको १० पाछा, ३८. डुमी राईको २९ पाछा, ३९. चाम्चा बुसुरु राईको ६ पाछा, ४०. कुलुङ राईको ८७ पाछा, ४१. बाहिङ राईको ३७ पाछा, ४२. साम्पाङ राईको ९१ पाछा, ४३. लोहारुङ राईको ४७ पाछा, ४४. नाछिरिङ राईको ९५ पाछा, ४५. दिमाम (बान्तवा)राईको ३ पाछा, ४६. खालिङ राईको ६२ पाछा, ४७. थुलुङ राईको ९७ पाछा, ४८. यम्फु राईको १८ पाछा ।

माथि उल्लेखित किराँत राई समूहहरुको खोज अनुसन्धानकर्ताहरुले आगामी दिनहरूमा गर्ने अध्ययनबाट यस्ता विवरण थपघट हुने सक्ने देखिन्छ। किनभने थर भनेको पाछामा र पाछा भनिएको थरमा जान सक्ने कुरालाई नजर अन्दाज गर्न सकिँदैन। सम्बन्धित विज्ञको अध्ययनको निष्कर्षलाई नै सही विकल्प मानेर जानुपर्छ होला।

राई बान्तवा थर समूह भित्रपर्ने २०५ पाछामध्ये एक पाछा खिम्दुङ राई हुन् । 

खिम्दुङ राईको उत्पत्तिका सम्बन्धमा:

भोजपुर जिल्लाको प्रसिद्ध पर्यटकीय धार्मिक स्थल साल्पा पोखरी क्षेत्रमा पर्ने भोजपुर जिल्लाको सर्वोच्च अर्थात् सबै भन्दा अग्लो चुचुरोको सिलिचोङ पर्वत हो । यसै सिलिचोङको उद्गमस्थल दोभानेमा पर्ने "सालेवा लिङखिम (लुङखिम)'' भन्ने स्थान खिम्दुङ राईको उद्गमस्थल मानिएको छ । 

उक्त पवित्र स्थलबाट खिम्दुङको प्रथम पुस्ता "हामिर राचिङ उखिया' सिलिचोङ क्षेत्रदेखि योग्य बास्थलको खोजीमा घुम्दै जाँदा भोजपुर जिल्लाको तिम्मा गाविस ७ हाल ट्याम्के मैयूँ गाउँपालिको सुन्दर तथा उर्वर रिमचिम गाँउमा आएपछि उनको पाइला रोकिन्छ । उनले आफ्नो बसोबास भामला भन्ने स्थानमा कायम गरेको पाइन्छ । रिमचिम गाउँमा रङचिम पाछाका किराँत राईको बसोबास रहेको थियो । 

त्यही भामला रिमचिम गाउँमा रहँदा बस्दाबस्दै सोही गाउँतिरको चेलीसँग वैवाहिक जीवन सुरु हुन्छ । त्यही घरजम गरेर बसेपछि उनका दुई भाइ छोरा हुन्छन् । जेठा सायाङपा र कान्छा टेवला छोरा हुर्कंदै बढ्दै जाँदा कान्छा छोरा जन्मस्थल छोडेर जाने विचार गर्दछन् । दाजु भन्दा भाइ टेवला अलिक चलाख नै थिए । उनले तत्क्षणको परिस्थिति बुझेर नयाँ ठाउँको खोजीमा अघि बढ्दछन् । 

उनी जन्मस्थानदेखि  पश्चिम दक्षिणीतर्फ ट्याम्के र सेल्मेको पश्चिममा पर्ने सावा माङलामा बस्न पुग्दछन् । उनीसँग पहिलेदेखि आफ्नो शिकार क्षेत्र कायम गरी बसेका व्यक्तिसँग क्षेत्राधिकारको विवाद पर्दछ । विवाद समाधान गर्न तत्कालीन  गाउँका भद्रभलादमीहरू कहाँ पुग्यो । आफ्नो दाबी नछाडेपछि  एक सर्त अघि सारियो, जुन गाउँको पुरानो वा पहिलो बासिन्दा जुन हो गाउँमा उनको अधिकार हुन्छ भनी छुट्याउन दुवै पक्षको अगेनाको निरीक्षण गर्दा जसको अगेनामा धेरै थुप्रो खरानी हुन्छ, उही पुरानो बासिन्दा हुने निर्णय मान्ने सहमति हुन्छ ।  र गाउँका भद्रभलादमीले ओडार निरीक्षण गर्न आउनु पहिले टेवलाले युक्ति लगाई जङ्गलका धेरै दाउरा बाली आफ्नो ओडार कालो बनाउँछ । ओडारको  गाउँका भद्रभलादमीहरूले अनुगमन गर्दा अगेनामा धेरै थुप्रो खरानी र ओडार धेरै कालो टेवला बसेको ठाउँ पाइएकोले सो गाउँमा बस्ने पहिलो आधिकारिक  बासिन्दा उनी ठहरिएर सो ठाउँमा बसेको आख्यान पाइन्छ । (२०६१ आश्विन मा प्रकाशित खिम्दुङ वंशावलीमा दिइएको भोजपुर तिम्मा ७,रिमरिचमका हर्कराज खिम्दुङको मन्तव्य)

खिम्दुङका सन्तानको बसोबास फैलावट:

जेठा दाजु सायाङपा खिम्दुङका सन्तानहरू भोजपुर जिल्लाको रिमचिमदेखि वादोङला, दावाँ, बोखिम, हेलौछा, सोर्याङका साथै  सुनसरी र उदयपुर जिल्लामा फैली बसेको पाइन्छ । त्यस्तै कान्छा टेवला खिम्दुङका सन्तानहरू खोटाङको जिल्लाको सुम्लिखा, मुखिताङ, बाकुटाङदेखि भोजपुर जिल्लाको रानीबास, होमताङ, ओख्रेका साथै सुनसरी र उदयपुर जिल्लामा फैली बसेको पाइन्छ । (२०६१ आश्विन मा प्रकाशित खिम्दुङ वंशावली, हर्कराज खिम्दुङको मन्तव्य)

खिम्दुङको थरको उत्पत्ति:

जङ्गली जीवन यापनका क्रममा गुफा युगबाट परिवर्तन हुँदै छाप्रो, गोठ र घर बनाई  बस्ने चलनको विकास हुँदै थियो । व्यवस्थित घर बनाएर बस्ने प्रविधि खिम्दुङका पूर्खाले शुरूको कथन पाइन्छ । सर्वप्रथम घर बनाइ छानो कस्ने सीप खिम्दुङ पूर्खाले मात्र जानेका थिए । अरूले जानेको थिएनन् । खिम्दुङका एकजना पूर्खाले घर बनाउन जान्ने भनी तत्क्षणको भाषामा खिमधुङ भन्न थाले । खिम भनेको घर र धुङ भनेको छाना (घरको छाना बनाउने) भनिन्थ्यो । यही शब्द जनबोलीमा भन्दै बोल्दै जाँदा कालान्तरमा अपभ्रंश भै खिम्दुङ भन्न थालियो । खिम्दुङ नामले प्रसिद्ध भएको यो थर राई बान्तवाको एक पाछा खिम्दुङ राई कायम भएको पाइन्छ ।  

किराँत राई पाछा सम्बन्धी: 

मानिस एक चेतनशील प्राणी भएको हुँदा समाजमा सुव्यवस्था मिलाउन रहनसहन सामाजिक थिती कायम गर्न पूर्खाले चलाई आएका प्रचलन, प्रथालाई आफ्नो समाज अनुकूल रीतिथिति बनाउँदै गएको देखिन्छ । उन्नत समाजको विकासमा हुँदै गएर हामीहरू यसका चरणमा पुगेका छौँ । यसको श्रेय हाम्रो पूर्खाहरु मै जान्छ । सबै जातजातीहरुले पुर्खादेखि चलेको आ-आफ्नो धार्मिक सांस्कृतिक संस्कारहरू संरक्षण गर्दै आएको देखिन्छ । तागाधारी जात थरमा विवाहवारी गर्दा सामाजिक थिति अनुरूप अनमेल वा जात उचनिँच भएको खण्डमा बाहुन वर्गमा जैसी थर कायम गरिन्छ र गोत्र चाहिँ बाउको नै रहने हुन्छ । 

त्यस्तै खम्बु राईहरूमा वैवाहिक सम्बन्ध गर्दा उचनिँच अथवा साइनो लाग्ने विहेवारी भएकोमा अरू नै नयाँ पाछा कायम गरी समाजमा व्यवस्थापन गरिएको पाइन्छ। यस कारणले गर्दा किराँत राईहरूको धेरै पाछा रहेको र यस्ता पाछाहरू थपिँदै गएको पाइएको छ। (२०६१ आश्विन मा प्रकाशित खिम्दुङ वंशावलीमा दिइएको भोजपुर तिम्मा ७, रिमरिचमका हर्कराज खिम्दुङको मन्तव्य)

खिम्दुङको न्वारन (नामकरण):

नेपाली समाजमा सबै जातजातीहरुले जन्मसंस्कार गर्ने गर्दछन्। बच्चा जन्माउने आमा सुत्केरी चोख्याई बच्चाको नाम राख्नेलाई छोराछोरीको न्वारन भनिन्छ । छोराको ६ दिनमा  र छोरीको ५ दिनमा न्वारन गर्ने गरिन्छ । कुनैपनि नयाँ जन्मिएका बच्चाको न्वरान गर्दा दोमासे पार्न हुँदैन । त्यसैले सुत्केरी भएको दिन वा बच्चा जन्मेको दिन पूरा महिना भित्र ६ वा ५ दिन भित्रै पर्नु पर्दछ । मासको अन्तिम दिन सुत्केरी भएमा सोही दिन सुद्धाई गर्ने र न्वारन गरिन्छ ।  

यसरी छोरा र छोरी जन्मँदा चाहिने सामग्री यस प्रकार छ:

लौ है तिमी फलाना नामको फलाना फलानाको छोरा वा छोरी फलाना दिन शुभ साईतमा यस धरती जन्मियौँ । आमाको काखमा बस्दा खुसीका साथ थाङ्नामा रमाउँदै हुर्कँदै जानु । आजबाट तिमीले मनुष्यको रूप धारण गरेको हुनाले तिम्रो सम्पूर्ण अङ्ग स्वास्थ्य र सफल बनोस् । शरीरका अङ्गहरू आँखा नाक कान घाँटी मूत्र द्वार र गुद्वार सबै खुलेर आओस् । कुनै किसिमको रोगव्याधी, दोष दखाल, बोक्सी, डायनीको आँखा नलागोस् । आमा बाबुसँग असल शिक्षा ज्ञान सीप सिकेर तिमी असल ज्ञानी जान्ने सुन्ने विद्वान् बन्नू ।

क. छोरा जन्मँदा चाहिने सामग्री:-

१.कपी, कलम, २. धनुष वाण ३. वापा भाले ४. थुम्से/कोक्रो ५.अगुल्टो ६. पुरानो कपडाको भोटो, आमाको गुन्यू थाङ्ना ७. काँचो धागोको कन्छनी (कन्दनी ) ८. कुखुराको घाटी सहितको टाउको ९. हतियार/ कर्द १०. तितेपाती ११. शुद्ध पानी १२. साम्सङसी / हर्रा, वाहि, दुवो, तितेपाती ।

ख. छोरी जन्मँदा चाहिने सामग्री:-

१. कपी, २. कलम तान बुन्ने सामानहरू रासी/थुरी/लसाई ३. बाँसको काँईयो ४. कुखुराको पोथी (घाँटी र टाउको सहितको) ५. भोटो, ६. काँचो धागोको कन्दनी / चुरा कल्ली (एक लाक्षी) धागो  ७. खुर्पा ८. शुद्ध पानी  ९. साम्सङसी / हर्रा, वाहि,दुवो, तितेपाती ।

नामकरण न्वारन गर्दा उक्त उल्लेखित सामान तयार गरी न्वारन गरी नाम दिइन्छ  । सामान्यतया न्वरानको बेला घरको जेठो बजै, हजुर आमाहरूको उपस्थित हुन्छ र सल्लाह गरी बच्चाको नामकरण गर्ने  गरिन्छ। न्वरान नामकरण गर्दा अग्रज बजु वा  साकवानाक्छोङले मुन्दुम भाषामा लौ है तिमी फलाना नामको फलाना फलानाको छोरा वा छोरी फलाना दिन शुभ साईतमा यस धरती जन्मियौँ । आमाको काखमा बस्दा खुसीका साथ थाङ्नामा रमाउँदै हुर्कँदै जानु । आजबाट तिमीले मनुष्यको रूप धारण गरेको हुनाले तिम्रो सम्पूर्ण अङ्ग स्वास्थ्य र सफल बनोस् । शरीरका अङ्गहरू आँखा नाक कान घाँटी मूत्र द्वार र गुद्वार सबै खुलेर आवोस् । कुनै किसिमको रोगव्याधी, दोष दखाल, बोक्सी, डायनीको आँखा नलागोस् । आमा बाबुसँग असल शिक्षा ज्ञान सीप सिकेर तिमी असल ज्ञानी जान्ने सुन्ने विद्वान् बनेस् । तिमी कतै हिँड्दा डुल्दा बाटोमा  कुनै ठेस बाधा व्यवधान नलागोस्। दीर्घायु रहनु भनी आमा बाबु तथा बजु अग्रज अभिभावकले आशीर्वाद दिने गर्दछन्।

भात खुवाउने / पास्नी (कोक पमा/कोक सुक्मा):-

बच्चा जन्मिएपछि पहिलो पटक अन्न खुवाउने कार्यलाई भात खुवाउने / पास्नी (कोक पमा/कोक सुक्मा) भनिन्छ।  छोराको ६ महिना पुगेपछि र छोरीको भए विजोडी महिना ५ महिना अवधिमा जन्म महिना, जन्म बार, जन्म नक्षत्र, जन्म लग्न, जन्म राशिलाई छाडेर परम्परा बमोजिम विधि साईत हेरेर पास्नी गर्ने चलन छ । 

आवश्यक सामाग्रीहरू

तिम्रो शारीरिक बनोट बुद्धि विवेक बदलिएर ज्ञानी बुद्धिमान भै आफ्नो कुल परम्पराको इज्जतको राख्दै हाम्रो समाजको  मात्र होइन संसारले नै गन्यमान्य असल मान्छे बन्नु र आमा बाबु तथा बाजे बजु अग्रज अभिभावकको आशीर्वादले दीर्घायु चिरन्जीवी हौ भन्ने हाम्रो आर्शिवाद छ र कुल पितृको तिमीलाई कृपादृष्टी सदै रहिरहोस् ।

१.  मोहर पैसा (चलन चल्ती​​​​​को धातुको रु.१ को सिक्का पैसा)

२. नवजा बच्चाको लागि नयाँ लुगा ३. काशे (चरेशको) थाल ४. धान एक पाथी ५. दियो र कलश ६. दुना टपरी  ७. रक्सी जाँड ८. दही ९. भात, तिहुन यथाशक्य विविध किसिमका परिकार मिष्टान्न भोजनका सामग्री १०. चाँदीको पैसा नभएमा भद्राई चराको चुच्चो। 

भद्रायो चरोले छिट्टो स्पष्ट बोल्ने भएकाले बच्चालाई भात खुवाउँदा भद्राई चराको चुच्चोले भात खुवाउने पुर्खौली मान्यता छ।  

'तिमी फलाना नामको फलाना फलानाको छोरा वा छोरी फलाना दिन शुभ साईतमा यस धर्तीमा जन्मियौँ । आमाको थाङ्नामा हुर्कँदै बढ्दै रमाउँदै आएका छौ । आजदेखि थाङनाबाट उठाएर हाम्रो रीतिथिती अनुसार नयाँ लुगा लगाउँदै चोखो भात, चोखो खानेकुरा खुवाउँदैछौं । जसरी आज लगाएको नयाँ लुगा गहनाले तिम्रो रुपरंग बदलिएको छ । त्यसरी नै तिम्रो शारीरिक बनोट बुद्धि विवेक बदलिएर ज्ञानी बुद्धिमान भै आफ्नो कुल परम्पराको इज्जतको राख्दै हाम्रो समाजको मात्र होइन संसारले नै गन्यमान्य असल मान्छे बन्नु र आमा बाबु तथा बाजे बजु अग्रज अभिभावकको आशीर्वादले दीर्घायु चिरन्जीवी हौ भन्ने हाम्रो आर्शिवाद छ र कुल पितृको तिमीलाई कृपादृष्टी सदै रहिरहोस् ।

छोराको छेवार कपाल काट्ने टोपी (टाङमुनाखोमा), छोरीको गुन्यु चोली दिने:-

छोराको छेवार र छोरीको गुन्यु चोली कर्म गर्दा  जन्म महिना, जन्म वार, जन्म नक्षत्र, जन्म लग्न जन्म राशि छलेर परम्परा बमोजिम विधि साईत हेरेर छोराको ६ वर्षमा छेवार कपाल काटेर टोपी र छोरीको ५ वर्षमा गुन्यु चोली दिने गर्ने चलन छ ।

छोराको छेवार (केस खौर्ने)का लागि आवश्यक सामाग्री:-

१. बच्चालाई नयाँ लुगा २. केस खौर्ने (खौरने) छुरा वा ब्लेड  ३. दियो कलश ४. दुना, टपरी ५. चामल ६. दही ७. मावली वा ज्वाँई चेलाको उपस्थिति ८. टुप्पीमा झुण्याउन सुनको प्रतिमा र नयाँ टोपी ९. जाड एक घैँटो, रक्सी एक चिण्डो (चिण्डोको अभावमा बोतल) 

छोरीको गुन्यु चोलीका लागि आवश्यक सामाग्री:-

१. बच्चालाई नयाँ लुगा २. दियो कलश ३. दुना टपरी ४. चामल ५. दही समेतको सामाग्री तयार पारिन्छ।

गाउँ घरमा पहिले गाईको गोठ सफागरी छेवर गर्ने छोरालाई गाईको दाम्लाले बाँधेर वा दाम्लो समाउन लगाएर मामाले कपाल खौरेर टपरी  थाप्ने र टपरीले छोप्नु पर्छ । मामा भएसम्म मामा नै चाहिन्छ र पहिलेको चलन अनुसार नयाँ टोपी लुगा कपडा लगाइदिने चलन छ । अहिलेको चलन अनुसार कर्ताको आफ्ना गछ्यानुसार सुनको औँठी सिक्री घडी समेत दिइन्छ भने छोरीलाई गुन्यु चोली गर्दा  सुनचाँदीका गरगहना र शृंगार गरी सामान सहित गरी नयाँ गुन्यु चोली लगाइ दिन चलन छ । छोरीका आमा बाउ दाजुभाइ दिदीबहिनी र नाता गोता मावाली सबैले टीका लगाई दक्षिणा, उपहार दिने प्रचलन  छ। 

योकार्यक्रम सकिएपछि पाहुनापाछा दाजुभाइहरू, दिदीबहिनी, ज्वाइँ चेलाको बिदाइ गर्दा भोज भतेर गरीसकेपछि निम्नलिखित रीत गरी बिदाई गर्ने प्रचलन पाइन्छ:

१. मावलीको लागि सायाचोङमा (शीर उठाउने) २. भान्से, सुधिमा, सम्पूर्ण दाजुभाइ र अन्य नातागोता दक्छा बुवालाई  आवश्यकता अनुरूप चिण्डोमा रक्सी,माटो घैँटोमा जाड दिई बिदाइ गरिन्छ।

मावलीका लागि चाहिँ १ चिण्डो रक्सी, १ घैँटो जाड, केही रकम पैसा उपहार सहित बिदाइ गर्ने चलन पाइन्छ ।

विवाह संस्कार (मङनुमालोक्तामा)

खिम्दुङ समाजमा निम्नलिखित ४ किसिमका विवाह गर्ने प्रचलन रहेको छ-    

१. मागी विवाह २. चोरी विवाह, ३.भागी (प्रेम) विवाह, ४ अन्तर्जातीय  विवाह ।

मागी विवाह गर्दा घर परिवारको सल्लाहमा आफ्नो समान हैसियतको कुटुम्बको छोरा छोरी हेरी ठहराई केटा केटीको पक्षको लमीमार्फ योग्य वर बधू छनौट गरी आमा बाबुको सहमतिमा मागेर गरिने विवाहलाई मागी विवाह भनिन्छ। 

मागी विवाहको लागि चाहिने सामाग्रीहरु: 

१.कलिया पक्रिने (धिवातोङ) २. केटी माग्न जाने ३. चाँडो वातोङ पक्रिने ४. वातोङको शीर ५. शीर उठाउने २ वटा चिण्डो 

उक्त सामान सगुन सहित केटीको माइती घरमा केटापट्टीबाट लाने गरिन्छ । केटाको पट्टीका  केटी माग्न जाने मान्छे कोङपी घर फर्किएपछि केटी दिने कुरा मिले नमिलेको सोधिन्छ । कुरा मिल्ने भएमा चार चिण्डो श्वरी लियाहरू साथमा राखेर विवाहको कुरा अघि बढाउने गरिन्छ ।

चोरी विवाह र घर चोख्याउने :- 

खिम्दुङको छोराले चोरी विवाह गरी ल्यायमा घर चोख्याउने चलन छ । त्यसको निमत १. कुखुरा भाले  २. कुखुरा पोथी ३. मिच्चिलिम्मा (सिगाईटो / भोर्लाको बोट ) ४. बेछक, आरावा ५. रक्सी ६.पैसा ७. बेब्बि डण्ड चाहिन्छ ।

अन्तरजातीय विवाह:

अन्तरजातीय सम्बन्धमा कुनैपनि खिम्दुङ सदस्यले कुल अचल जातिसँग विवाह सम्बन्ध कायम गरेमा खिम्दुङहरुको सामुदायिक निर्माणअनुसार विवाह सम्पन्न गरिनेछ । 

भागी (प्रेम) विवाह:

खिम्दुङको समाजमा केटा केटी एक आपसमा मन पराएर भागेर (प्रेम गरी) विवाह गर्ने चलन परम्परागत रूपमा चलिआएको पाइन्छ । 

(भोजपुर जिल्लाको साविकको नागी गाँउ विकास समिति हाल ट्याम्के मैयूँ गाउँपालिका नागी पुर्खौली घर भएका दिलधर सिंहका बान्तवा पनातिनी, कुवेर सिंह बान्तवा राईको नातिनी, अगमसिंह  र अष्टमाया बान्तवा  राईको छोरी, अनामनगर काठमाडौँ २९ बस्ने महेन्द्रकुमार बान्तवाको दिदी ९४ वर्षीय पूर्णकुमारी बान्तवासँग मिति २०८० भाद्र ३१ गते आइतबार चण्डी कार्कीले मागी विवाह सम्बन्धमा भएको कुराकानीको अंश)

मागी विवाहमा केटा पक्षका लमीलाई "कोङपी'' र केटी पक्षका तर्फबाट लमीभै कोङपीसंग विवाह कुराकानी गर्ने " धिवातोङ '' भनिन्छ र केटीको जन्म घरका आमा बाबुलाई (गाजीघर)  भनिन्छ । 

कुनै केटाको विवाह गर्न योग्य केटी भएको गाउँ घरमा केटी माग्न जाँदा केटा पक्षका कोङपी र केटी पक्षका धिवातोङ बिच कुराकानी आदानप्रदान भएपछि विवाह गर्ने दुवै पक्षबीच औपचारिक सहमतिमा दुवै पक्षबीच कुराकानी भै विवाहको प्रकृया बढ्ने गर्दछ ।

केटा पक्षका कोङपीलाई एक बोतल रक्सी र एक पेरुङो सुँगुरको सपेटा सगुन दिनु पर्छ र  केटी पक्षका धिवातोङ (कलिया लमी)लाई एक बोतल रक्सी र एक पेरुङो सुँगुरको सपेटा सगुन दिनुपर्ने चलनर हेको छ । 

पहिलेको जमानामा राई जिम्मावालको चलन उबेलामा केटाको घरबाट केटी माग्न जाँदा गाउँको पगरीवाला राई जसलाई जिम्मावाल वा मुखियाको घरमा माटोको रक्सी मटिया वा चिण्डो वा बोतल एक र एक पेरुङोमा सुँगुरको सपेटा सगुन दिई हामी हजुरको गाउँमा फलानाको छोरी माग्ने सगुन सहित आएका छौ भनी बुझाउनुपर्थ्यो । गाउँको जिम्मावाल राईले कसको हो ? भनी बुझेपछि केटी पट्टीको धिवातोङलाई बोलाई  केटा पक्षका कोङपीलाई केटी घरमा (गाजीघर)मा गएर राई मुखियाले हजुरको छोरी माग्न सगुन सहित पठाएको भनी धिवातोङले भन्दछन् । 

केटीका आमा बाउको शीर राख्न एक बोतल वा चिण्डोमा रक्सी एक पेरुङो सुँगुरको सपेटा बुझाउने गरिन्छ । कोङपी फर्केर गई विवाहको कुरा मिलेको जानकारी दिइन्छ । केटी पक्षले त्यसपछि विवाह हुने भएपछि दुवै पक्षबाट सहमतिमा विवाह गर्ने दिन ठेगाना गरेर शुभ दिन शुभ साईत पारी विवाहको दिन तोकिन्छ । (पूर्णकुमारीका अनुसार)

कोङपीलले कुराकानी गरी  छोरी दिने टुङ्गो भएपछि साइमुन्द्रो (नाता चिनाउने, साइनो चिनाने) केटा पक्षले एक मटिया रक्सी, मासुको अचार र पैसासहित सगुन दिने चलन छ। केटाले विवाह गर्ने केटीलाई फकाउने रीत गर्ने चलन छ । 

 जन्ती जाने :

बेहुला अन्माउने दिन बेहुलाको बाउले बेहुलीलाई फेटा (पगरी) लगाएर टीका लगाउने र त्यसपछि मावलीले टीका लगाई मामाले बेहुला बोकेर अन्माई जन्ती जाने चलन छ । (यज्ञराज राई खिम्दुङको हस्तलिखित टिपोट अनुसार )

पहिलेको प्रचलन अनुसारको मागी विवाह रीतका कुरा अनुसार उल्लेख गरिएको छ ।

अहिले गाउँमा मुखिया र जिम्मावालको चलन हराएको छ ।  त्यो चलन गर्न परेन । पहिले राई भनेको जिम्मावाल मुखियालाई मात्र भनिन्थ्यो अहिले सबैले राई लेख्छ भन्ने भनाई पूर्णकुमारी दिदीको छ । 

ठूलो बरनी टपरी गाँसिन्छ र त्यसो बिचमा चारवटा बाँस वा मालिङ्गोका एक डेढ फिट जतिको लिङ्गो ठड्याई तेर्से डण्डी बाँधेर सालको पातले बेरेर बाँसको लिङ्गमाथि फूल जस्तै छत्री बनाई त्यसको भित्र सानो टपरीमा चामल राखेर बत्ती बाल्छन् । जग्गेमा त्यो बरनी टपरी बेहुलीको अगाडी राख्ने,  टपरीसँग राँगा र  सुँगुरको टाउको टपरीमा राखिन्छ र चार ठाउँमा छानेको जाँड राखिन्छ । त्यो समान बेहुली पट्टीको कलियाले लग्दछ ।

बेहुलीको घर भित्र माङपा (विजुवा धामी)ले कुल पितृहरूको बुझाउने पूजा गर्दछन् । लगनको लागि सबैलाई तयारी हुनको लागि कराउने एक जान मान्छे  बाहिरी राखिएको हुन्छ । उसले घरगाउँले तयार छ, बाजा बजाउने तयार छ,बन्दुके तयार छ, जन्ती तयार छ, बेहुला तयार छ र श्लोके तयार छ भनेर कराउँछ । त्यसबेला बेहुलालाई बेहुलीकै नजिक ल्याउँछन् । बेहुलीको माइती घर भित्र माङपा (धामी) पोथी चल्ला (कुखुरा) काटे पछि लगन भो भन्छ । बाहिरी बसेको मान्छेले लगन भो भनेर कराउँछ, त्यसैबेला बेहुलाले बेहुलीलाई सिंउँदोमा सिन्दूर हाली पोते लगाउँछ । बन्दुक पड्काउनले पड्काउँछ, बाजा बजाउनेले बाजा बजाउँछ श्लोकहरू भन्नेहरू श्लोक भन्नु थाल्छ । बेहुला र बेहुली पट्टीका श्लोकहरूको श्लोक जुहारी चल्छ कसले जित्ने हार्ने प्रतिष्पर्धा रातभर नै चल्छ । श्लोकको नमुना यस्तो छ:

बेहुली पक्ष: कहाँबाट आयौ तमी जनती कहाँसम्म की दाउ ।

            धरती तमरी भान्जे बुहारी कहाँ  टेकी आयौँ पाउ ।।

बेहुला पक्ष: पूर्वदिसबाट आयौ हामी जनती यहिसम्म कि दाउ ।

               धरती  हाम्री भान्जे बुहारी पत्थर टेकी आयौँ पाउ ।।

केटी पक्ष:  के भनी आयौँ  पितालाई  के भनी आयौँ मातालाई ।

   के भनी आयौँ देवीदेउरालीलाई के भनी आयौँ गण्डकीलाई ।।

केटा पक्ष:  हिँडहिँड भनी आयौँ  पितालाई बस बस भनी आयौँ मातालाई। धजापाती चढाइ आयौँ देवीदेउरालीलाई हरहर भनी 

               आयौँ गण्डकीलाई ।।

केटी पक्ष: कति बाट्यौं दम्ला नाम्ला कति बाट्यौं कुच्चा ।

             कति आयौँ बुढपाका कति आयौँ फुच्चा ।।

केटा पक्ष: धेरै बाट्यौं दाम्ला नाम्ला थोरै बाट्यौ कुच्चा ।

            धेरै आयौँ  बुढापाका थोरै आयौँ फुच्चा ।।

 केटी पक्ष: कति ल्यायौँ सुना चाँदी कति ल्यायौँ पोते ।

         कति आयौँ हृष्ट जवान कति आयौँ थोते ।।

केटा पक्ष:धैरै ल्यायौँ सुन चाँदी थोरै ल्यायौँ पोते  ।

           धेरै आयौँ हृष्ट सुन्दर  थोरै आयौँ थोते ।।

बेहुलाले बेहुलीलाई दिन शृंगारका समान साडी, चोला, सुन, चाँदीका गहना सिन्दूर, पोतो,धागा, टीका सौन्दर्यका क्रिम, पाउडर लगायतका सामाग्रीहरू लिएर जन्तीजाने गरिन्छ ।

बेहुलाले बेहुलीलाई पहिर्याउन साडी, चोला, दोसल्ला वस्त्रहरू, सुन, चाँदीका गहना सिन्दूर, पोतो, धागा, टीका सौन्दर्यका क्रिम, पाउडर लगायतका सामाग्रीहरू दिन्छन् । अहिलेको जस्तो बेहुलीलाई पहिरनको समान वा दौरा सुरुवाल, टोपी, कोट, सर्ट, पैन्ट, जुत्ता, मोजा  घडी, सुन चाँदीका सिक्रीहरु दिने चलन पहिलेको जमानामा थिएन । (हाम्रो पालामा बेहुलालाई केही दिने चलन थिएन भनी पूर्णकुमारी दिदी भन्नुहुन्छ) ।

सिन्दूर पोते गरिसकेपछि बेहुला पक्षका र बेहुली पक्षका बाउ र मामाहरुबिच जोडी चिण्डो दायाँ बायाँ गरी जदौ सम्धी भनी तीन पटकसम्म ढोगा भेट गर्ने गरिन्छ । (यज्ञराज राई खिम्दुङको हस्तलिखित टिपोट अनुसार) अर्को शब्दमा भन्दा सम्धी भेटको रीत पनि भनिन्छ।

जग्गेमा बेहुला बेहुलीलाई उभ्याउँछन् र पहिले आमा बाउले टीका लगाउँछन्, त्यसपछि बडा बा, बडी आमा, काका काकी, फुपूहरू, दिदीबहिनी माइतीकाले टीका लगाउँछन् र अनि मामलाका बाजे-बजै मामा-माइजु, सानीआमा, ठूलीआमा तथा दिदीबहिनीहरूले टीका लगाईदिन्छ । त्यसपछि रातीभर जग्गेमा  बेहुला बेहुली बस्दछन् । पहिले त सानो बेहुली हुन्थ्यो रातभर बस्न नसकेर सुत्न जान्थे । 

भोलिपल्ट बेहुलीलाई बिदाइ गरी लग्ने द्वारमा दुईवटा किला गाडेर  बलो तेर्स्याएर मासुको लुम्साहरु झुन्ड्याएर राखिएको हुन्छ । बेहुला र  बेहुली दुवैपट्टीका मान्छे मुन्दुम गाउँदै हाङ हाङ गर्दै मुख चलाउँदै बेहुलीलाई माइती पट्टीका दाजुभाइले बोकेर लागी डोलीमा चढाई बिदाइ गरी पठाइन्छ । त्यसबेला डोलीको चलन थियो। बेहुलीलाई डोलीमा लिएर जाने चलन थियो । घोडामा चढाएर बेहुली लग्थ्यो भने अहिले  गाडीमा लग्ने चलन आयो ।  (पूर्णकुमारी दिदीका अनुसार )

बेहुली भित्र्याउँदा घरको आँगनमा लिपपोत गरी सो स्थानमा बेहुला बेहुलीलाई राखेर चेली (दिदी बहिनी)ले टीका लगाई दिने र सासुले बेहुलीको हातमा समाई मूल ढोकाबाट घरमा भित्र्याउने चलन छ । बेहुली घर भित्रिएपछि मूल चुलोमा माङपाले कुखुराको जोडी भाले पोथी काटी चुलोमा चढाएपछि नयाँ बुहारीलाई आफ्नो कुलमा प्रवेश भएको मान्ने चलन रहेको छ ।  (यज्ञराज राई खिम्दुङको हस्तलिखित टिपोट अनुसार )

बेहुली भित्र्याएको भोलिपल्ट जन्ते भोज खाने चलन हुन्छ । विवाह भएको तेश्रो दिनमा माइतीघर दूरन फर्काउन ल्याउँछ । बेहुलीको दूरन फर्काएर घर गएपछि विवाह सकिन्छ । माइतीघर र बेहुलाको घरमा कोसेलीपात लाने ल्याउने गर्दछन् । 

बेहुली भित्र्याउँदा चाहिने सामाग्री: 

१. डाक्सो सुम्वाक (तुमौप्ला बां भोर्लाको पात ) २. खुर्पा १ वा  २ वटा ३. चिण्डो १ वा २ वटा ४. अदुवा, चामल ५. कुखुराको पोथी ६. बोखा (चोखो जाँड )

विवाह सम्पन्न गरी बेहुली लिएर आएपछि बेहुलाको घरमा भित्र्याउँदा यी माथि उल्लेखित सामाग्रीहरू राखी बेहुलीलाई भित्र्याउने रीति पूरा गर्ने गरिन्छ। बुहारी भित्र्याउँदा आवश्यक अनुसारको माग भएको सामाग्री लैजाने, बुहारी ल्याउँदा आवश्यकता अनुसारको सामाग्री माग भई आएको जम्मा गर्ने ।

विवाह मागीको लागि कलियाको भूमिका तथा आवश्यक सामाग्रीहरू निम्न लेखिएबमोजिम छ: 

कलिया (कोङपीको लागि आवश्यक सामाग्री)

१. फेटा २. राँगा, सुँगुरको टाउको ३. कलिया जोडी हुनुपर्ने ४. रक्सी १ चिण्डो

 ५. एक जाँड भरिया ६. साहाला खान (भुटेको मासु / अचार )

कलियाको भूमिका:

केटीको पक्षको कलिया (फेङमा) वा त्यहाँको विशेष भूमिका खेल्ने महत्त्वपूर्ण कार्य गर्नुपर्छ।

२.  कुटुम्बहरूले मागेको विवाह सम्पन्न गर्न आवश्यक सामाग्री ल्याउने ।

विवाह सम्पन्न गर्न आवश्यक सामाग्रीहरू तथा सहयोगी कर्ता

१. मूल भान्से पक्रने  २. सुन्धी सायकी पक्रने ३. आगन्तुक हेर्ने हेरालु (दर्शनाभिलाषी)

४.  माथि उल्लेखित कार्य फत्ते गर्ने एउटा भरपर्दो मुख्य मान्छे छनौट गर्ने 

५.  बहिदार तहविलदार 

उक्त उल्लेखित कार्य सम्पन्न गर्न हरेकमा चाहिने : १. चिण्डो रक्सी, १ भरिया जाँड

साहाला खान अन्त्यमा विवाह सम्पन्न भइसकेपछि गरिने विहावारी कार्यक्रममा निम्नानुसारको सामाग्री साथ विवाहमा खटेर सहयोग गर्ने  तपसिलका व्यक्तिहरूलाई बिदाइ गर्न निम्नलिखित सामग्रीहरू राखे सामूहिक बिदाई गर्ने प्रचलन रहेको छ -

विदाईका लागि चाहिन सामाग्री :

१. चिण्डोमा आवश्यकता अनुसार रक्सी २. भरिया जाँड आवश्यकता अनुसार रक्सी ३.  मासु आवश्यकता अनुसार  ४. भुटुवा मासु (सालाहा खान) दुनामा

बिदाई गरिने व्यक्तिहरू:-

१. विवाह कार्य सम्पन्न गर्न छानिएको मुख्य मान्छे पापासङ २. मूल भान्से ३.सुन्धी सायकी ४. आगन्तुक हेर्ने हेरालु (विवाहमा निम्तालु भै आएका पाहुना पाछालाई व्यवस्थापन गर्ने मान्छे) ५.पाहुना पाछाआगन्तुकहरू ६. सबै निम्तालु घर गाउँले दाजुभाइ र छोरी ज्वाँई चेलाहरू  ७. बहिदार तहविलदार

विवाह सम्पन्न पश्चात् गरिने भतेर : 

छोराको विवाह पछि गरिने भोजलाई बहुभत्तेर (Reciption party) भनिन्छ । जुन दिन नयाँ बेहुली र बेहुलाले मिलेर  सबै आगन्तुक सबै निम्तालु नातागोता, इष्टमित्र, घर गाउँले, दाजुभाइ र छोरी ज्वाँई चेलाहरूलाई भतेर बाँड्ने प्रचलन पाइन्छ । 

२. जब छोरीलाई  कुटुम्बहरूले लगेपछि अर्थात् बेहुली अन्माएपछि माइती घरतर्फबाट सबै आगन्तुक सबै निम्तालु नातागोता, इष्टमित्र, घर गाउँले, दाजुभाइ र छोरी ज्वाँईचेलाई दिने भोज भतेर गरिन्छ । जसलाई रुन्चे भतेर भन्ने गरिन्छ ।

कुलुखुङ (साइमुन्द्रीबटुको सम्बन्धमा ):-

खिम्दुङ राई पाछाहरूको विवाह सम्पन्न गर्दा अनिवार्य एउटा गर्नै पर्ने महत्त्वपूर्ण रीत रहेको छ । जुन छोरी विवाह गरेर गई सकेको  छोरी (बेहुला पक्ष)को घरबाट माइती घरमा एक नयाँ काँसे डबका र डबकामा मोहोर ढ्याके पैसा, एक चिण्डो रक्सी र डबकामा कुखुरा काटेर खात पारेर सगुन ल्याउन लगाइन्छ र सगुन ल्याएपछि धामी बोलाई पुजेर घरमा राख्ने चलन छ । 

नव  विवाहित छोरीको घरबाट ल्याएको सगुन सामान  छोरी ज्वाँईचेलाई झुक्किएर पनि कुनै चिज खान दिन नहुने भनाई रहेको पाइन्छ । 

विवाह घरानी परानी बोल्न तरिकाको केही संवादको नमूना यस प्रकार पाइन्छ ।

केटी पक्ष: लौ कोङपीहरु तपाईहरूको हिसाब किताब अनुसार तपाईँहरूले रक्सी र पैसा कति भयो, हामीले हामीले कति खायौँ त ?

केटा पक्ष: लौ है हजुरहरू हामीले हजुरहरूको  माग अनुसार....रक्सी र ….पैसा बुझाएका छौँ । 

 केटी पक्ष: कुटुम्बहरूले कस्तो छोरी चेली लिनु भयो तर कस्तो देखेर लानु भयो?

केटा पक्ष: बा बा हजुरको छोरी अत्यन्तै सुन्दर देखेर लग्यौँ हजुर ।

केटी पक्ष: ल कुटुम्ब हजुर हाम्रो छोरी सीप पनि  छैन केही जान्दैन कसरी मन पराउनु भयो ?

केटा पक्ष: बा बा  हजुर नजानेको कुरा हामी सिकाउँदै लैजान्छौं । 

केटी पक्ष: ल कुटुम्ब हजुर हामीले त  हाम्रो मुटुको टुक्रा दिएर रुँदै कराउँदै पठाउँदै छौँ भने हामीलाई के दिनु हुन्छ ?

केटा पक्ष :  बा बा हजुर हामीसँग १२ पुस्तासम्म रहिरहने माया प्रीति बाहेक केही छैन यही दिन्छौ ।

केटी पक्ष: लौ लौ हजुर त्यसो भए हाम्रो सम्बन्ध पुस्ता-पुस्ता रहोस् १२ पुस्ताको माया मोह १८ पुस्ताको रहनी कहनी रहिरहोस् । 

राई किराँतको परम्परादेखि चलिआएको बाँहा (दुई हात) जोडी कुटुम्बहरूसँग सम्बन्ध र मायामोह जीवन्त राख्ने कडीका रूपमा रहेको यो संवाद प्रचलन रहेको पाइन्छ ।

अन्त्यमा, 

यस लेखमा आ-आफ्नो गाउँ परिवेश मानिआएको र गरिँदै आएका कुनैपनि जानकारी थप परिमार्जन गर्नुपर्ने भएमा विज्ञहरूले आफ्नो राय सुझाव उपलब्ध गराउन विनम्र अनुरोध गरिन्छ। प्रकाशित मिडियामार्फत पनि सुझाव दिनुहुनेछ भन्ने अपेक्षा गरिन्छ । सुझाव लागि सम्पूर्ण सम्पर्कका माध्यमहरु वेबसाईटमा उपलब्ध छ। 

सङ्कलन: चण्डी कार्की

भोजपुर, गुप्तेश्वर दावाँ (चालिसे) 

(हाल वानेश्वर काठमाडौं)