मंगलबार १५ जेठ, २०८१

नेपाली समय

त्रिभुवन विश्वविद्यालयमा अधिकृत मञ्च गठन

त्रिभुवन विश्वविद्यालयमा अधिकृत मञ्च गठन

वैशाख ३०, काठमाडौ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत उप प्रशासक वा सो सरह र सोभन्दा माथिल्लो तहका कर्मचारीहरुले त्रिवि अधिकृत मञ्च २०८१ गठन गरेका छन् । गत वैशाख २८ गते शुक्रवार काठमाडौँको पद्मकन्या बहुमुखी क्याम्पसमा एक भेला आयोजना गरी उपप्रशासक दीपक तिवारीको संयोजकत्वमा मञ्च गठन गरिएको हो । 

त्रिविका विभिन्न निकायहरूमा कार्यरत उपप्रशासक (उपसचिव) वा सो सरह र सो भन्दा माथिल्लो सबै तहका सबै सेवा समूहका कर्मचारीहरूको पेसागत अभिवृद्धि, वृत्ति विकास र संस्थागत सुधारका लागि व्यवस्थापकीय जिम्मेवारीमा रही सेवा प्रवाह गर्दा आउने अप्ठेराहरूलाई एक आपसमा छलफल गरी ज्ञान आदानप्रदान गर्न मञ्चको आवश्यकता भएको संयोजक तिवारीले बताए । 

एघार सदस्यीय मञ्चको उपाध्यक्षमा निर्जा पोखरेल, सचिवमा वसन्त श्रेष्ठ, कोषाध्यक्षमा बिष्णुहरी गुरागाईँ सदस्यहरूमा विमलान्यौपाने, पार्वता भट्टराई,  नविन्द्रप्रसाद भण्डारी, डम्बरकुमार देव, सुरजप्रसाद श्रेष्ठ, विदुरमानसिंह डङ्गोल र गणेशप्रसाद आचार्य रहेका छन् । 

त्रिविका उच्च ओहदामा कार्यरत कर्मचारीहरूको साझा मञ्च भएकोले यो मञ्चले गर्ने कार्यहरू गैरराजनीतिक, पेसागत मर्यादा, व्यावसायिक विशिष्टता र प्रशासनिक सुधार गर्न र गैरराजनीतिक रूपमा कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक बीचको आपसी सम्बन्ध सुदृढ गर्न केन्द्रित हुने बताइएको छ । नेपालमा उच्च शिक्षाको ऐतिहासिक जिम्मेवारी बोकेको त्रिविमा मौलाउन खोजेको फोहोरी राजनीतिक हस्तक्षेप, विभिन्न  विसङ्गति र बेथितिलाई हटाई उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा विकसित गर्न र त्रिविको गरिमा एवं साखलाई अझ उँचो पार्न कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने ठहर समेत भेलाले गरेको छ । 

त्रिवि नियमले त्रिविमा कार्यरत राजपत्राङ्कीत तृतीय श्रेणीका अधिकृतस्तर वा सोसरह र सोभन्दा तल्लो तहमा कार्यरत कर्मचारीहरुलाई मात्र संघ सङ्गठनमा आबद्ध भई ट्रेड युनियन अधिकार उपभोग गर्न पाउने प्रावधान गरेपछि त्रिविमा कार्यरत राजपत्राङ्कीत द्वितीय श्रेणीका उपप्रशासक वा सोसरह कार्यरत अधिकृत कर्मचारीहरूदेखि माथिविशिष्ट श्रेणीका अधिकृत कर्मचारीहरूले कुनै पनि ट्रेड युनियनमा आबद्ध भई राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था हाल पनि लागु रहेको छ ।