वैशाख ३०, काठमाडौ । त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी सङ्घ केन्द्रीय समितिले आयोजना गरेको नयाँ वर्ष शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा चियापान कार्यक्रममा त्रिवि कर्मचारी सङ्घका अध्यक्ष छत्रबहादुर कार्कीले पदाधिकारीलाई धम्की दिएकोप्रति तीव्र आलोचना भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरूले सङ्घका अध्यक्ष कार्कीले आफु समर्थित एक सङ्गठनको दलबल लिएर रजिष्ट्रारको कार्यकक्षमा गई धम्की दिएको भिडियो सञ्चारमाध्यममा आएको भन्दै सङ्घको नेतृत्व एकपक्षीय हुन नहुने बताएका हुन् ।महाशाखा प्रमुखहरूको सरुवाका विषयमा प्रगतिशील कर्मचारी सङ्गठनको समूह लिएर अध्यक्ष कार्कीले रजिष्ट्रारको कार्यकक्षमा व्यक्त अभिव्यक्ति बाहिरिएपछि त्यसको आलोचना भइरहेको छ ।
वर्तमान पदाधिकारी नयाँ ढङ्गले खुल्ला प्रतिष्पर्धाबाट आउनु भएकोले नयाँ ढङ्गले कामगर्न खोजेको बताउनुहुँदै कर्मचारी सङ्घका पूर्व अध्यक्ष भोजकुमार बस्नेतले उहाँहरूलाई त्रिविको आमूल सुधारका लागि चाल्ने सकारात्मक कदममा आम कर्मचारीले सहयोग गर्नुपर्ने बताउनु भयो । एक पक्षीय कर्मचारीलाई बोकेर सरुवा बढुवाको विषयमा पदाधिकारी धम्क्याउँदै हिँड्ने सङ्घको नेतृत्वलाई मान्न नसकिने बताउनु हुँदै उहाँले संयमता अपनाएर अगाडि बढ्न कर्मचारी सङ्घलाई आग्रह गर्नुभएको थियो । विश्वविद्यालय सुधारका लागि अहिले उपयुक्त समय आएको बताउनु हुँदै बस्नेतले विगत लामो समयदेखि पदाधिकारीहरूबाट एक पक्षीय रूपमा पिल्सिएको कर्मचारीतन्त्र अब पदाधिकारीहरूलाई साथ दिँदै विश्वविद्यालय सुधारका लागि सक्रिय बन्नु पर्ने बेला आएको धारणा व्यक्त गर्नुभएको ।
यस्तै प्रजातन्त्रवादी कर्मचारी सङ्घका पूर्व अध्यक्ष बलबहादुर थापाले त्रिविमा कार्यरत सबै कर्मचारीहरूले एक आपसमा समझदारी गर्दै अगाडि बढ्नुपर्ने बेला आएको बताउनु भयो । कर्मचारी सङ्घमा प्रगतिशील कर्मचारी सङ्गठनले जितेको भए पनि अरू सङ्घ सङ्गठन नै छैनन् जस्तो मनोमानी तरिकाले पदाधिकारीलाई धम्क्याउने गरी प्रस्तुत भइरहेकोमा त्यसो हुन नदिने बताउनु भयो । हिजोका पदाधिकारीलाई मनोमानी गर्दा पनि मौन समर्थन गरेका सङ्घका पदाधिकारीले आज नयाँ ढङ्गले नियुक्त त्रिवि पदाधिकारीलाई दबाब दिने र धम्कीपूर्ण व्यवहार गर्नु र कर्मचारी सङ्घलाई नसोधी केही नगर्नु भन्ने जस्ता भाषा प्रयोग हुनु अरू सङ्घ सङ्गठनका लागि पनि दुर्भाग्यपूर्ण रहेको बताउनु भयो । आउने दिनमा पदाधिकारीलाई आम कर्मचारीको हितमा विश्वविद्यालयलाई अगाडि लैजान सहयोग गर्नुपर्ने धारणा थापाले राख्नु भयो ।
विश्वविद्यालय क्याम्पसका पूर्व स्ववियू सचिव चाउविनलाल श्रेष्ठले कर्मचारी सङ्घ सबै विचार र आस्था राख्ने कर्मचारीहरूको साझा मञ्च भएकोले एउटा समूहको पछि लागेर एकपक्षीय बन्न नहुने बताउनु भयो । अहिलेका पदाधिकारीहरूलाई कर्मचारी सङ्घबाट असहयोग भइरहेको आफूले बुझेको उहाँले बताउनु भयो । उहाँले त्रिवि कर्मचारी सङ्घको अध्यक्षले अखिलको विद्यार्थीहरूलाई पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिदिन फोन गरेको आफूले थाहा पाएको बताउनु हुँदै कर्मचारीले संस्थाको अहित हुने गरी विद्यार्थीलाई प्रयोग गर्नु दुष्प्रयास नगर्न चुनौती दिनुभयो । उहाँले कुनै पनि कर्मचारीलाई अन्याय हुन नदिने र अन्यायको विरुद्ध लड्नु परे, विश्वविद्यालयको मर्यादा र अनुशासन कायम गर्न विद्यार्थीहरू पनि कर्मचारीको पक्षमा उभिने बताउनु भयो ।
प्रजातन्त्रवादी कर्मचारी सङ्घका अध्यक्ष भीमलाल भक्तले कर्मचारीको हक हितको लागि पदाधिकारीहरूसँग निरन्तर संवाद गर्ने र कर्मचारी सङ्घले पदाधिकारीहरूलाई धम्की दिने कार्य गरेमा त्यसको प्रतिकार गर्ने बताउनु भयो । कार्यक्रममा प्रजातन्त्रवादी कर्मचारी सङ्घका महासचिव हरि प्रसाद दाहालले त्रिवि भित्र सबै कर्मचारीहरुलाई एकजुट गरेर लैजान र सबै समूहहरूसँग संवाद गरेर अगाडि बढ्न कर्मचारी सङ्घलाई आग्रह गर्नुभएको थियो ।