मंगलबार १५ जेठ, २०८१

नेपाली समय

स्वर्गीय रामा यादवको जीवनीमा आधारित वृत्तचित्रको विमोचन कार्यक्रम सम्पन्न

स्वर्गीय रामा यादवको जीवनीमा आधारित वृत्तचित्रको विमोचन कार्यक्रम सम्पन्न

रौतहट, २९ वैशाख । स्वर्गीय रामा यादवको जीवनीमा आधारित वृत्तचित्रको विमोचन गरिएको छ । गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले शुक्रबार एक कार्यक्रमको बिच स्वर्गीय रामा यादवको जीवनीमा आधारित उक्त बृत चित्रको विमोचन गरेका हुन् ।

जयरामा मिडिया प्रा ली.गौरले आयोजना गरेको स्व. श्रीमती रामा यादवको तेस्रो पुण्यतिथिको सम्झनामा वृत्तचित्र विमोचन गरिएको स्वर्गीय यादवका श्रीमान् जय प्रकाश यादवले बताए । 

स्वर्गीय रामा यादवको वृत्तचित्र विमोचन कार्यक्रममा बोल्दै गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले समाज परिवर्तनका लागि रामा यादवले गरेको कार्य सदैव भरी सम्झनामा रहने बताए ।  समाजमा रहेका कुसंस्कार,विकृति, विसङ्गति , अन्यायलाई हटाएर सुशासन, न्याय र समानता ल्याउने उद्देश्यले स्वर्गीय रामा यादवले गरेको योगदान स्मरणीय रहने उल्लेख गर्दै रामा यादवले देखेका सपना पूरा गर्न सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने आग्रह गरे । टेलिभिजनले गौरलाई चिनाउने कार्य गरेकोले टेलिभिजनको संरक्षणका लागि अगामी वर्षको बजेटमा आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।

२०७७ सालमा संञ्चालनमा आएको रेड टेलिभिजनका सञ्चालिका रामा यादवको २०७८ सालको कोरोना भाइरसको दोस्रो लहरमा वैशाख २८ गते कोरोना सङ्क्रमणबाट ३० वर्ष कै अल्पआयुमा निधन भएको थियो । 

रामा यादवको निधन भएपछि उनको श्रीमान् जय प्रकाश यादवले आफ्नो पत्नीको नाउँमा श्रीमती रामा यादव स्मृति प्रतिष्ठान स्थापना गरी स्वास्थ्य क्षेत्रमा कलम चलाउने देशभरिकै महिला पत्रकारलाई रामा यादव स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै आएका हुन । २६ हजार १ रुपैयाँ राशि भएको सो पुरस्कार स्वास्थ्य क्षेत्रमा सुधारको लागि लेख्ने महिला पत्रकारलाई प्रदान गरिने अध्यक्ष यादवले बताए । स्वास्थ्य उपचारको अभावमा कसैको जीवन अन्त्य नहोस्, स्तरीय स्वास्थ्य सेवा उपलब्ध होस् भन्ने विषयमा कलम चलाउने महिला पत्रकारलाई प्राथमिकता दिएको बताउँदै यस वर्षको रामा यादव स्मृति पत्रकारिता पुरस्कार साउन १९ गतेका दिन प्रदान गरिने उनले  बताए।

स्वर्गीय रामा यादवको वृत्तचित्रमा उनको बाल्यकाल देखि सङ्घर्ष गरेर टेलिभिजन समेत स्थापना देखि उनको अन्त्याेष्ठि सम्मको विषय बस्तु बारेमा प्रकाश पारिएको थियो । स्वर्गीय रामा यादवले रौतहट जिल्लामै पहिलो टेलिभिजनको रूपमा रेड टेलिभिजन स्थापना गरेर सञ्चालनमा ल्याउनु भएकी थिइन् । 

विमोचन कार्यक्रममा टेलिभिजन स्थापित रहेको गौर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव शङ्कर यादवले स्वर्गीय रामा यादवले गरेको कार्य प्रशंसनीय रहेको र उक्त कार्यले देशविदेशमा वडालाई चिनाएकाले टेलिभिजन विकासका आफ्नो तरफबाट ५१ हजार रुपैयाँ बरावरको सामग्री सहयोग गर्ने घोषणा गरे ।

जयरामा मिडिया प्रा ली.का अध्यक्ष जय प्रकाश  यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ  पत्रकार प्रभात कुमार झा तथा विभिन्न सञ्चारकर्मीले स्वर्गीय रामा यादवको योगदानको चर्चा गर्दै संवेदन प्रकट गरेका थिए । सो कार्यक्रममा रौतहटका संचारकर्मी एवम अन्य भद्रभलामीहरुकाे सहभागिता रहेको थियो ।