मंगलबार १५ जेठ, २०८१

नेपाली समय

कविता: हाँस्न देऊ मलाई !

कविता: हाँस्न देऊ मलाई !

हाँस्न देऊ मलाई !

 

सधैँ मुस्कुराउन भन्छ फूलले,

हाँस्न देऊ मलाई नचुँड भूलले ।

 

सौन्दर्यता बढाएको छु तिम्रा घरको,

वरिपरि बगैंचामा छ सुगन्ध फैलिएको।

 

बारी, गमला, प्लाष्टिकमा छु अटेको,

सेता, राता, पहेँला, बहु रङ्गमा सजिएको ।

 

तिम्रो खुसीका लागि बलिदान मेरो,

प्रेम साट्दा प्रयोग गर्छ प्रेमी गुलाबको ।

 

शुभ काममा तिम्रा घरको  प्रयोग मेरै,

झालर, बुक्का, तोरन र माला बन्छ धेरै ।

 

मेरै खोजी हुन्छ श्मसानघाटमा पनि,

सजाइन्छ मालाले नै लासलाई पनि ।

 

हुन्छ  प्रयोग मेरो मन्दिर सजाउन पनि

माला, थुँगा चढाइन्छ देवतालाई भनी ।

 

बिन्ती पूर्ण आयुसम्म जिउन देऊ मलाई,

नचुँड निर्दयी बनी हाँस्न देऊ मलाई ।

  - हर्ष थापा

दारिम्बोट पनौती – २ काभ्रे 

हाल महालक्ष्मी –१, इमाडोल ललितपुर