मंगलबार १५ जेठ, २०८१

नेपाली समय

रौतहटको बंकुल नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा व्यापक तस्करी

रौतहटको बंकुल नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा व्यापक तस्करी

गौर, २६ वैशाख । रौतहटको बंकुल छोटी भन्सार नाकामा खटिने सशस्त्र प्रहरीले लाइन दिएपछि भारतीय सीमानाकामा चोरी तस्करी बढेको छ। भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा सङ्गठित तथा पोके तस्करहरूले व्यापक रूपमा तस्करी गरिरहेका हुन्। पछिल्लो समय रौतहटको बंकुल छोटी भन्सार बडा बंकुल, नरकटियाबाट व्यापक मात्रामा तस्करी फस्टाएको हो।

रौतहटको सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला सङ्गठित तस्करहरूको सक्रियता बढेको देखिएको छ। भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार हुँदा हुँदै जिल्लाको पश्चिमी भेगमा रहेको बंकुल बजार स्थितका छोटी भन्सार बंकुलमा खटिने सशस्त्र प्रहरीका गस्ती टोली युनिटले तस्करहरूबाट मासिक रकम लिएर अवैध कारोबार सञ्चालनमा सघाइरहेको स्रोतले बताएको छ। सीमा वारपार हुने तस्करी नियन्त्रणको जिम्मा पाएका निकायहरूकै संलग्नता र सहयोगमा तस्करी व्यापक मात्रामा मौलाएको देखिन्छ। भारतीय बजार घोडासहनबाट रौतहटको छोटी भन्सार बंकुल नाका भएर भारतीय ट्याम्पो तथा मोटरसाइकलमा सशस्त्र प्रहरीकै संलग्नतामा व्यापक मात्रा तस्करी भइरहेको छ।

रौतहटको मुख्य नाकाको रूपामा रहेका पाँच वटा नाका बेलबिछवा, गौर भन्सार, औरैया, रामपुर खापमा पाँच वटा बी ओ पी रहेका छन, जसमध्ये गौर भन्सार, बेलबिछवा, औरैया, रामपुरखाप र बी ओ पी सरमुजवा लगायतका बी.ओ.पी. हरुमा सशस्त्र प्रहरी निरीक्षकहरूको सरुवा र नयाँ निरीक्षकहरू बी.ओ.पी. हरुमा आउने बित्तिकै तस्करहरूसँग साटघाट गरी राति राति र बिहान सेटिंगमा सङ्गठित रूपमा तस्करी भइरहेको स्थानीयहरू बताउँछन् । 

बी ओ पी सरमुजवा का सशस्त्र प्रहरी निरीक्षक अनिल खडाकाले भारतीय तस्करहरूसँग भारतीय बजार घोडासहनमा गई भारतीय तस्करहरू झड़ौखारका श्याम सुन्दर साह, लैन बसवारियाका मोनू जयसवाल, अगरवाका अरविन्द साह जस्ता भारतीय कुख्यात तस्करहरूबाट मोटो रकम लिई बडा बंकुल र नरकटिया सीमा नाकाबाट नेपाली गिट्टी, बालुवा र अवैध मदिरा भारत लैजान सघाईरहेको तथा भारतबाट अवैध तयारी कुखुरा, स्पेयर पार्ट्स, कास्मेटिक आइटम, खाद्यान्न सामग्री लगायतका वस्तुहरूको ओसार पोसारमा सघाउ पुर्याकोले राजस्व सङ्कलनमा कमी आएको देखिएको छ ।

गौर भन्सारका प्रमुख अमरेंद्र कुमार सिंह सँग कुरा गर्दा नेपाल भारतको खुल्ला सिमानाका भएको कारण तस्करी फस्टयाएको र आफु सँग जनशक्ति काम भएको कारण लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन नसकेको उहाँले बताउनु भयो । सशस्त्र प्रहरीले  सर्वसाधारणलाई दुःख दिने र दिनहुँ दशौँ पटकसम्म सामान ओसारपसार गर्नेलाई छुट दिने गरेको स्थानीयहरु बताउँछन्। तस्करहरूसँग सशस्त्र प्रहरीलेको डिल भएकाले तिनीहरूलाई केही नगर्ने तर सर्वसाधारणले आफ्नो घरायसी प्रयोजनका लागि केही मात्रामा सामान ल्याउँदा माथिको निर्देशन भन्दै सताउने गरेको स्थानीयहरूको गुनासो छ। बंकुल नाकाको छेउबाट लाखौँ मूल्य बराबरको कपडाको तस्करी दिनहुँ भइरहेको छ। केही भारतीय खुद्रा तथा थोक तस्करहरूसँगको मिलेमतोमा सशस्त्र प्रहरीको आन्तरिक सेटिङ्गमा दिनहुँ लाखौँको तस्करी भइरहेको प्रत्यक्षदर्शीहरूको भनाई छ।

अत्यधिक मात्रामा तस्करी बढेको भए पनि सुरक्षाकर्मीहरू सर्वसाधारणलाई निकै टाइट गरेको देखाएर तस्करहरूलाई रामराज्य बनाएका छन्। भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले यो नाकाबाट प्रत्येक दिन हजारौँ कार्टुन मदिरा भारत पठाइरहेका छन्।

सुरक्षा निकायका प्रमुखहरू भने खुला सीमाका कारण समस्या आएको र तस्करीको लाइनका बारेमा कुनै जानकारी नभएको बताउँछन्। सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी भएको कारण नै यहाँका भन्सारले लक्ष्य अनुरूपको राजश्व सङ्कलन गर्न सकिरहेका छैनन् । जसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ । तस्करीको सम्बन्धमा हेड क्वाटर ११ नम्बर गणका प्रमुख एस पी बिक्रम हुमागाईँ सँग कुरा गर्दा मैले आफ्नो पाँच वटै बी ओ पी प्रमुखहरूलाई तस्करी नगराउन कडा निर्देशन दिएको र तस्करीमा संलग्न भएको पाइएमा कडा भन्दा कडा कार्यवाही गर्ने उहाँले बताउनु भएको छ ।