मंगलबार १५ जेठ, २०८१

नेपाली समय

थुन्से बेचेर मनग्य आम्दानी गर्दै मीरा

थुन्से बेचेर मनग्य आम्दानी गर्दै मीरा

(अच्युत रेग्मी)

धुसेनी (धादिङ), २५ वैशाख । धादिङको उत्तरी क्षेत्रका बासिन्दाले निगालोबाट बनेका सामग्रीको बिक्रीबाट मनग्य आम्दानी लिन थालेका छन् । तामाङ समुदायको बाहुल्य रहेको गङ्गाजमुना गाउँपालिका वडा नं १ र २ स्थित धुसेनी, लताप, तावल, रिगाउँ, ताजीमराङ, रिचेतलगायतका बासिन्दाले  निगालोबाट बनेका सामग्री बिक्री गरेर मनग्य आम्दानी लिन थालेका हुन् ।

ती गाउँका बासिन्दाको मुख्य आम्दानी नै निगालोका सामग्री बिक्री वितरण गरेर आर्थिक उपार्जन गर्नु हो । प्रशस्त पानीको स्रोत रहेको यहाँका बासिन्दाले पछिल्लो समय कफी खेतीलाई समेत प्राथमिकता दिँदै आएका छन् ।

गङ्गाजमुना –२ स्थित धुसेनीका ४४ वर्षीया मीरा तामाङ दैनिक पाँचवटासम्म थुन्से बुन्नुहुन्छ । उहाँका श्रीमान् सुवास वैदेशिक रोजगारीका लागि मलेसियामा हुनुहुन्छ । उहाँले थुन्से बिक्रीबाट गरेको आम्दानीबाट चारजना छोराछोरीको पालनपोषण गर्दै आउनुभएको छ । उहाँका दुई छोरा र दुई छोरी छन् ।      

“मैले थुन्सेसँग चामल, नुन, तेल, मसलालगायतका सामग्री साट्ने गरेको छु, थुन्से बिक्री गर्नुप¥यो भने प्रतिथुन्से रु १८० दिने गरेका छन्, पहिले रु २०० सम्ममा बेचेको थियौँ अहिले खासै राम्रो भाउ आएको छैन”, उहाँ भन्नुहुन्छ । पछिल्लो समय यस गाउँमा मोटरबाटो पुगे पनि थुन्सेको भाउ भने घटेकाले यहाँका किसान चिन्तित भएका छन् ।

यस्तै, सोही गाउँकी ७२ वर्षीया श्रीमाया तामाङ पनि निगालोका सामग्री बनाएर बिक्री वितरण गर्दै आउनुभएको छ । उहाँले निगालोका सामग्री बनाएको पचासौँ वर्ष भइसक्यो । उहाँको घरमा हाल नौ जनाको परिवार रहेको छ । “यो गाउँमा बिहे गरेर आएदेखि नै निगालोका सामग्री बनाउन सुरु गरेको हुँ, यहाँका सबै मान्छेले निगालोबाट बनेका सामग्री बनाउनुहुन्छ”, उहाँ भन्नुहुन्छ । यहाँका महिला आफैँ निगालो काटेर ल्याएर चोया काढेर निगालोका सामग्री बुन्नुहुन्छ ।

सोही गाउँका ७८ वर्षीय लेका लामा पनि लामो समयदेखि निगालोका सामग्री बनाउँदै आउनुभएको छ । लेका थुन्से, डोका, डाला, मान्द्रो, भकारी सबै सामग्री बनाउँदै आउनुभएको छ । उहाँलाई थुन्से बुन्नका लागि श्रीमती कान्छी तामाङले समेत साथ दिँदै आउनुभएको छ ।

पुर्ख्यौली पेसा भएको कारण पनि यहाँका सबै घरका मानिस निगालोका सामग्री बनाउन व्यस्त हुँदै आएका छन् । धुसेनी, लताप र तावलमा मात्र चार सयभन्दा बढी घर रहेका छन् । यहाँका अधिकांश घरको आम्दानीको स्रोत नै निगालोका चोयाबाट बनेका सामग्री बिक्री वितरण नै हो । यहाँका बासिन्दाले आफ्नो पाखा बारी र अनुत्पादक भूमिमा निगालो खेती गर्दै आएका छन् ।

गङ्गाजमुना–२ का वडाध्यक्ष बलबहादुर तामाङ यहाँका प्रत्येक घरले वार्षिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म निगालोबाट बनेका सामग्री बिक्री वितरण गर्दै आएको बताउनुहुन्छ । यहाँ उत्पादित निगालोका सामग्री धादिङको जिल्ला  सदरमुकाम धादिङबेँसीदेखि गोरखा, चितवन, काठमाडौँ, पोखरा, लमजुङलगायतका स्थानमा बिक्री वितरण हुँदै आएको वडाध्यक्ष तामाङ बताउनुहुन्छ ।

पछिल्लो समय गङ्गाजमुना गाउँपालिकाले सफा र स्वच्छ गङ्गाजमुना अभियानसमेत सुरु गरेको छ । उक्त गाउँपालिकाभित्र उत्पादित फोहरलाई व्यवस्थापन गर्नका लागि गङ्गाजमुनाले प्रत्येक वडा र गाउँमा फोहर फाल्नका लागि निगालोबाट बनेका थुन्सेको प्रयोग गर्दै आएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ स्थानीयस्तरमा उत्पादित सामग्रीलाई गाउँपालिकाले प्रयोगमा ल्याएर फोहर व्यवस्थापनमा लगाएको बताउनुहुन्छ । उक्त गाउँपालिकाले वडा नं १ रिगाउँदेखि वडा नं ७ बुढाथुमसम्मका प्रत्येक वडा र गाउँमा थुन्सेको प्रयोग गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ बताउनुहुन्छ ।

पर्यटनको अथाह सम्भावना बोकेको गङ्गाजमुना गाउँपालिकाले भर्खरै ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को समेत अन्वेषण तथा प्रवर्द्धनको कामलाई अगाडि बढाएको छ । गङ्गाजमुनाभित्र रहेको प्राकृतिक, संस्कृति र साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को सहकार्यमा सम्भावित क्षेत्रको अध्ययन तथा अवलोकन गरेको छ ।

गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल पर्यटकलाई गङ्गाजमुनाभित्र आकर्षण गर्नका लागि सरसफाइ र आतिथ्यता नै महत्वपूर्ण भएको बताउनुहुन्छ । “गङ्गाजमुनालाई सरसफाइको हिसाबले नमूना गाउँपालिका बनाउनका लागि हामीले स्थानीयस्तरमा उत्पादित निगालोबाट बनेका थुन्सेलाई ‘डस्बिन’का रुपमा प्रयोग गरेका हौँ”, उहाँ भन्नुहुन्छ ।

गङ्गाजमुना गाउँपालिकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मायाको चिनोस्वरुप स्थानीय तहमा उत्पादित निगालोबाट बनेका सामग्रीलाई प्राथमिकता दिने संयोजक ढकाल बताउनुहुन्छ । उहाँले निगालोका सामग्रीलाई पर्यटन प्रवर्द्धनसँग जोड्नका लागि गाउँपालिकाले काम गर्ने बताउनुहुन्छ ।