गण्डकी, १२ वैशाख । रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्षित तालिम सञ्चालन गरेको छ ।
सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम, ब्युटी पार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
तालिममा ४५ जना युवायुवती सहभागी छन् । सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम एक महिना र लोक सेवा आयोगको तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुनेछ ।