काठमाडौँ, ९ बैशाख । त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाको योजनामा उपत्यका भित्रका क्याम्पस/कार्यालयहरूमा कार्यरत शाखा अधिकृतहरूलाई खरिद प्रक्रिया सम्बन्धी सेवाकालीन तालिम प्रारम्भ भएको छ । तालिममा उपत्यकाभित्रबाट ४० जना सार्वजनिक खरिद शाखामा विशेष जिम्मेवारी सम्हालिरहनुभएका कर्मचारीहरुलाई संलग्न गराइएको छ ।
आजबाट सुरु भएको तालिममा सार्वजनिक खरिदका महत्त्वपूर्ण कानुनी पक्ष र व्यवहारिक पक्षहरूका सन्दर्भमा नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव एवम् उपसचिवहरूले तालिम दिनुहुने भएको छ । तालिमको उद्घाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खड्ग केसीले विश्वविद्यालयमा व्याप्त बेरुजु न्यूनीकरण गरी असल शासनको विकास गर्न तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । उहाँले सार्वजनिक निकायहरूमा कर्मचारीतन्त्रको कार्यशैली,जिम्मेवारी र नैतिकताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुँदा तालिममा सिकेका सिपलाई नियमानुसार कार्यान्वयन गरी त्रिभुवन विश्वविद्यालयको प्रशासनिक दक्षता विकासमा महत्त्वपूर्ण योगदान गर्न सहभागी कर्मचारीहरुलाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजालले तालिमलाई सिप र दक्षताको विकास गर्ने महत्त्वपूर्ण अवसरको रूपमा सदुपयोग गर्न सहभागीहरूलाई अनुरोध गर्नुभयो । तालिम मार्फत विश्वविद्यालयले राखेको उद्देश्य पुरागरी सार्वजनिक खरिदमा हुने सवैप्रकारको कमजोरी, बेथिति र त्रुटिहरूको बारेमा यथोचित जानकारी लिई कार्यान्वयन गर्न समेत निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा समन्वय महाशाखका निमित्त प्रमुख दिपक तिवारीले तालिमले सहभागीहरूलाई पुनर्ताजकी गराई थप सक्षम र सुदृढ बनाउने र कार्यक्षमतामा ऊर्जा भर्ने बताउनुभयो । तालिममा अनुशासनमा रही समयमा उपस्थित भई विज्ञहरूबाट आफूलाई थप जानकार बनाउन अनुरोध गर्नुभएको थियो । उहाँले समन्वय महाशाखाले आफ्नो सक्रियतामा पहिलो पटक सार्वजनिक खरिद सम्बन्धमा तालिम आयोजना गरेको छ ।
त्रिविको ६५ वर्षको यात्रामा समन्वय महाशाखाका प्रमुख दिपक तिवारीको सक्रियतामा पहिलो पटक त्रिविले प्रशासनिक तालिम सम्बन्धमा सबै तहका कर्मचारीहरूको लागि सेवाकालीन तथा पुनर्ताजकी तालिम पाठ्यक्रम २०८० माेड्युल पुस्तकका रूपमा तयार गरिएको र उक्त पुस्तकको विमोचन शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी ले गर्नुभयो ।