आइतबार १३ जेठ, २०८१

नेपाली समय

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर, ६ वैशाख । चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनमवी पर्वमा दुई लाख बढी भक्तजनले दर्शन गरेका छन् । 

चैत्र शुक्ल सप्तमी, अष्ठमी र नवमीका दिन कालिका भगवतीको दर्शन गर्न दुई लाखभन्दा बढी भक्तजन उपस्थित भएका सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोखरेलले बताउनुभयो । “चैतेदसैँका अवसरमा यहाँ लाग्ने मेलामा चैत्र शुक्ल सप्तमीका दिन मात्रै एक लाख भक्तजनको उपस्थिति रहेको थियो”, उहाँले भन्नुभयो, “त्यसपछि अष्टमी र नवमीका दिनमा भक्तजनको उपस्थिति भयो ।” 

वर्षमा एक पटक मात्रै भक्तजनको ठूलो उपस्थिति रहने सोमेश्वर कालिका मन्दिर नेपाल र भारतको सिमाना (दशगजा)मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल हो । माडी उपत्यकाको दक्षिणमा पर्ने चुरे पहाडमा अवस्थित सोमेश्वर कालिका नेपाल र भारत दुवै देशका नागरिकको आस्थाको केन्द्रका रूपमा रहेको पोखरेलको भनाइ छ । 

“केही वर्ष अगाडिसम्म चैतेदसैँका बेला ९५ प्रतिशत भारतीय तीर्थयात्री र पाँच प्रतिशतमात्रै नेपाली तीर्थयात्री आउने गरेका थिए”, उहाँले भन्नुभयो, “अहिले पनि नेपालीभन्दा भारतीय बढी आउँछन्, तर तुलनात्मकरूपमा नेपाली तीर्थयात्री बढ्दै गएका छन् ।” सोमेश्वर कालिकाको दर्शन गरेमा मागेको कुरा पाइने विश्वासका आधारमा यहाँ भक्तजन दर्शन गर्न आउने गरेका उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसपालि पनि पाँच दम्पती दूधेबालक लिएर सोमेश्वर कालिकाको प्रसाद हो भन्दै माथा टेकाएर गए ।” यहाँ आउनका लागि सडक सञ्जालको विकास भएसँगै नेपालतर्फबाट आउने तीर्थयात्रीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको उहाँले बताउनुभयो । 

“चैतेदसैँको मेला व्यवस्थापनका लागि हामी नौ दिनसम्म यही स्थानमा बसेर सबै काम गरेका थियौँ”, उहाँले भन्नुभयो, “राम नवमीको दिनबाट मेला सकिने भएको हुँदा भक्तजनको उपस्थिति घट्दो क्रममा छ ।” सोमेश्वर कालिका मन्दिर दशगजा क्षेत्रमा पर्ने भएकाले भारतले यहाँ संरचना निर्माण गर्न नदिएका कारण लाखौँ भक्तजनको आस्थाको केन्द्रमा सानो मन्दिर भएको उहाँको भनाइ छ ।

“यो ठाउँ दशगजामा पर्ने क्षेत्र भएकाले दुई देशको सहमतिबिना यहाँ केही काम पनि गर्न सकिँदैन, दुई देशका नागरिकको आस्था रहेको सोमेश्वर कालिका मन्दिरसमेत जीर्ण भएको छ”, उहाँले भन्नुभयो । माडी नगरपालिका–५ मा पर्ने मन्दिर र गढी क्षेत्र वसन्तपुर बजारबाट १४ किलोमिटरको दूरीमा पर्दछ । 

यस स्थानमा रहेको गढीमा देखिएका इँटा र गढीको पर्खाल निकै पुरानो भए पनि पुरातत्व विभागले उत्खननमा चासो नदिएको उहाँले बताउनुभयो । सोमेश्वरगढीलाई सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यभित्र राखेको छ ।

माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाले केन्द्र र प्रदेश सरकारसँगको सहयोग र सहकार्यमा चुरे पर्वत हुँदै मन्दिर पुग्न भन्दा एक हजार पाँच सय मिटर तलसम्म कच्ची सडक निर्माण गरेको बताउनुभयो । सडकमार्ग सकिएसँगै सुरु हुने पैदलमार्गबाट मन्दिरसम्म पुग्न मानिसको आकर्षण बढाउन प्रस्तर मूर्ति कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काउने प्रयास गरिएको उहाँको भनाइ छ । उहाँले गढी क्षेत्र दशगजामा परेकाले स्थानीय सरकारबाट ल्याइएका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन नसकिएको बताउनुभयो । 

चितवनको भूमिपुत्र भनेर चिनिने आदिवासी जनजाति थारू समुदायको मुख्य आस्थाको केन्द्र भनेर सोमेश्वर कालिका मन्दिरलाई लिने गरिएको मन्दिरका पूजारी शोभाखर चापागाईँले बताउनुभयो । हिउँद लागेपछि खेतीपाती गर्ने बेलासम्म पानी नपरेको खण्डमा यही मन्दिरमा पूजा गरेर पानी मागेपछि पानी पथ्र्यो भन्ने जनविश्वास रहेको उहाँको भनाइ छ । 

पूजारी चापागाईँले भन्नुभयो, “पहिले थारू समुदायको मात्रै आस्थाको केन्द्र रहेको सोमेश्वर कालिका अहिले आम नेपाली र भारतीयसमेतको धार्मिक आस्थाको केन्द्र बनेको छ, यहाँ नेपालीका साथै भारतीय नागरिक बढी आउने गरेका छन् ।” सोमेश्वर कालिका मन्दिर महादेव र कालीको बासस्थान रहेको शक्तिपीठ भएको चापागाईँले बताउनुभयो । 

चैतेदसैँको अवसरमा भारतको महाराष्ट्र, बङ्गालसम्मका भक्तजन यहाँ दर्शनका लागि आउने गरेका भए पनि नेपालबाट बाह्रै महिना धार्मिक पर्यटक पुग्ने गरेका उहाँले बताउनुभयो । भरतपुरबाट सोमेश्वरगढी घुम्न पुग्नुभएका महेन्द्र आचार्यले ऐतिहासिक गढीमा पुग्दा आनन्दको महसुस भएको बताउनुभयो । उहाँले ऐतिहासिक क्षेत्र भएकाले राज्यले विशेष ध्यान दिएर यहाँ रहेका संरचनाको संरक्षण र प्रवर्द्धनको काम गर्नुपर्ने बताउनुभयो ।

मन्दिरका संस्थापक नीलकण्ठ सापकोटाले गढीमा विसं २०५० फागुन १२ गते मन्दिर स्थापना भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विसं २०२६ मा गाई चराउँदै आउँदा यहाँ रुखमा झुण्ड्याएको घण्टी र बाघको मूर्ति फेला परेको थियो, त्यसपछि मन्दिर बनाउनुपर्छ भनेर लागेका हौँ ।” उहाँका अनुसार पाँच पाण्डव यहाँ आएर वनबास बसेको किंवदन्ती छ ।